‘सदाका लागि बिलायो, गाउँलेलाई रुवाएर गयो’
राजविराज : राजविराजमा एक हुल मानिसको नारा गुञ्जन थालेपछि बजारमा सन्नाटा छायो। बजारका मानिसहरू अनर्थ भयो भन्दै भावुक बने। जुलुसको अग्रपंक्तिमा रहेका युवाहरू आक्रोशित मुद्रामा हत्यारा सार्वजनिक गर्न माग गर्दैथिए।
जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेपछि विरोधको स्वर झनै चर्को भयो। कल्कलाउँदो उमेरमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका डा. विजय यादवको हत्या भएको भन्दै गाउँलेहरू आक्रोशित थिए। उनीहरू सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र मोरङ्ग प्रशासनसँग हत्याराहरू पत्ता लगाउन माग गर्दै थिए।
जग्गाजमिन बेचेर नपुगेपछि वैदेशिक रोजगारबाट कमाएको सबै पैसा छोराछोरीको पढाईमा खर्चिएका थिए यदुनन्दन यादवले। विद्यालयमा सधै प्रथम हुने विजयलाई डाक्टर बनाउन र छोरी विनितालाई अप्टोमेट्री (दृष्टि विशेषज्ञ) शिक्षा पुरा गराउन यदुले ९ वर्षसम्म मलेशियामा गार्ड बनेर पसिना बगाएका थिए। सासुससुरा स्याहार्दै घरखेतको सबै जिम्मेवारी चन्द्रकलाले सम्हालेकी थिइन्।
बाल्यकालमा सुसे धन्दामा लाग्नुपरेका कारण धेरै पढ्न नपाएका यदु र चन्द्रकलाको एउटै सपना थियो छोराछोरीलाई डाक्टर बनाउने। पढाईमा अब्बल भएका कारण र खर्च गरे अनुसार आएको परिणामले यादव परिवार ज्यादै खुशी थिए। गाउँलेहरू पनि गौरवान्वित थिए।
“आँखामा राखे पनि नविझाउनेले अन्ततः गाउँलेलाई रुवाएर गयो” विष्णुपुर गाउँपालिका–१ का ६८ वर्षीय बमभोलाप्रसाद यादवले भने–“बाल्यकालदेखि नै होनहार विजय उत्तिकै अनुशासित थिए।” गाउँलेहरूका अनुसार आफ्ना छोराछोरीलाई विजयको उदाहरण दिएर पढ्न उत्प्रेरित गर्थे रे!
प्रदर्शनमा सहभागी ६० वर्षीय छिमेकी सत्यनारायण यादवले विजयलाई स्मरण गर्दै तरक्क आँशु झारे। ‘दशैंमा आउँदा विजयले ‘पापा’ भन्दै खुट्टा ढोग्दा आर्शिवाद दिएको थिएँ, तर दैवले सुनेनन्।’ मिजासिलो विजयको त्यो आदरयुक्त नरम बोली अब कहिल्यै सुन्न नपाइने भयो भन्दै उनले विलौना गरे।
गाउँकै किशन शर्माले भने–‘आफ्नो छोरा नरेशले सधै विजयको सहयोगी भावनाको प्रशंसा गर्थे।’ शर्माका अनुसार बङ्गलादेशमा सँगै एमबीबीएस पढेका नरेशले विजयको उत्प्रेरणा, साथ, सहयोगले आफूमा सकारात्मक परिवर्तन आएको सुनाउने गरेका थिए।
‘मेधावी विद्यार्थी भएकाले बुवाआमाले ऋणकर्जा बोकेर पढाईमा सारा खर्च लगाए तर जब छोराले कमाउने बेला भयो तब सपना चकनाचुर भैदियो।’ विष्णुकान्त यादवले भने–‘घरपरिवारको खुशी र गाउँको गौरव थियो, सदाका लागि बिलायो।’
साविक विष्णुपुर गाविसका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले जागिरको छोटो अवधिमै अग्रजहरूलाई उछिन्दै अगाडि बढेका हाडजोर्नी तथा नशा रोग विभागका डाक्टर विजयले शल्यक्रियामा गुणस्तरीय इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरू) प्रयोग गर्न दबाव दिने गरेकाले हत्या भएको आशंका व्यक्त गरे।
केही औषधी व्यवसायी, सप्लायर्स र अस्पतालभित्रका माफियाहरूको आँखाको तारो बनेकाले उनीहरूकै षडयन्त्रमा हत्या भएको सुरेन्दको भनाईमा डा. विजयका काका चितरञ्जन यादवले पनि सहमति जनाए। छानबिन प्रकृयामा नोबेल अस्पताल प्रशासनले देखाएको उदासिनताप्रति पनि चितरञ्जनले गुनासो गरे। नियोजितरूपमा भएको हत्याको उच्चस्तरीय छानबिन र दोषीमाथि कारवाही नभएसम्म आन्दोलन नरोकिने गाउँलेहरूको प्रतिबद्धता थियो।
मोरङ्गको विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत ३१ वर्षीय डा. यादवको शव शनिबार बिहान अस्पताल नजिकै रहेको डेराको कम्पाउण्डमा फेला परेको थियो। शुक्रबार राति निर्ममतापूर्वक आक्रमण गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नुपर्ने गाउँलेहरूको माग छ।
यदुनन्दन यादव र चन्द्रकलादेबीका एक्ला छोरा डाक्टर यादवले बंगलादेशबाट एमबीबीएस अध्ययन गरेपछि पाँच वर्षदेखि नोबेल अस्पतालमा कार्यरत थिए। अप्टोमेट्री गरेकी डा. यादवकी बहिनी बिनिता भारतको दिल्लीस्थित मोदिराम लायन्स आँखा अस्पतालमा कार्यरत छिन्।
सधै हाँसिखुशी रहने यादव परिवारको हाँसो शनिबारदेखि खोसिएको छ। यस्तो अप्रिय घटना भोग्नुपर्छ भनेर कहिल्यै नसोचेको हजुरबुवा ७५ वर्षीय मजेलाल यादवले बताए। ‘उनको अनुहार झल्झल्ती याद आइरहन्छ’ मजेलालले भने ‘सोच्दै नसोचेको घटना भयो, मन थाम्नै गाह्रो भयो।’
प्रतिक्रिया दिनुहोस !