ढुंगाको प्रेमभित्रको सुकोमलता

ढुंगाको प्रेमभित्रको सुकोमलता

केही महिनाअघि सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट दुनियाँका दिनचर्या, घटना, परिघटनालाई नियाल्दै थिएँ । पाँचथरका पत्रकार तथा उदीयमान साहित्यकार गिरीराज बाँस्कोटाको ढुंगाको प्रेम कृतिसमेत दृष्टिगोचर हुनु एक सुखद क्षण अनुभूत भएको छ।

उक्त कृतिमाथि छोटो अवधिमा समीक्षात्मक टिप्पणी राख्ने अवसरबाट कृतिको रूप तथा सार पक्षसँगको संक्षिप्त सुकोमल र प्रेमिल सुम्सुम्याईपश्चात् केही दिनदेखि मनमा एक खालको अतृप्त तृष्णा बाँकी नै थियो। कविताको आश्वादन र चर्चाबाट मन भरिन मानिरहेको थिएन। केही थप लेखौं, कृति माथि  पोखियौं भइरहेकै थियो । तथापि खोइ कुन अल्छ्याँइले त्यसो हुन दिइरहेको थिएन। आज कृतिमाथि केही लेख्न उक्साएको परिणाम यो छोटो समीक्षात्मक आलेख तपार्इं आदरणीय पाठकसामु आएको छ।

पाँचथर जिल्लालाई आफ्नो अक्षर खेतीको कर्मथलो बनाएर पत्रकारितामा निरन्तर क्रियाशील बाँस्कोटा आफ्नो पेसामा जति काबिल छन् साहित्यमा पनि उत्तिकै क्रियाशील र सशक्त छन् । मेरो यो ठम्याइँको जिउँदो प्रमाण बनेर उपस्थित भएको छ उनको कृति ढुंगाको प्रेममा। उसो ता बिहानीले दिनको संकेत गरे झैं पाँचथर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदै उनको साधना निक्कै परिपक्व र साहित्यिक प्रस्तुति बढो काब्यिक लाग्थे। बीचमा जब यिनी पत्रकारितामा लहसिए, लाग्थ्यो साहित्यबाट अलग्गिए । तर, बजार हल्लाभन्दा नितान्त पर रहेर चुपचाप गरिएको साहित्यिक साधनाको प्रतिफल पाठकसामु आएको आकारका दृष्टिले सानो लाग्ने यो कृति साहित्यिक वजनको दृष्टिमा निक्कै गह्रुंगो सावित हुनेछ। संग्रहमा स्रष्टाका लामाछोटा गरी जम्मा २७ वटा कविता छन् । सबै कविता मुक्त छन्दमा रचना गरिएका छन्। विविध विषयवस्तु र सन्देश समावेश कविताहरूमा विविध विम्बहरूको प्रयोग उत्तिकै कुशलतापूर्वक गरिनुबाट कविता जीवन्त बनेका छन्। स्रष्टा मूलतः स्थानीय सांस्कृतिक एवं पौराणिक विम्ब प्रयोगमा माहिर देखिन्छन्।

भाव सम्प्रेषणका दृष्टिले जीवन भोगाइका बहुरंगलाई सुन्दर इन्द्रधनुषी रूपमा प्रस्तुत गर्नु स्रष्टाको विशेष काव्यिक क्षमता हो

भाव सम्प्रेषणका दृष्टिले जीवन भोगाइका बहुरंगलाई सुन्दर इन्द्रधनुषी रूपमा प्रस्तुत गर्नु स्रष्टाको विशेष काव्यिक क्षमता हो। संख्यामा थोरै कविता संग्रृहीत रहेता पनि कृतिमा मानवीय जीवन भोगाइका विविध अनुभूतिलाई बढो हार्दिकतापूर्वक महसुस गर्न सकिन्छ। जीवन सुख, दुःख, हाँसो, खुसी, प्रेम, घृणा र अवसाद आदिसँगको भोगाइ न हो । तिनै भोगाइको सुन्दर छायाँ स्रष्टाका सिर्जनामा परेको देखिन्छ। 
आफू बाँचेको समय र स्थान सापेक्ष विषयवस्तुलाई महत्वका साथ उठाइएको छ। यसो गर्दा वर्तमान समयले भोगेका विकृति, विसंगति, अन्यायप्रति स्रष्टाको असन्तुष्टि तथा विमतिलाई अत्यन्त शालीन र कोमल ढंगले प्रस्तुत गरिएको छ। स्रष्टा कवितामा यो समयले भोगेको विकृत राजनीति र त्यसले कोपरेका जनताका क्षत्विक्षत सपनामाथि सहानुभूतिका साथ सामाजिक न्याय स्थापनाका लागि अनुनय गर्छन्।

संग्रहभरि स्रष्टा कतै बाल्यकालका सुकोमल नोस्टाल्जियाबाट लखेटिन्छन् त कतै यायावर जीवन भौतारिँदाका प्रेयशीसँगका प्रेमिलपलहरूमा हराउन पुग्छन्। प्रकृति वर्णनमा यिनका कविता अनुभवी फोटोग्राफरका सुस्पष्ट र सुन्दर फोटोग्राफ प्रतीत हुन्छन्। उनका कविता खोक्रो सहरी प्रेमभन्दा पर अक्षत ग्रामीण परिवेश, प्रकृति र नबिटुलिएको विशुद्ध जीवनशैलीप्रतिको अनुराग र जीवन भोगाइका अनुभूतिको स्वर्णिम रंगमा रंगिएका छन्।

कवितामा मार्मिक शब्द छनोट, तिनको कुशलतापूर्वक विन्यास र ह्रदयको अन्तर्यबाट नै सुकोमल भाव सम्प्रेषण गर्नु स्रष्टाको विशेष क्षमता हो। कवितामा परम्परागत विषयवस्तु उठान गर्दा पनि शैलीगत नवीनता प्रस्तुत हुनु स्रष्टाको निजत्व हो। कतिपय कवितामा स्रष्टाको भावनात्मक आवेग तथा उच्च कल्पनाशीलताले सगरमाथाको उचाइ चुमेको छ। कवितामा वर्तमान समयमा समाजले अधिकतम रूपमा बाँचेको कृत्रिम र आडम्बरयुक्त जीवनशैलीबाट उत्पन्न समाजको घिनलाग्दो चरित्रमाथि प्रहार मात्र छैन, सभ्य एवं न्यायपूर्ण सुन्दर आगतको आशावादिता पनि नियाल्न सकिन्छ।

प्रकृति र मानवबीचको सम्बन्ध उजागरबाट जीवनको अस्तित्व बोधका साथै वर्गीय समाजमा  विद्यमान विभेदको अन्त्य र न्यायपूर्ण लोकतान्त्रिक समाजको स्थापना गर्नु कृतिमा समावेश कवितामा निहित सन्देश हुन्। कविको भावनात्मक आवेग तथा उच्च कल्पनाशीलताका कारण विचार कतै अस्वाभाविक अति यथार्थतर्फ बहकिएको समेत देखिन्छ। कवितामा कतैकतै अलि बढी गुनासोको छनक देखिनुलाई स्वाभाविक मान्छन् स्रष्टा ।

समाजमा विद्यमान समस्त अन्यायी र विभेदकारी चरित्रका विरुद्ध प्रस्तुत हुँदा पनि कवि गाली र सस्ता नाराबाट सर्लक्कै जोगिएर कोमल र सुललित शैलीमा कठोर भाव सम्प्रेक्षण क्षमता राख्छन् । उनको सचेत लेखनप्रतिको साधनाको परिणाम हो भन्न सकिन्छ। यिनै कारणले कृतिमा समावेश भएका कविता साँच्चै मनैबाट सृजित कविता जस्तै बनेका छन्। आउँदा दिनमा स्रष्टाबाट निरन्तर अझ खारिएका सिर्जना आउन सकुन्।
(लेखक पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन्)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.