मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता : सुदूरपश्चिम र आर्मीको जित
धनगढी : मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्। कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो।
एकपक्षीय नतिजा निकालेको आर्मीले कर्णालीलाई २५–१८,२५–१०, २५–१६ ले हरायो। सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२, २५–२२ को सोझो सेटले पराजित गर्यो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए। आयोजक प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहका अनुसार चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताका विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद पुरस्कार पाउने छन्।