तारजालीभित्र दलहरूको अनुशासन

तारजालीभित्र दलहरूको अनुशासन

काठमाडौं : प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसरमा स्थानीय निर्वाचनको मतगणना चलिरहेको छ। सभागृहको दोस्रो तलामा निकै कडा सुरक्षाबीच राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा मतगणनामा खटिएका कर्मचारीले निकै व्यवस्तापूर्वक मतगणना गरिरहेका छन्। सभागृहको गेटमै नेपाल प्रहरी तथा म्यादी प्रहरीको बाक्लो उपस्थिति छ। सशस्त्र प्रहरी र नेपाली सेनाको प्रतिनिधि पनि बेलाबेला देखापर्छन्। गेटबाट भित्र पस्नेले हाते ब्यागसमेत बाहिरै छाड्नुपर्छ। 

सभागृहको भित्रपट्टि अग्लो फलामे तारजालीले मतगणना स्थल घेरिएको छ। तारजाली बाहिर राखिएको बेन्चमा राजनीतिक दलका प्रतिनिधि छन् भने भित्रपट्टि भुइँमा रातो रङको कार्पेट बिच्छ्याइएको छ। कार्पेटमाथिको कुसनमा मतगणना गर्ने कर्मचारी खटिएका छन्। 

राजनीतिक दलका प्रतिनिधि तारजाली बाहिरै बसेर मतगणना हेरिरहेका छन्। धेरै मतगणनास्थलमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूलाई रोक्न लगाइएका छेकबारले दलको संस्कार र अनुशासनप्रति नै प्रश्न उब्जाएको छ। सुरक्षाको कारण देखाउँदै राजनीतिक दलका प्रतिनिधिलाई मतपत्र हेर्न दिने तर छुन नदिने व्यवस्था निर्वाचन आयोगले गरेको छ। तारजालीको सुरुआत २०७४ को स्थानीय निर्वाचनबाट भएको हो। सो निर्वाचनको मतगणनाका क्रममा भरतपुर महानगरमा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो। उक्त मतदानपछि मत गन्ने स्थानमा तारजाली लगाएर मतगणना सुरु गरिएको थियो।

स्थानीय निर्वाचन निर्देशिकामै दलका प्रतिनिधिले मतपत्र छुन वा समाउन नपाउने व्यवस्था छ। तर, निर्वाचनको क्रममा कतै उम्मेदवारबीच विवाद हुने, धाधली गर्न खोज्ने, मतपेटिका चोरेर भाग्ने जस्ता व्यवहार देखिएपछि मतगणनाको जिम्मा पाएका मतदान अधिकृतहरू दलका प्रतिनिधिलाई पूर्ण विश्वास गर्न सकेनन्। यो पटकको निर्वाचनमा धेरै पालिकाहरूमा पहिल्यै छेकबार लगाएर मात्रै मतगणना सुरु गरिएको छ। 

राजनीतिक विश्लेषक पुरन्जन आचार्य तारजालीले राजनीतिक दलको संस्कार र अनुशासनको धज्जी उडाइरहेको बताउँछन्। ‘हेर्दा सामान्य र मतपत्रको सुरक्षाका लागि तारजाली लगाएको देखिए पनि मतपत्रलाई राजनीतिक दलबाटै खतरा छ है भनेर यो दृश्यले पुष्टि गरिरहेको छ,’ उनी भन्छन्, ‘हाम्रो विगतको अनुभवले जुनसुकै उम्मेदवारले हार स्वीकार गर्न नसक्दा मतपत्र च्यात्ने, धाँधली गर्ने र अनैतिक कार्य गर्ने उदाहरण भएकाले यसपटक मतदान अधिकृतले जोखिम लिन चाहेनन् र तारजालीको व्यवस्था गरेका हुन्।’ उम्मेदवारले हार स्वीकार गर्न नसक्ने लोकतान्त्रिक अभ्यास भइरहेको बताउँदै आर्चायले मतगणना स्थलमा रहेको तारजालीले दलको प्रतिनिधिको खिल्ली उडाएको बताए। 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमाले मतपत्रको सुरक्षाका गर्न तारजाली राख्नु बाध्यता भएको बताउँछन्। ‘दलका उम्मेदवारलाई जसरी पनि जित्नुपर्छ भन्ने गलत संस्कृति विकास भएकोले जनताको प्रतिनिधित्व मानिने मतपत्र असुरक्षित हुने गरेको हो। जुन संस्कार गलत हो,’ उनी भन्छन्, ‘नागरिक स्तरमा चेतना फैलाउन र राजनीतिक दलले अनुशासन र संयमता देखाउन जरुरी छ।’
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन व्यवस्थामा तारजाली लगाउने प्रबन्ध नभएको बताए। उनी भन्छन्, ‘पछिल्ला केही घटनाक्रम हेर्दा मतपेटिकाको असुरक्षा बढेको देखियो। मतगणना स्वस्थ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन निर्वाचन अधिकृतले तारजालीको व्यवस्था गरेका हुन्। मतपत्र सुरक्षित हुन्छ भन्ने विश्वस्त हुन सकेनन्।’ 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सरकारले पर्याप्त सुरक्षा दिएको छ। निर्वाचन तथा मतगणनाको सुरक्षाका सबै अंगको सहभागिता रहेको बताउँदै तारजाली किन लगाइएको विषयमा आफू जानकार नभएको बताए। उनले भने, ‘मतपेटिकाको सुरक्षाको प्रत्याभूति मतदान अधिकृतले गर्न नसकेरै होला । राजनीतिक संस्कृतिको विकास नभएर नै होला।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.