पोखरामा धनराज आचार्यको चमत्कारिक फड्को
![पोखरामा धनराज आचार्यको चमत्कारिक फड्को](https://annapurnapost.prixacdn.net/media/albums/Dhanraj-Acharya-pokhara_20220525073142_XHDAPowLvt.jpg)
पोखरा : पार्टी सानो छ। नयाँ पनि छ। सबै वडामा संगठन बन्न सकेको छैन। चुनाव चिन्ह प्रचारित भइसकेको छैन। ती माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई हेरेर पोखरामा हुने गरेका टिप्पणी थिए।
गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र आफ्नै पार्टीको मेयर उम्मेदवार हुनुपर्छ भन्ने माग चर्को थियो। तर सत्ता गठबन्धनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पोखराको मेयर उम्मेदवार दिने निधो गर्यो। त्यसपछि पक्का भयो नेकपा एसका कास्की अध्यक्ष धनराज आचार्य पोखराको मेयरको उम्मेदवार।
नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसमा जाँदै धनराजलाई उक्त पार्टीले पोखराको मेयर दाबी गर्दा उनलाई नै उम्मेदवारको रुपमा हेरिएको थियो। तर पोखरामा खास उपस्थिति देखाउन नसकेको एसबाट मेयर भएपनि जित्न कठिन हुन्छ भन्ने तर्क गर्नेहरु थिए। थप तर्क थियो—गठबन्धनको ठूलो पार्टी कांग्रेसको मेयर उम्मेदवार नहुँदा एमालेले जित्न सजिलो भयो। मेयर धनराज आचार्यले भने उम्मेदवारी दर्ताअघि नै भनेका थिए, ‘हामीले जित्ने भनेकै एमालेको पनि मत लिएर हो, एमालेमा हाम्रो अंश पनि छ, हंस पनि छ।’
नयाँनयाँ खुलेको पार्टीबाट उम्मेदवार भएर भूगोलका आधारमा देशकै ठूलो महानगरपालिकाको मेयरमा निर्वाचित हुनुले उनलाई कुशल र कुटिल राजनीतिक खेलाडी सावित गरिदिएको छ। एकथरीका लागि उनको विजय चामत्कारिक पनि भएको छ। मतदाता माझ क्यारेस्मेटिक उम्मेदवारको झल्को दिन सफल भएरै उनले त्यो चात्मकारिक नतिजा निकालिदिएका छन्।
एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले उपमेयर जित्दा पनि आचार्यले मेयरमा बाजी मारे। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले उपमेयरमा मञ्जुले पाए जति मत ल्याउन नसक्दा हार बेहोरे। मञ्जुलाई उपमेयरमा मत दिएकाले पनि मेयरमा आचार्यलाई रोजे। आफैले भनेजस्तो एमालेको अंश (मत) पाएरै आचार्य विजयी भए। उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट पराजित हुँदा पनि धनराजले विजय पाउनुबाटै उनले एमालेको पनि मत तानेर जित्न सफल भएको प्रष्ट हुन्छ।
अंश र हंस लिने रणनीति अनुसारै आचार्यले चुनाव प्रचारका क्रममा एमालेलाई कतै गाली गरेनन्। आचार्य एमाले नै छँदा पहिलाको चुनावमा एमालेका मेयर उम्मेदवारको घोषणापत्र लेखन टिममा थिए। उनले चुनाव दौरान भने, ‘त्यही घोषणापत्रका राम्रा काम अझै पनि कार्यान्वयन गर्न बाँकी छन्, हामी गर्छौं।’
एमालेका तत्कालीन चर्चित नेता रवीन्द्र अधिकारीका सहपाठीमात्रै होइनन्, उनको हरेक जसो निर्वाचनमा चुनावी कमाण्डर हुन्थे आचार्य। प्रभावशाली मतदातालाई आफै फोन गर्ने, खास समुदाय र समूहका अगुवालाई भेटेरै कुरा गर्ने र प्रविधिको भरपुर प्रयोग गर्ने रवीन्द्रको शैली धनराज आफैले यसपालि प्रयोग गरे। भाषण गर्दा तथ्य र तथ्यांकसहित बोल्ने र जुन ठाउँका मतदाता हुन् तिनलाई सम्बोधन गर्ने तरिका पनि धनराजले अपनाए। सार्वजनिक मञ्चका बहस र कतिपय मन्तव्य युवा र तटस्थ मत तान्न काफी सहयोगी बने।
खासमा धनराजलाई एमाले फुटेर नेकपा एस बन्नुले पनि अवसर प्रदान गर्यो। एमालेबाट उनले मेयर उम्मेदवार बन्ने मौका पाउन मुस्किल हुन्थ्यो। एमालेभित्र खास ठूलो जिम्मेवारीमा पनि थिएनन् धनराज। एमाले अध्यक्ष केपी ओली आफ्नै खल्तीका व्यक्तिलाई टिकट दिन्छन् भन्ने ओपन सेक्रेटै थियो। त्यसमाथि माधव नेपालसँग धनराजको खास सम्बन्ध पनि थियो। धनराजको सट्टा नेकपा एसबाट अरुले टिकट पाएका भए माधव नेपालको नाक जोगाइदिने गरी पोखरा महानगरपालिकामा मेयर जित्न कठिन पनि हुन्थ्यो। जिल्ला नेतृत्व नै लिएर नयाँ पार्टीको अस्तित्व सिर्जना गर्न धनराज सक्रिय भए। जब कि २०५४ सालमा एमाले फुटेर माले भएपछि राजनीतिमा खास सक्रिय भएका थिएनन्। रवीन्द्र अधिकारीका चुनावी मोर्चामा मात्रै खटिँदै आएका थिए। पार्टीसँग जोडिने माध्यम भने एमाले समर्थित उद्यमी व्यवसायीका बनाएका थिए।
पोखरा महानगरपालिका ३३ भरतपोखरीमा २६ सालको चैतमा जन्मिएका धनराज अहिले ५२ वर्षमा हिँडिरहेका छन्। एमबिए, एमएड पढेका उनले राजनीतिबाहेक उद्योग व्यवसायमा आफूलाई स्थापित गर्दा गर्दै लायन्स क्लबमार्फत समाजसेवामा सक्रिय बनाएका थिए। उनी लायन्स क्लबको सर्वोच्च जिम्मेवारी गभर्नर पनि भए। व्यवसाय उनले पुस्तक पसलबाट सुरु गरेका थिए। त्यसकै अनुभवबाट उनी प्रकाशनतिर होमिए। पाठ्यपुस्तकको बजारमा उनको युनाइटेड पब्लिकेसनको एक किसिमको साम्राज्य छ। जलस्रोत आयोजनाहरुमा पनि उनी लगानीकर्ता छन्। एक राजनीतिकर्मी भन्छन्, ‘बुद्धि पनि भएको, धन पनि भएको हुँदा उनलाई चुनाव जित्न सजिलो भयो।’ त्यसमाथि एमाले उम्मेदवार भने बासी अनुहार थिए। २०५४ सालमै मेयर भइसकेका कृष्ण थापाले २५ वर्षपछि टिकट पाउँदा एमालेका कार्यकर्तामा रोष उत्पन्न भएको थियो। एक त थापा प्रदेश सांसद छँदै थिए, त्यसमाथि २०४९ सालदेखिका हरेक चुनावमा पार्टीले टिकट उनैलाई दिएको थियो। कार्यकर्ता र जनतासँग पटक्कै घुलमिल नहुने, तर केपी ओलीका चाहिँ प्यारा भएकैले थापालाई टिकट मिल्दा कार्यकर्ताको आक्रोश धनराजलाई मतका रुपमा प्रकट भयो। दलितमाथि विभेद गर्नेहरुको पक्षमा लागेको भन्ने आरोपसमेत थापालाई थियो। थापाका तमाम कमजोरीको फाइदा धनराजलाई भयो।
स्कुल पढ्दै तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा लागेका आचार्य जिल्ला कमिटी सदस्य, सचिव हुँदै २०४६ सालमा जिल्ला अध्यक्ष भए। २०४८ मा गण्डकी अञ्चलसमेत भएर पछि केन्द्रीय कमिटीसम्म पुगे। पृथ्वीनारायण क्याम्पसको स्ववियुमा उनी २०५१ सालमा सभापति निर्वाचित भएका थिए। एमालेको जिल्ला कमिटी सदस्य र मालेको पनि त्यही जिम्मेवारीसम्म पुगेका आचार्यले व्यवसायमा जसरी छलाङ मारेका छन्, राजनीतिमा पनि फड्को मारे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)