कथामा क्रान्तिको उद्घोष
समकालीन नेपालको चित्र–बिम्बकारितामा सजधज तुल्याइएको कथा संग्रह हो, आख्यानकार शशी थापा पण्डितद्वारा रचिएको ‘उठ तिलोत्तमा’। पन्ध्र कथाख्यानको संकलन हो यो। ‘लिमीको त्यो रात’, ‘माटो पलायन’, ‘दस्तखत’, ‘बूढी बेहुली’, ‘जोगिराम भोरुवा’, ‘उठ तिलोत्तमा’, ‘मृत्यु–आभास’, ‘आजको मुनामदन’, ‘के आउला त्यो दिन’, ‘प्रश्नको पहाड’, ‘कोरोनामा रेमिट्यान्स’, ‘आखिर ऊ पनि त मानिस’ जस्ता शीर्षकमा कथा बुनिएका छन्। सशक्त आख्यानिक चेतका यी प्रमेयबोधित कथादंशहरूले परिप्रेक्ष्यित ‘उठ तिलोत्तमा’, समकालीन नेपाली कथा परम्परिततामा एउटा विशिष्ट उपलब्धि हो।
आख्यान प्रचेष्टाहरू प्रकारान्तरताका ‘स्कुल’ चरितार्थ छन्। समाज, संस्कृति, राष्ट्र–राष्ट्रियता, मानव मनोविज्ञान, सूक्ष्म यौन चेतना, अस्तित्व स्थापना, मानवतावादी मूल्यबोध, आस्था–प्रतिबद्धता र जीवनवादी गवेषणालगायतका पहिचानवादी चिन्तनले बुनिएको छ संग्रह। जसले समाज रूपान्तरण गर्ने सन्दर्भमा एउटा माइल स्टोनको भूमिका निर्वाह गर्नेछ। आख्यानतत्व र संरचनागत प्रयुक्तिमा केही कमजोरी देखियो होला, तर आख्यानिक महŒवा सधंै कालजयी पुष्टि भएको देखिन्छ। अहिले यी ‘उठ तिलोत्तमा’का कथ्य संरचनाद्वारा देशदर्शनका सन्दर्भमा देखिएका विसंगतिबोध होस्, वा देशबाहिर नेपालीले भोग्नु परेको ज्यादति, ती सबै यथार्थ बिम्बहरूले देशाटनीय कथानकको पूर्ण भूमिका निर्वाह गरेका छन्। यी परिप्रेक्ष्यमा पण्डितको आख्यानकार कहीँ पनि चुकेको देखिँदैन।
‘शास्त्रीय वैशिष्ट्य’का उदारतामा मात्र आख्यानको सतर्कता पुष्टि हुने होइन। ती त्यहाँ, प्रयुक्तिले उद्भवित कथोपकथन, आख्यानकारको दूरदर्शिता, कथायोजक सम्प्रेषणीयता र कथानकीय क्षमताबाट भाव प्रवणता हुँदै गएका हुन्। कथा पढ्दा पण्डितको आख्यानकार छवि पनि उच्चस्तरीय ‘काँट र पंक्ति’मा उभिएको अनुभव हुन्छ। आधुनिक नेपाली कथाख्यानको परिपाटी कमजोर जगमा उभिएको छैन भन्ने पुष्टि पनि उनले गरेकी छन्। नेपाली कथानकीय सन्दर्भहरू विश्व साहित्यका परिप्रेक्ष्यमा, उभिन सक्ने आधार यथेष्ट छन्। नेपालको मानवशास्त्रीय समाज प्रणालीको प्राचीन इतिहास कम समृद्ध छैन। हिमवत् खण्डमा अवस्थित प्राचीन सांस्कृतिक सम्पदा, वैदिक उपनिषद्ता, वौद्ध दर्शन, नेवा सांस्कृतिकता र किरात सभ्यताले ओतप्रोत नेपाली समाजका कथानकीय चरित्रता बहुल प्रकृतिका छन्। हिमाल, पहाड, तराईका आञ्चलिक भाषा–संस्कृति, पात्र विधान र कथानकीय परिवेशहरूले ‘उठ तिलोत्तमा’का परिधानता निर्माण भएका हुन्। यिनले विश्व कथा साहित्यका हाराहारीमा आफूलाई पनि उभ्याउने प्रचेष्टा गरेका छन्।
नेपाली कथाख्यानको उचाइ विस्तारित गर्न पण्डितका ‘उठ तिलोत्तमा’हरूले उद्भट व्यक्तित्व प्रदर्शन गरेका छन्। उनका यी प्रयोगधर्मी आख्यान संरचनाले नेपाल र नेपाली चिनाउने ‘कथानकीय अवस्थिति’ सम्प्रेषण गरेका हुँदा तिनले समाज रूपान्तरण गर्ने सवालमा ‘साहसिक चरितार्थ’ पुष्टि गरेको देखिन्छ। उनका कथाख्यानहरू आत्मरति र मनोरञ्जनका लागि लेखिएका होइनन्। संरचित यी कथायोजनले पहिचानबोधका लागि, न्याय र समानता स्थापनाका लागि, जीवन स्तरोन्नतिका लागि, सांस्कृतिक श्रेष्ठता प्रदर्शन गर्नका लागि, सँगसँगै समग्र समाज रूपान्तरणका सन्दर्भमा विभेद र विसंगतियुक्त यथास्थितिका विरुद्ध एउटा शक्तिशाली आवाज उद्घोष गरेका छन्। त्यसैले थापाका कथाहरू ‘सन्तुष्टि र प्रेरणा’ को दोभानबाट सुदूर गन्तव्य तय गर्न उद्यत् भएका हुन्।
संग्रृहीत कथास्थाको केही अववोध हेरौं। नेपालको सुदूर पश्चिममा रहेको हुम्ला जिल्लामा अवस्थित लिमी तिब्बतको सीमासँग जोडिएको गाउँ हो। यो ‘लिमीको त्यो रात’ त्यही गाउँको कथा हो, जहाँ फुर्वा, याङ्की र ताक्मा जिक्मेतहरूको जीवन अझै बदलिएको छैन। कुमारी आमा हुनुको नियति उस्तै छ, बहुपति प्रथाको प्रारब्ध उस्तै छ। यी पात्रहरूलाई आफ्नो देशको बोध छैन। त्यहाँ सत्ता र शासकले पनि ध्यान दिन सकेका छैनन्। ‘माटो पलायन’का रामरूपा, श्यामकली, कामली, रामभरोसे, सूर्यनारायणहरूले सर्वहारा–सुकुमबासी हुनुको कथा अत्यन्त पीडादायी छ। मुलुकमा लोकतन्त्र–गणतन्त्र जे आए पनि गरिब नेपालीका जीवनमा कुनै परिवर्तन आउन नसक्नुको पीडाबोध छ। सन्दर्भमा, छिमेकबाट लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता अतिक्रमणबाट उत्पन्न पीडा, जलन र विद्रुपले छट्पटिएका भीमबहादुर र नरबहादुर सौकाजस्ता प्रतिनिधिकारक नेपालीको कथाबिम्ब कम मार्मिक छैन।
‘कोरोना रेमिट्यान्स’ वर्तमान नेपालको सशक्त कथा हो। बिग्रेको राजनीति, श्रमशोषण, बेरोजगारी, बेइमानी र अत्याचारबाट आक्रान्त तुल्याइएका लाखौं नेपाली युवाको दर्दनाक करुण कथा–सूर्यनारायण यादव र तेजसिंह बोहराले प्रतिनिधित्व गरेका छन्। दसवर्षे जनयुद्धमा होमिएर पनि केही उपलब्धि हुन नसकी खाडी राष्ट्रमा कमाइ गर्न जाने यी युवाले कहिले कोरोनाको कारण, कहिले दुर्घटनाको कारण, कहिले त्यहाँका मालिकहरूको दमन र हिंसाको कारण बन्द बाकसमा फर्कनु पर्ने हुन्छ। गरिब बाबुआमा, पत्नी, छोराछोरीका सपनाहरू त्यहाँ धुजाधुजा भएका घटना अघिल्तिर छन्, सप्रसंग यी कथानयिकीहरूले।
‘उठ तिलोत्तमा’मा सामाजिक क्रान्तिको उद्घोष छ। पतिको मृत्युपश्चात् तिलोत्तमालाई स्वीकार गर्ने माधवको क्रान्तिकारी चरित्रले अग्रगमनको मार्ग प्रशस्त गरेको बोध हुन्छ। संग्रहका अधिकांश कथाहरू प्रयोगवादी संरचनामा ढालिएका छन्। विश्व कथामा प्रयोग भएका चिन्तन र प्रविधिलाई कथाले नेपाली सांस्कृतिक धरातलको उपल्लो आकर्षणबाट आत्मसात् गरेका छन्। ‘म रोहिणी लेख्दैछु बुद्धको कथा’ यो संग्रहको उत्कृष्ट स्वगत–कथन हो। बुद्धलाई खोतलेर परिव्राजकको गरिमा बढाउने कार्य र यशोधराको ऊर्जामूलक भूमिकालाई त्याग र उत्सर्गको सर्वाेत्कृष्ट शैलीतर्फ आमुख तुल्याउने परिपञ्च आख्यानकारको चमत्कारिक शक्ति प्रदर्शन हो।
‘दस्तखत’ राजवीर र राज्यलक्ष्मीको बेग्लाबेग्लै धरातलीय यथार्थ कथा हो। सुहागरातको पहिलो पहरमै राजवीरको दुव्र्यसनी चरित्रको पर्दाफास भएपछि राज्यलक्ष्मीको जीवन नारकीय अवस्थामा पुग्ने देखिन्छ। उनको छोडपत्रको निर्णय क्रान्तिकारिताको उत्कर्ष मान्न सकिन्छ। यहाँका प्रत्येक कथाले व्यक्तिका स्वतन्त्रता, स्वाधीनता र आत्मसम्मानलाई प्राथमिकता प्रदान गरेका छन्। ‘जोगिराम भोरुवा’, ‘मुक्ति’, ‘पासो’, ‘प्रश्नको पहाड’ र ‘आजको मुनामदन’ जस्ता शक्तिशाली कथाहरूका आगमनबाट संग्रहको बहुआयामिक सार्थकता पुष्टि भएको छ। एउटै स्वाद र सन्तुष्टिका गोचरमा मात्र बाँधिएका छैनन् यी कथानकहरू। भिन्न भूगोल, भिन्न संस्कृति, भिन्न जीवन, भिन्न जाति, भिन्न भाषामा उभिएका यी कथा चेतनाहरू तत्तत् विषय र तत्तत् पात्रका विषयमा गम्भीर अध्ययन–चिन्तन र अनुसन्धानले परीक्षण गर्ने प्रयास भएका छन्।
कथामा पौराणिक मिथक–प्रतीक र पात्रहरूको प्रयोगसँगै आधुनिक जीवनमा प्रवेश भएका जेक्स डेरिडा वा रोला वाथहरू पनि भित्रिएका छन्। डेरिडाको प्रयोग चाहिँ कथामा सम्भावित विनिर्माणवादी चिन्तनका प्रारूपहरू पठन, विपठन र पुनर्पठनका आकस्मिकीहरूको सांकेतिक परिकल्पना हो। बुद्धको प्रासंगिकता होस् वा मुनामदनको ‘प्रस्र्पेक्टिभ’, ती डेरिडा चिन्तनका केही प्रायोगिकी हुन्। रोला बाथचाहिं सर्जक पछिका उम्दा पाठकको हैसियत प्रत्याभूत गराइने सन्दर्भतामा छ। कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो।