धनगढी उपमहानगरमा सत्ता गठबन्धन पराजित : मेयरमा स्वतन्त्रका हमाल र उपमेयरमा एमालेकी राना विजयी

धनगढी उपमहानगरमा सत्ता गठबन्धन पराजित : मेयरमा स्वतन्त्रका हमाल र उपमेयरमा एमालेकी राना विजयी

धनगढी : सत्ता गठबन्धनलाई पछार्दै सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीमा स्वतन्त्र पदका उमेदवार गोपाल हमाल निर्वाचित भएका छन्। कुल खसेको ६३ हजार ६४७ मतमध्ये हमालले २६ हजार ८६५ मत पाएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रस उम्मेदवार नृपबहादुर ओडले १४ हजार ८१७ मत प्राप्त गरे। ओड निवर्तमान मेयर पनि हुन् । आँप चुनाव चिन्ह पाएका हमालले १२ हजार ४८ मतान्तरले धनगढी उपमहानगरको मेयर जितेका हुन्। नेकपा एमालेको तर्फबाट मेयर पदका उमेदवार रण बहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरे।

मेयरमा निर्वाचित स्वतन्त्रका गोपाल हमाललाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु । तस्बिर : शिवराज भट्ट 

यस्तै उपमेयरमा नेकपा एमालेकी कन्दकला राना पनि २ हजार ८०९ मतान्तरले जितेकी छन्। मतगणनाको दिनदेखि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उमेदवार शान्ति अधिकारी क्षेत्रीलाई पछ्याई रहेकी रानाले शनिबारदेखि मात्रै अग्रता लिन सुरु गरेकी थिइन्। रानाले १५ हजार ४७९ मत पाउँदा, अधिकारी क्षेत्रीले १२ हजार ६७० मत पाइन्। 

धनगढीको मेयर र उपमेयरमा मात्र गठबन्धन भएको थियो। सत्ता गठबन्धन मन नपराएका कांग्रेसका नेता प्रभाकर भण्डारीले उपमेयरमा उमेदवारी दिएका थिए। उनले ६ हजार ६०९ मत ल्याए। भण्डारीको उमेदवारी नै गठबन्धनका उपमेयरका लागि पराजयको कारण बन्यो। २०७४ सालको निर्वाचनमा दुबै पदमा कांग्रेस जितेकाले यसपाली पनि धनगढीमा कांग्रेसले गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा भण्डारीले माओवादीको उममेयर हराउनकै लागि उमेदवारी दिएका हुन्। तर अधिकारीलाई गठबन्धनका तर्फबाट सोचे अनुसारको मत आएन।

उपमेयरमा निर्वाचित एमालेकी कन्दकला रानालाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु ।

१९ वटा वडा रहेको धनगढीमा ११ वटामा कांग्रेसले जीत निकालेको छ भने नेकपा एमालेले ६ वडा र माओवादी केन्द्रले २ वडा जितेको छ। आइतबार बिहान मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले धनगढी उपमहानगरको मत परिणाम घोषणा गर्दै विजेता सबैलाई प्रमाणपत्र प्रदान गरेका छन्। धनगढी उपमहानगरका मेयरको सपथ सोमबार मात्रै हुने बताइएको छ। धनगढीमा अहिले नेकपा एमालेको तर्फबाट उपमेयरमा जितेकी कन्दकला रानाको विजय र्‍याली भइरहेको छ भने स्वतन्त्र पदका उमेदवार हमालले आज ४ बजे विजय र्‍याली निकाल्ने तयारी गरेका छन्।

को हुन् हमाल ?

गोपाल हमाल धनगढी उपमहानगरका लागि एक व्यवसायिक अनुहार हो। धनगढीको व्यापारिक क्षेत्रमा प्रतिष्ठा कमाएका हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेलादेखि चर्चामा आएका हुन। २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका उनले सुदूरपश्चिम महोत्सवको सुरुवात गरेर सुदूरपश्चिम चिनाउने प्रयास गरेका थिए। 

सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडि प्रथा छ, सामाजिक कुरीति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुरामा पहिचान बनाएको सुदूरपश्चिमलाई उनले सुदूरपश्चिम सुन्दर छ, सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास गरेका थिए। उनको पालामा सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन भएको थियो। सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिरहरु देशव्यापी रुपमा प्रदर्शनीमा लगिएपछि सुन्दर सुदूरपश्चिम अभियान चर्चामा आएको थियो। त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार) पनि  भनिन्छ। उनकै पालामा देशको कार्यकारी प्रमुखलाई सुदूरपश्चिम महोत्सवमा बोलाएर २१ किलोको माला लगाउने र २१ बुँदे मागहरु राख्ने अभियान पनि चलेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय पछिको देशकै लामो धावनमार्ग भएको धनगढी विमानस्थल बनाउन निजी क्षेत्रको तर्फबाट एक पैसै अभियान चलाएका उनलाई, यस क्षेत्रको विकासको परिकल्पनाकारका रुपमा पनि लिइन्छ। दलीय व्यवस्थामा निर्दलीय व्यक्तिको उमेदवारी त्यत्ति सार्थक नभएपनि, दलहरु प्रतिको वितृष्णाले हमालले २०७४ सालकै निर्वाचनमा राम्रो मत पाएका थिए।

म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन पनि दिन्न​

उनले उपमहानगरको कुनै पनि सेवा सुविधा नलिने बताई सकेका छन्। ‘गाडी लिन्न, त्यसमा हाल्ने तेल लिन्न, म उपमहानगरकै लागि काठमाडौं वा विदेश गएपनि आफ्नो रकमले जानेछु, म एक पैसा रकम पनि नलिने प्रण गरेको छु’ उनले भने। हमालले, कैलालीकै सबैभन्दा ठूलो शिवालय बेहडाबाबामा पुगेर भ्रष्टाचार नगर्ने कसम समेत खाएका थिए। 

‘म भ्रष्टाचार गर्दिन, शिवलिंगमा हात राखेर कसम खाएको छु, म भ्रष्टाचार हुन पनि दिन्न ।’ उनले भने, ‘अहिले वडामा आएका सबै युवाहरु मेरो अभियानमा सहभागि हुने अपेक्षा लिएको छु।’ उनले पाँच वर्षपछि नदोहोरिने पनि बताएका छन्। ‘म ‘धनगढी मोडेल’ बाट एक प्रकारको प्रणालीको विकास गर्छु, मैले दोहोरिन आवश्यक छैन, दलहरुभित्रको विकृति कम होस, राजनीति सेवाका रुपमा विकास होस् भनेर नै मैले उमेदवारी दिएको हुँ, जनताले मलाई जिताएका छन, म त्यस कुरामा खरो उत्रने छु,’ हमालले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.