युवाको आक्रोश, ‘बलात्कार मुद्दामा हदम्याद हटाऊ’

युवाको आक्रोश, ‘बलात्कार मुद्दामा हदम्याद हटाऊ’

काठमाडौं : ‘न्याय पाउन म्याद किन ?’ शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारअघि आन्दोलित बनेका युवाको एउटै प्रश्न थियो। नारा जुलुसमा मात्रै होइन प्रत्येकले बोकेका प्लेकार्ड यस्तै शब्दले भरिएका थिए। सबैको माग थियो– बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद हटाऊ सरकार। यस्तै नारा जुलुसले शुक्रबार दिनभर बालुवाटार क्षेत्र तनावग्रस्त बन्यो। 

सामाजिक सञ्जालमा बिहीबारबाट पीडित युवतीको नामसहितको भिडियो सार्वजनिक भएपछि अहिले बलात्कार मुद्दामा उजुरी गर्ने हदम्यादको विषयले चर्चा पाएको छ। पीडितलाई न्याय दिलाउन युवा सडकमा ओर्लिएका छन्। घटना भएको आठ वर्षपछि सहन नसकेर पीडित युवतीले सार्वजनिक गरेको विषयले नै युवालाई आन्दोलित बनाएको हो। 
मिस ग्लोबल इन्टरनेसनल २०१४ मा भएको ‘ब्युटी प्रेजेन्ट’ प्रतियोगितामा सहभागी १६ वर्षीय किशोरीलाई आयोजकले विभिन्न बहानामा ६ महिनासम्म यौन शोषण गरेको भिडियो पीडितले नै सार्वजनिक गरिन्। भिडियोमा भनिएअनुसार उनलाई आयोजक मनोज पाण्डेले बलात्कार गरे। उक्त रातको भिडियो र फोटो देखाई ब्ल्याकमेल गर्दै निरन्तर बलात्कार गरेको र आफू शारीरिक र मानसिक पीडित बनेको उनले बताएकी छन्। 

यो घटनाले अहिले सडकदेखि सदन तताएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद गगन थापाले यो विषय प्रवेश गराए। भने, ‘घटना गम्भीर छ, बलात्कारसम्बन्धी कानुन र फौजदारी संहिताको हदम्यादको विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ।’ सदनमा यो विषय प्रवेश भएसँगै सभामुख अग्नि सापकोटाले सरकारलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए। 

अहिले पीडित युवतीले घटना बताउँदै सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छ। सो समयमा आयोजक पाण्डेले बेहोस हुने पेयपदार्थ खुवाएर बलात्कार गरेको पीडितले भिडियोमार्फत बताएकी छन्। ‘म त्यो समयदेखि मानसिक रोगी भएँ। चिकित्सकले दिएका डिप्रेसन निको पार्ने औषधिले पनि काम गरेन। र, मनमा बिझाएका कुरा सार्वजनिक गरे स्वास्थ्यमा पनि सुधार आउने भएकाले मैले लामो समयपछि कुरा खोल्नु परेको हो,’ उनले भनेकी छन्। 

भावविह्वल मुद्रामा बोलेकी उनले यो घटनाकै कारण आफ्ना सबै सपना चकनाचुर भएको बताएकी छन्। ‘म सानैदेखि मोडलिङमा रुचि राख्थेँ। हाउस अफ फेसनमा पनि अडिसन दिएँ। अडिसनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले मलाई फोटोसुट गर्ने अफर गर्‍यो। म बोलाएको ठाउँमा गएँ। एकजना फोटोग्राफर र आयोजकले फोटो सुट गराए। सुटबापत पाँच हजार पारिश्रमिक पनि दिए। यसलगत्तै सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा भाग लिएर फस्ट रनरअपको ताज पनि प्राप्त गरेँ। प्रतियोगिता सकिएपछि आयोजक मनोज पाण्डेले नयाँ बानेश्वरमा रहेको एभरेस्ट होटलमा सक्सेस पाटी हुने भनेर बोलाए। त्यहाँ पुग्दा अन्य मानिस देखिनँ। कोठामा गएर आराम गर्न भने। पेयपदार्थ दिए। म बेहोस भएपछि रातभर बलात्कार गरेको र मैले प्रतिकार गर्न सकिनँ,’ उनले भनेकी छन्। 

बिहान होस खुल्दा आयोजक पाण्डे आफूसँगै सुतिरहेको र २० हजार दिएर चुप लाग भन्दै धम्क्याएको र भिडियो र फोटो खिचिसकेको छु भन्दै ६ महिनासम्म यौन शोषण गरेको उनी बताउँछिन्। घटनाकै विषयमा त्यो समय उक्त कार्यक्रमकी कोरियोग्राफर रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बालाई फोन गरेर सुनाउँदा उनले पनि कुनै सहानुभूति नदेखाएको भनाइ उनको छ। ‘माल्भिकाले बलात्कार तँ भएकी होस्, मलाई यसमा के चासो भनेर फोन राखिन्,’ उनले भिडियोमा खुलाएकी छिन्। 

यो विषयमा माल्भिकाले भने माफी मागेकी छन्। अन्नपूर्णले उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। माल्भिकासँगै पीडित युवतीले नाम खुलाएका फोटो पत्रकार श्रीधर पौडेलले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै बलात्कारको विषयमा आफूलाई थाहा नभएको जानकारी दिएका छन्। उनले आफू व्यावसायिक पत्रकार भएकाले मनोज पाण्डेसँग पारिश्रमिक लिएर काम गरेको र पाण्डेको चरित्र बारेमा आपूm जानकार नभएको बताएका छन्। अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘कुनै पनि बहानामा यौन हिंसा क्षम्य हुनु हुँदैन। उक्त घटनामा मैले जानेको र थाहा पाएको कुरा हरेक ठाउँमा बोल्न तयार छु। पीडितको साथ दिनेछु। उक्त घटनाका विषयमा मैले सार्वजनिक भएको भिडियोबाट मात्रै थाहा पाएको हुँ। मेरो संलग्नता छैन।’

पीडक भनिएका भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख पाण्डे भने भिडियो सार्वजनिक भएसँगै सम्पर्कविहीन छन्। उनले उक्त कन्सल्टेन्सीकै माध्यमबाट विभिन्न देशमा विद्यार्थी पठाउँदै आएका थिए।

समिति बनाएर अनुसन्धान गर्दै प्रहरी

भिडियो सार्वजनिक भएसँगै प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सुरु गरेको छ भने गृह मन्त्रालयले पनि चासो दिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले घटनाका विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ। 

शुक्रबार नै गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानबिन समिति बनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवर नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  छन्। समितिले शुक्रबारबाटै काम सुरु गरेको छ। 

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले घटनाको गहिरो गरी अनुसन्धान गर्ने र अपराधी जो भए पनि उन्मुक्ति नपाउने बताए। घटनाको अनुसन्धान गर्ने बनेको समितिका संयोजकसमेत रहेका वसन्त कुँवरले घटनाको शुक्रबारबाटै सूष्म अनुसन्धान सुरु भएको जानकारी दिए। अहिले सो समितिले कानुनी परामर्श गरिरहेको उनी बताउँछन्। आरोपितलाई तत्कालै पक्राउ गरेर अनुसन्धान गर्न हदम्यादसम्बन्धी कानुनी बाधक बने पनि अन्य कानुनी प्रक्रियाका विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ। 

के भन्छन् कानुनविद् र अधिकारकर्मी ?

घटना सार्वजनिक भएसँगै अधिकारकर्मीले दोषी कानुनको छिद्र समाउँदै उम्कन नहुने बताएका छन्। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले घटनाको सूष्म तरिकाले अनुसन्धान गरिरहेको र पीडितले न्याय पाउनुपर्ने बताइन्। ‘पीडितको परिचय गोप्य राख्नुपर्ने कानुनी बाध्यता छ। पीडितलाई संरक्षण गर्दै न्याय दिनको लागि महिला आयोग लागिपरेको छ,’ उनले भनिन्। शनिबार बिहान ७ बजेसम्म आयोगको धारणा बाहिर आउने उनको भनाइ छ। 

अधिवक्ता सविन श्रेष्ठ कुनै पनि बहानामा पीडकले उन्मुक्ति पाउन नहुने बताउँछन्। भन्छन्, ‘भिडियो हेर्दा बलात्कारमात्रै नभएर धेरै हिंसा भएको देख्न सकिन्छ। बलात्कारको हदम्याद एक वर्षमात्रै छ भनेर तर्क गर्नुभन्दा यहाँ आत्महत्या दुरुत्साहन, यौनहिंसा, मानसिक हिंसालगायत भिडियो खिच्दाको पीडितको शारीरिक र मानसिक अवस्थाको विषय पनि छ।’ उनी पीडितले कानुनी उपचारको बाटोमा जानैपर्ने सुझाव दिन्छन्। भन्छन्, ‘विभिन्न मुद्दामा सर्वोच्च अदालतले हदम्यादको विषयमा नजिर स्थापना पनि गरेको छ। कसरी न्याय दिन सकिन्छ भन्ने हिसाबले कानुनी उपचार प्रदान गरिनु पर्छ।’ 

महिला गैरसरकारी संस्था महासंघले यो विषयलाई गम्भीरताका साथ अध्ययन गरी पीडितलाई न्याय दिनुपर्ने बताएको छ। महासंघले विज्ञप्ति जारी गर्दै पीडितको न्यायको लागि र पीडकलाई हदैसम्मको कारबाहीको लागि जोडदार माग गरेको छ।  

तस्बिर : सरोज बैजु


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.