तनहुँमा आठ पालिकाका प्रमुखमा कांग्रेसबाट ८३ जना आकांक्षी, महिला छ जना मात्रै
![तनहुँमा आठ पालिकाका प्रमुखमा कांग्रेसबाट ८३ जना आकांक्षी, महिला छ जना मात्रै](https://annapurnapost.prixacdn.net/media/albums/abhiyan_20220407105249_Xe0OMdxaNM.jpg)
तनहुँ : आसन्न स्थानीय तहको मिति नजिकिंदै गर्दा राजनीतिक दलहरुको दौडधुप बढेको छ। राजनीतिक दलहरुले उम्मेद्वार छनौटका लागि आकांक्षीहरुको नाम संकलनका लागि मनोभावना बुझ्न भेला तथा छलपललाई तीव्रता दिएको छ।
जिल्लामा नेपाली कांग्रेसले पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उठ्न आकांक्षा राख्नेहरुको नाम संकलन गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ। चार नगरपालिका र ६ गाउँपालिका रहेको तनहुँमा दुई गाउँपालिका बाहेक अन्य पालिकामा उम्मेद्वारी दिन चाहानेहरुको नाम संकलन गरिसकेको छ।
जिल्लाको सदरमुकामस्थित व्यास नगरपालिकामा प्रमुखका लागि कांग्रेसभित्र १५ जनाले आकांक्षा देखाएका छन्। मेयरका लागि वर्तमान मेयर वैकुण्ठ न्यौपानेदेखि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसम्मले उम्मेदवारीमा नाम दिएका छन्। पन्ध्रमध्ये पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, पूर्वसचिव विश्व बास्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ, दिपकराज जोशीले मेयरका लागि नाम दर्ता गराएका हुन्।
त्यस्तै, उपमेयरका लागि हालका उपमेयर मिरा जोशीसहित सात जनाको उम्मेदवारी परेको छ। जसमा नारायणी अधिकारी, कल्पना पोख्रेल, इन्दिरा दरै, नोमा थापा, मुन्नि शाही ठकुरी, वीणा कैनी छन्। प्रमुखमा नाम दर्ता गर्नेमध्ये वैकुण्ठ, देवकुमार, अशोक र विश्वलाई बलियो उम्मेदवार मानिएको छ। उपमेयरमा भने जोशी दोहोरिने सक्ने राजनीतिक वृत्तमा चर्चा छ।
भानु नगरपालिकामा पनि प्रमुखका लागि १५ जनाले आकांक्षा व्यक्त गरेका छन्। मेयरका लागि गरिएको आवेदन संकलनमा उपमेयर आशा थापासहित १५ जनाले नाम दर्ता गरेका हुन्। जसमा क्षेत्रीय सभापति श्याम मौराती, पूर्व सचिव लक्ष्मी आचार्य, चिनु पोख्रेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ, राजन श्रेष्ठ, विश्वेश्वर खनाल, विपिन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी र अर्जुन अधिकारीले मेयर दावी गरेका छन्। हालका मेयर उदयराज गौलीले भने मेयरमा इच्छा देखाएनन्। उनी वडा सदस्य हुँदै समन्वय समिति प्रमुख बन्ने तयारीमा रहेको चर्चा छ। यसैगरी उपमेयरका लागि रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती र संगिता जिसीले दावी गरेका छन्।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट १० जनाले दाबी गरेका छन्। हालका मेयर किसान गुरुङसहित १० जनाले मेयर पदका लागि आकांक्षा देखाएको कांग्रेसका शुक्लागण्डकी नगर कार्य समितिका सचिव दिपेन्द्र पौडेलले जानकारी दिए।
मेयरको उम्मेद्वार बन्न हालका मेयर गुरुङ, व्यवसायी एंव पार्टीका पुर्वमहाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित, महासमिति सदस्य प्राध्यापक डा. कृष्णप्रसाद गौतम, महासमिति सदस्य महेश्वर भट्टराई, महाधिवेशन प्रतिनिधि भक्तबहादुर श्रेष्ठ, तनहुँ क्षेत्र नं–२ का सचिव सन्तोष घिमिरे, पुर्वतरुण दल उपाध्यक्ष खेमराज अधिकारी, जिल्ला कोषाध्यक्ष श्रीराम सुवेदी, जिल्ला प्रवक्ता हरि वाग्ले र गण्डकी प्रदेश सदस्य माधव भट्टराईले नाम दर्ता गरेका छन्। मेयरका आकांक्षीमध्ये गुरुङ, पण्डित र भट्टराईमा एकले टिकट पाउने चर्चा छ।
त्यस्तै, उपमेयरमा आठ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन्। पौडेलका अनुसार उपमेयरमा महासमिति सदस्य पम्फा थापा मगर, महिला संघ तनहुँको पूर्व उपसभापति चन्द्रकला भट्टराई, महिला संघ तनहुँको पुर्व कोषाध्यक्ष तारा अधिकारी, नगर सदस्य टिकामाया पौडेल, पुर्व महाधिवेशन प्रतिनिधि प्रकाश विक, नगर उपसभापति कृष्णप्रसाद रेग्मी, प्रदेश २ (क) प्रदेश प्रतिनिधि रेशमलाल पौडेल र तनहुँ क्षेत्र नं २ (क) प्रदेश प्रतिनिधि विना खनालले आकांक्षा व्यक्त गरेका छन्।
भिमाद नगरपालिकामा मेयरका लागि काँग्रेसबाट ६ जनाले आकांक्षा व्यक्त गरेका छन्। अघिल्लो निर्वाचनमा एमालेले विजय हासिल गरेको भिमादमा मेयरका लागि पार्टीका जिल्ला सहसचिव मिलन आले, तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सभापति चुडामणि खनाल, अरविन श्रेष्ठ, श्याम सुन्दर जोशी र गोपाल पराजुलीले दाबी गरेका छन्। मेयरका लागि महिलाबाट इन्दिरा खनालले मात्र आकांक्षा व्यक्त गरेकी छिन्। त्यस्तै उपमेयरमा निरञ्जना खनाल,याममाया थापा, रो माया थापा, त्रिभुवन सेन, देवी सुवेदी लगाएत आठ जना रहेका छन्।
यसैगरी कांग्रेसको राम्रो पकड रहेको ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट १३ जनाले इच्छा जाहेर गरेका छन्। अघिल्लो निर्वाचनमा पालिका प्रमुखदेखि वडा सदस्यससम्मका सबैमा काँग्रेस विजयी भएको यो पालिकामा अध्यक्ष बन्नका लागि हालका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, संविधानसभा सदस्य झुलबहादुर आले, तरुण नेता जीवनचन्द ठकुरी, मोहन गिरी, पर्शुराम गिरी, इन्द्र आले, तिलबहादुर थापा, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी र अशोक गिरीले दावा गरेका छन्। उपाध्यक्षका लागि हालकी उपाध्यक्ष गिनुमाया थापा, सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल र इन्द्र आलेले चाहना राखेका छन्।
म्याग्दे गाउँपालिकाको अध्यक्षका लागि सात जनाले दावी गरेका छन्। वर्तमान अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, रामकृष्ण विक, रामभक्त घिमिरे, जीतराज राना, पवित्रा घिमिरे र हुतमणि अधिकारीले आकांक्षा राखेका हुन्। उपाध्यक्षका लागि शुभद्रा घिमिरे, जानकी थापा, लक्ष्मी वाग्ले, कुमारी रानाले आकांक्षा राखेका छन्।
घिरिङ गाउँपालिकामा अध्यक्षका लागि आठ जनाले इच्छा व्यक्त गरेका छन्। गएको निर्वाचनमा एमालेले जितेको यो पालिकामा अध्यक्ष बन्न सूर्यकुमार श्रेष्ठ, यमबहादुर थापा, गंगाराम कुमाल, निर्जला अर्याल, सुमन थापा मगर, झलकथापा मगर, रबि घोरासिनी र इमान थापाले दावा गरेका छन्। उपाध्यक्षमा भने बोलमाया थापा र शान्त खनालले मात्र नाम दर्ता गरेका छन्।
देवघाट गाउँपालिकामा अध्यक्ष पदका लागि नौ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष बन्नका लागि हालकी उपाध्यक्ष बिमला थापा,पार्टी सभापति तिलबहादुर थापा , गाउँपालिकाका पूर्वपार्टी सभापति प्रेमबहादुर गुरुङ, प्रदेश सदस्य कर्णबहादुर गुरुङ , अर्जुन अधिकारी, छबिजंग वंशी ठकुरी, गोबिन्द प्रसाद न्यौपाने , खम्ब सिं राना, कुलबहादुर गुरुङले इच्छा व्यक्त गरेका छन्। यसैगरी, उपाध्यक्षमा भिमकुमारी थापा पौडेल, इन्द्रमाया थापा मगर, राधा खनाल र राममाया आलेले आकांक्षा राखेका हुन्।
बन्दिपुर गाउँपालिकामा अध्यक्ष पदका लागि १४ जनाले दाबी गरेका छन्। इन्कन खनाल, दीपक भट्टराई, सरिता पिया, सन्तबहादुर गुरुङ, हस्तबहादुर जि.सी, रोजन बानियाँ, ज्ञानेन्द्र अधिकारी, परशुराम अधिकारी, ध्रुबलाल प्रधान, मानकाजि श्रेष्ठ, बैंशबहादुर गुरुङ, शुरेश भट्टराई,रेशम गुरुङ, कर्णबहादुर खत्रीले आकांक्षा देखाएका हुन्। यसैगरी उपाध्यक्षमा सविना गुरुङ, रोशनी पिया, पन्चमाया गुरुङ, केशु गुरुङ र लिला गिरीले नाम दर्ता गरेका छन्।
जिल्लाको आबुखैरेनी गाउँपालिकामा बिहीबार छलफल हुने र आकांक्षीको नामावली टुङ्गो लाग्ने जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले पाउने अधिकार र सेवा सुविधाले गर्दा आकांक्षीहरु बढेको उनको भनाइ छ। ‘जिल्ला प्रशासनबाट लिनुपर्ने करिब ७० देखि ९० प्रतिशत काम स्थानीय तहबाटै टुंगिने भयो’, उनले भने, ‘जे पर्दा पनि मेयर, उपमेयर र वडाध्यक्षको स्वीकृति, राय र सुझाव बीना केही नहुने भयो। यी पदहरु बढी पावरमा रहने हुँदा अध्यक्ष बन्न पाए हैसियत बन्थ्यो भन्ने चाहानाले गर्दा र अर्को पर्याप्त अधिकार र सेवा सुविधाले पनि आकांक्षीहरु अत्याधिक बढेको हो।’ अहिले पार्टीहरुमा राजनीतिक सोच, त्याग, सम्मान् र प्रतिष्ठाले भन्दा पनि पदीय लोभलालचबाट बढी प्रेरित हुने गरेको सचिव खनाल बताउँछन्।
जिल्लामा चार दलिय गठबन्ध गर्ने सहमति बनेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको जिल्लास्तरीय भेलाले गठबन्धनलाई बलिायो बनाएर लैजाने सहमति गरेका हुन्। शुक्रबारसम्म पालिकाको बाँडफाड हुने गरी तयारी गरिएको काँग्रेसका जिल्ला सचिव खनालले बताए। उनका अनुसार भागबन्डामा सहमति हुन नसके २६ गतेदेखि काँग्रेसले एक्लै आफ्नो चुनावी कार्यक्रम अगाडि बढाउने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)