डोल्पाली किशोरीको जीवनशैली अनुभव
काठमाडौं : काठमाडौंका सडकमा एकै पटक धेरै गाडी देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। डोल्पाकी १५ वर्षीया कर्मा ल्हाजोगलाई पनि यस्तै अनुभूति भयो। यी गाडी कसरी चल्छन् होला भनेर उनलाई उत्सुकता लागेको थियो।
यङ्जोम लामा पनि काठमाडौं बसाइँको अनुभव सुनाउँदै भन्छिन्, ‘यहाँ मानिस जति राम्रा भए पनि भित्रबाट नराम्रा हुँदा रहेछन्। हाम्रो गाउँमा नयाँ मान्छे आए हामी हाँस्छौं, बोल्छौं। तर, सहरमा आफ्नै लागि मात्र सोच्ने मानिस हुँदा रहेछन्।’
उनकै साथी डोल्पाकी छिरिङ लुजुङ कक्षा सातमा पढ्दै गर्दा काठमाडौं आएकी थिइन्। यहाँ आएपछि उनलाई गाउँको सम्झना धेरै आयो। उनलाई काठमाडौं धेरै रमाइलो लागेन। ‘काठमाडौंमा पैसाबीना जीवन जिउनै गाह्रो रहेछ’, उनी भन्छिन्। १५ वर्षीया किशोरी मोन्लाम साङ्मोलाई गाडी चढ्दा टाउको दुख्ने समस्या छ। त्यसैले काठमाडौंमा गाडी देखे पनि त्उनलाई रमाइलो लागेन।
काठमाडौंमा बस्ने डोल्पाका किशोरीबीच भर्चुअल माध्यमबाट छलफल कार्यक्रम चलाइएको थियो। आयोजक लोकोपकार संस्थाकी सदस्य वर्षा तामाङ भन्छिन्, ‘बालिका एवं किशोरीमा रहेका विभिन्न किसिमका बोझ हटाएर उनीहरूमा आत्मविश्वास जगाउनु हाम्रो उद्देश्य हो।’ ‘स्ट्रेन्थ टुगेदर’ नामक उक्त सामूहिक छलफलमा आफ्ना कुरा राख्दै डोल्पाका किशोरीहरूले डोल्पाली जीवनशैली र रहनसहन बारे खुलेर बोलेका थिए। ‘यहाँ त पानी पनि किनेर खानुपर्ने रहेछ, हाम्रो गाउँमा त छिमेकी र गाउँलेलाई पानी मात्र होइन खाजा नै खुवाएर पठाउने चलन छ’, यङ्जोम लामाका भनाइलाई उद्धृत गर्दै उनी भन्छिन्, ‘यार्सागुम्बा टिप्ने सिजन त उनीहरूका लागि पिकनिकजस्तै हुने रहेछ। टेन्ट बनाएर २/३ महिना सबै सँगै बस्ने र रमाइलो गर्ने रहेछन्।’
यार्सागुम्बा टिप्नेहरूले आफू चाहिँ कति खान्छन् त ? भनेर वर्षाले भर्चुअल कार्यक्रममा सोधिन्। तीमध्येका एकले भनिन्, ‘कहाँ खानु ? त्यसले पेट भरिँदैन। एउटा बेचे १५ सय रुपैयाँ आउँछ। त्यसले लुगा पनि आउँछ, खान पनि पाइन्छ।’ कतिपय किशोरीले आफ्ना कुरा खुलस्त राख्न सकेनन्। त्यसो हुँदा मनमनै धेरै कुरा खेलाउने गर्छन्। त्यही पीडाले भित्रभित्रै गुम्सिने पनि गर्छन्। यस्ता किशोरीलाई उनीहरूका समस्या आफैं भन्न सक्ने बनाउन छलफल सञ्चालन गरिएको हो। यस्तो कार्यक्रममा कतिपय विकट ठाउँका किशोरीसँग कुराकानी गर्न धेरै गाह्रो हुने अनुभव उनको छ। तर, विभिन्न विषयका छलफलमा उनीहरूले रुचि देखाएर घरदेखि निकै टाढा रहेको विद्यालयमा गएर पनि इन्टरनेट जोडेर भर्चुअल छलफलमा सहभागी हुने गरेका छन्।
लोकोपकारले कतिपय ठाउँमा वडासँग मिलेर विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको छ। कतिपयमा विद्यालयसँग मिलेर विभिन्न विषयमा सेसनहरू चलाइरहेको छ। धरान, दाङ, जुम्लालगायतका जिल्लामा पनि त्यहाँका स्थानीय किशोरीसँग मिलेर कसरी आत्मविश्वास बढाउन सकिन्छ भनेर भर्चुअल कार्यक्रम सिकाइरहेको छ।
लोकोपकारमा प्रविनराज जोशी, वर्षा तामाङ, प्रस्तुति भट्टराई र सरिता नेपाल सदस्य छन्। युवाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गर्नु लोकोपकारको उद्देश्य रहेको वर्षाले बताइन्। विद्यार्थीले विद्यालयमा शिक्षक र सन्तानले घरमा अभिभावकलाई भन्न नसकेका विषयमा छलफल गरिएको थियो। ती विषयमा उनीहरूमा आत्मविश्वास र सञ्चार क्षमता विकास गर्न कार्यक्रमले सहयोग पुर्याएको उनले बताइन्।
‘मानसी अग्रवाल धरानकी हुन्। उनी छलफलमा यसै आएकी थिइन्। हामीले उनको नाम सोध्दा डराएर जुम नै बन्द गरिन्’, वर्षाले किशोरीमा आएको परिवर्तन सुनाउँदै भनिन्, ‘कार्यक्रममा सहभागी गराएर विस्तारै उनलाई बोल्ने वातावरण दियौं। क्रमशः उनले आफैले समूह बनाउँछु भनेर भनिन्। पहिलो दिनमा एकदमै लाज लागेको र पछि आत्मविश्वास बढेको पनि बताइन्।’