बैतडी दुर्घटना: थप एक जनाको मृत्यु, मृत्यु संख्या चार पुग्यो
धनगढीः बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। घटनास्थलमै ४ जना र उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गरेका बेला एक जनाको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पाटन नगरपालिका-३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परि पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै गम्भीर घाइते पाटन नगरपालिका ३ का १२ वर्षका राजेश प्रसाद पन्तको डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते पाटन नपा ३ का २० वर्षका सन्दीप विष्ट (गम्भीर), सोही ठाउँका १२ वर्षका सुनील भट्ट (मध्यम घाइते), १२ वर्षका अमित विष्ट र सुदीप पन्त सामान्य घाइते प्रहरीले जनाएको छ।
घाइतेलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ। प्रहरी प्रमुख डीएसपी दर्शन खड्काले पाटन नगरपालिका-३, डबरा भन्ने स्थानमा बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको बताए। गाउँको बनबाट काठ बोक्नका लागि जान लागेको टिप्परमा स्थानीय सिगास माविका विद्यार्थी र बाटोका केही पैदल यात्री चढेका थिए।
दसरथ चन्द राजमार्गको खोडपे बजारबाट ८ किलोमिटर पाटनतर्फ दर्घटना भएको हो। यो डोजरले गाउँ जान काटेको, कच्ची सडक हो। टिपरमा करिब २५ जना विद्यार्थी चढेर घर फर्किँदै गरेको अवस्थामा दुर्घटना भएको हो।
प्रहरीले, मोडमा कटिङ नपुगेपछि ब्याक गरेको टिपर दुर्घटना भएको जनाएको छ। चालक भने फरार छन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटन र खोडपेको प्रहरी टोली परिचालन गरि उद्धार गरिएको थियो।