ताप्लेजुङको फक्ताङलुङ र मेरिङदेन गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
ताप्लेजुङ : ९ वटा स्थानीय तह रहेको ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । दुवै पालिका गठबन्धन तर्फका उम्मेदवार निर्वाचित भएका छन् ।
मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार युक हां विर हांगाम डम्बरले २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए । शेर्पा १ हजार ६सय ५७ मत मात्रै प्राप्त गरे । त्यहाँ अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो ।
उता फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन् । लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । उनले निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे । सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याइन् । त्यहाँ अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले पाउने गरी गठबन्धन थियो ।
जिल्लामा हालसम्म ३३ वटा वडाको मतगणना सकिएको छ । पछिल्लो परिणाम अनुसार गठबन्धन तर्फका उम्मेदवार फुङ्लिङ नगरपालिका सहित ३ स्थानीय तहमा गठबन्धन अगाडी देखिएको छ । भने बाँकी पालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस !