घृणाको शब्द सेन्सर गरौँ : राजेन्द्र दाहाल
राजविराज : प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकारहरुले गाली गलौज र घृणाको शब्द सेन्सर गर्नुपर्ने बताएका छन्। सप्तरीको राजविराजमा मङ्लबार आयोजित पत्रकार आचारसंहिता सम्बन्धी कार्यशालामा प्रमुख वक्ता दाहालले झुक्याएर धेरै दिन मिडिया चल्न नसक्ने र चर्को कुरा गर्नेको आयु सधै कम हुने बताए। दाहालले नयाँ मिडिया जन्मने रफ्तारसँगै चर्का कुरा गर्ने मिडिया बन्द हुने क्रम पनि उत्तिकै रहेको बताए।
असल पत्रकारले सदैव के लेख्न हुने र के लेख्न नहुने भनेर चिन्तित हुनुपर्ने भन्दै उनले साँचो पत्रकारले सत्य लेख्न र त्रुटी सच्याउन सँधै तत्पर रहनु पर्ने बताए। सदैव सही व्यवस्थापन र असल शासनको पझमा रहनुपर्ने पत्रकारहरूले आचार सँहिताबाट तर्सिन आवश्यक नरहेको दाहालले बताए।
कार्यशाला गोष्ठीका प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले मुलुकलाई सही बाटोमा हिडाउन र सञ्चार क्षेत्रको आफ्नै अस्तित्वका लागि पनि आचार सँहिता जरुरी रहेको बताए।
नगर प्रमुख मिश्रले नगरपालिकामा भएको कामको यथार्थ चर्चा गरि दिन आग्रह गरे। आफूले मिडियामा नबोल्ने गरे पनि कञ्चनरुप नगरपालिकामा भएको काम अहिले आफै बोलिरहेको भन्दै मिश्रले विभिन्न क्षेत्रमा भएको कामले जिल्ला समन्वय समिति, मधेस प्रदेश र संघीय सरकारबाट नगरपालिकाले उत्कृष्ठताको पुरस्कार पाएको स्मरण गरे।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय सदस्य ललीता साह, पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ सप्तरीका पूर्व अध्यक्षहरू बैद्यनाथ झा, मुरली यादवलगायतले पत्रकार आचार संहिताको महत्वबारे प्रकाश पारे।
नेपाल पत्रकार महासंघको आयोजना र कञ्चनरुप नगरपालिकाको सहयोगमा कार्यशाला आयोजना भएको हो।
प्रतिक्रिया दिनुहोस !