बहुउपयोगी नीम
आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो। नीमको रुखका हेरक भाग औषधिका रुपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ। यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ। जानौं बहुउपयोगी नीमका बारेमा केही तथ्य।
- हरेक मौसम तथा जहाँ पनि पाइने सदाबहार रुखमा नीम पर्छ।
- यसका पात वर्षभरि नै रुखमा रहिरन्छन्। नीमले अन्यको भन्दा बढी अक्सिजन बनाउँछ। यसको पातले हावा शुद्ध पार्छ।
- यसको रुख झ्याम्म परेको हुन्छ। ३० फुटदेखि ८० फुटसम्म अग्लो हुन्छ। अग्लो रुखको मोटाइ भने करिब ४ फुटसम्म हुन्छ।
- नीम नेपाल, भारतका साथै अफ्रिका, अष्ट्रेलिया लगायत एसियाका प्रायः सबै स्थानमा पाइन्छ।
- नीमको पात, बोक्रा, जरा आदिको स्वाद तीतो हुन्छ। यसको फल पहेँलो हुन्छ।
- नीमको फूलबाट माहुरीले बनाएको मह उच्चकोटीको मानिन्छ। यसको पात जलाएको धुवाँले लामखुट्टे भाग्छन्।
- नीमको तेल लामखुट्टे भगाउन प्रयोग गरिन्छ। यसको गन्ध कडा हुन्छ। त्यसैले यसलाई कीटनाशक औषधिका रुपमा पनि प्रयोग गरिन्छ। अनुहारसम्बन्धी रोगबाट मुक्त हुन यसको तेल प्रयोग गरिन्छ।
- नीमको पात चपाएर खाँदा पेटमा रहेका अनावश्यक किटाणुहरू मर्छन्।
- छालासम्बन्धी रोग, कपालको चायाँ भएकाहरूले नीमको पात पानीमा उमालेर नुहाएमा फाइदा पुग्छ।
- नीमको डाँठले दाँत माझेमा त्यहाँ भएका किटाणु नस्ट भएर गिजा बलियो हुन्छ।
- यसको पातबाट बनाइएको चियाबाट रगत सफा हुनुका साथै अल्सर पनि कम हुन्छ।
- नीमको चिया पिउनका लागि चिकित्सकको सल्लाह लिनु अनिवार्य छ। किनभने यसको बाहिरी प्रयोग सुरक्षित हुन्छ, तर भित्री प्रयोगबाट हानी पनि हुन सक्छ।
- नीम गर्भवती तथा बच्चाले प्रयोग गर्नुहुँदैन। यसबाट गर्भपतन पनि हुनसक्छ।
(विभिन्न एजेन्सीको सहयोगमा)