सप्तरीको बोदे बर्साइन नगरपालिकामा आतेशकुमार सिंह पुनः निर्वाचित

सप्तरीको बोदे बर्साइन नगरपालिकामा आतेशकुमार सिंह पुनः निर्वाचित

राजविराज : सप्तरीको स्थानीय तहमा उम्मेदवार भएकामध्ये ११ जना निवर्तमान प्रमुख पराजित हुने क्रमलाई भंग गर्दै आतेशकुमार सिंह यादव सप्तरीको बोदे बर्साइन नगरपालिकामा पुनः निर्वाचित भएका छन्। निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपेन्द्रकुमार यादवभन्दा ४१३ मत बढी ल्याएर जनता समाजवादी पार्टी, नेपालका सिंह पुन निर्वाचित भएका हुन्।

निर्वाचित सिंहले ५ हजार ६९३ मत ल्याएर विजयी भए। उपप्रमुख समेत जितेका जसपाले कार्यसमितिमा बहुमत भने गुमाएको छ। कुल १० वडा रहेको नगरपालिकामा जसपाले वडा नम्बर ५, ९ र १० को वडा अध्यक्षमा मात्र जित हासिल गरेको छ। गत वर्ष यादवको नेतृत्वमा प्रमुख, उपप्रमुखसहित १, ३, ६, ८ र ९ वडामा बहुमतका साथ संघीय समाजवादी फोरम विजयी भएको थियो।

स्थानीय तह २०७४ को निर्वाचनमा फोरमबाट उठेका सिंहले ४ हजार ५४७ मत ल्याएका थिए। त्यतिबेला कांग्रेसबाट लडेका कर्मैत यादवले १ हजार ७२९ मत ल्याएर चौथो स्थानमा रहेका थिए। उतिबेला निकट्तम प्रतिद्वन्द्वी रहेका राजपाका अमरेन्द्रप्रसाद यादव यसपटक लोसपाबाट उम्मेदवार भई १ हजार ९७४ मतमा सिमित हुँदा चौथो स्थानमा झरेका छन्।

उपप्रमुखमा जसपाकै रेणुकुमारी साह ५ हजार १५४ मतका साथ निर्वाचित भएकी छिन्। निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुनिताकुमारी साहले ४ हजार ९३६ मत ल्याएकी छिन्। गत स्थानीय तह २०७४ को निर्वाचनमा रेणु राजपाबाट उम्मेदवार भई ३ हजार ६३० मत ल्याएर निकट्तम प्रतिद्वन्द्वी रहेकी थिइन्। संघीय समाजवादी फोरमबाट निर्वाचित उपप्रमुख रन्जुकुमारी साह लोसपामा आबद्ध भएपनि उम्मेदवारी दोहोर्‍याउन चाहिनन्। राजपाबाट लडेर निकटतम प्रतिद्वन्द्वी रहेकी रेणु भने जसपातर्फ आबद्ध भई उपप्रमुखको उम्मेदवार बनिन्।

कुल १० वडा रहेको नगरपालिकामा जसपा र कांग्रेसले ३/३, एमालेले २ तथा माओवादी र लोसपाले १÷१  वडा अध्यक्षमा जित हासिल गरेका छन्। वडा नम्बर १ बाट एमालेका रबिन्द्रकुमार साह, २ बाट माओवादीका रामप्रसाद राम, ३ बाट कांग्रेसका शिवनारायण यादव, ४ बाट कांग्रेसका किरणकुमार साह र ५ बाट जसपाका मोजिबुर रहमान वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ बाट लोसपाका राजकुमार यादव, ७ बाट एमालेका विजयनारायण कापैर, ८ बाट कांग्रेसका बैद्यनाथ चौधरी, ९ बाट जसपाका तपसी यादव र १० बाट जसपाका सुनितकुमार यादव निर्वाचित भएका छन्।
सप्तरीमा हालसम्म घोषित १५ स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ५, जसपाले ३, एमाले र जनमत पार्टीले २/२, लोसपा, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले १/१ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ।

यसपटक निर्वाचनमा उम्मेदवार हुने १४ जना निवर्तमान प्रमुख र अध्यक्षमध्ये ११ जनाले पराजय भोगिसकेका छन्। बाँकी जारी रहेको मतगणनामा छिन्नमस्ता र रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष पछाडि परेका छन्। दुबै पालिकामा लोसपाका उम्मेदवारलाई जसपाका उम्मेदवारले पछ्याइरहेका छन्। डाक्नेश्वरी नगरपालिकामा जसपा, कांग्रेस र एमालेको त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ।
 निर्वाचित नगर प्रमुख आतेशकुमार सिंह र उपप्रमुख रेणुकुमारी साह।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.