फेवा किनारमा रङ्गसँगै झुमे पर्यटक (तस्बिरसहित)
पोखरा : पोखराको फेवाताल किनारमा पर्यटक होली खेलेर रमाएका छन्। रेष्टुरेण्ट एण्ड वार एशोसियसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा भएको होली महोत्सवमा पोखरा भ्रमणमा रहेका विभिन्न देशका पर्यटक नेपाली पञ्जेबाजा र पश्चिमी संगीतमा झुमेका हुन्।
पर्यटकलाई लक्षित गरी रेवान पोखराले प्रत्येक वर्ष फागुपूर्णिमा मनाउँदै आए पनि गत वर्ष भने कोरोना संक्रमणका कारण हुन सकेको थिएन। पर्यटकलाई फागुपूर्णिमाको महत्वको बारेमा जानकारी दिंदै महोत्सवकै रुपमा मनाउँदै आएको आयोजक रेष्टुरेण्ट एण्ड वार एशोसियसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए।
होली उत्सव पर्यटकलाई नेपालको संस्कृतिक विविधता र फागुपूर्णिमाको बारेमा जानकारी दिएर अबीर उपलब्ध गराएर सुरु भएको थियो। उत्सवमा सहभागी पर्यटकसँगै पर्यटन व्यवसायीले एक आपसमा अबीर दलेर होली उत्सव मनाएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। पञ्चेबाजा बजाएर नाचगान गर्दै फेवाताल किनारको तीन किलो मिटर क्षेत्रमा होली महोत्सव मनाइएको रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराईले बताए।
कोभिड पछि नेपाल आउन पाउँदा र होली महोत्सव मनाउन पाउँदा निकै रमाइलो लागेको इजयाली पर्यटक सोफीले बताइन्। नेपालमा पहिलो पटक आउन पाउँदा र यहाँको संस्कृतिमा रमाउन पाउँदा रमाइलो लागेको इजरायालकै पर्यटक आजीरले सुनाए।
महोत्सव पोखराको फेवाताल किनारको ३ किलोमिटर क्षेत्रमा भएको थियो। तेस्रो लहरको कोरोना संक्रमणपछि आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने क्रम सुरु भएको होली महोत्सवमा सहभागी भारतीय र तेस्रो मुलुकका पर्यटकको उपस्थितिले देखिएको थियो। कोरोना संक्रमण नियन्त्रणमा आउने र पर्यटकको आगमन पनि बढ्ने पर्यटन व्यवसायीको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !