पहिरोले घर–मतान बगाउँदा सासु-बुहारी बेपत्ता, घाइतेको हेलिकप्टरबाट उद्धारको तयारी
ताप्लेजुङ : ताप्लेजुङमा पहिरोले घर–मतान बगाउँदा २ जना बेपत्ता भएका छन्। सिरिजङगा गाउँपालिका- ७ खेवाङमा गएराती पहिरोले घर बगाउँदा स्थानीय उद्योगनाथ अधिकारीकी श्रीमती र बुहारी बेपत्ता भएका हुन्।
उनका छोरा विष्णु अधिकारी गम्भीर घाइते भएका छन्। उनलाई हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। ‘भाग्ने क्रममा उनको आँखा, छाती र टाउकोमा गम्भीर चोट लागेको खबर आएको छ। उनलाई उपचारका लागि स्थलमार्गबाट अस्पतालसम्म पुर्याउन बाढी पहिरोका कारण समस्या छ।’ प्रजिअ पोखरेलले भने ‘गृह मन्त्रालय र प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौँ। उद्धारका लागि हेलिकप्टर आउँछ।’ उनको अवस्था गम्भीर भएकाले जिल्लामा उपचारको सम्भव नदेखिएको प्रजिअ पोखरेलले बताए।
यता घटनास्थलतर्फ प्रहरी टोली खटिएको ताप्लेजुङ प्रहरी प्रमूख डीएसपी कैलाश राईले जानकारी दिए। घटनाको जानकारी पाउनासाथ खेवाङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र थप टोली ईलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको डीएसपी राईले बताए। ‘घटनास्थल पुग्नको लागि खोलाहरु बढेको र बाटो पनि भत्किएको कारण समस्या भएको छ। टोली पुगेपछि पूर्ण विवरण प्राप्त हुनेछ’ डिएसपी राईले भने।
अधिकारीको घरमाथि सडक खनिएको थियो। सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको हो। जिल्लाका अन्य स्थानमा पनि बाढी पहिरोको घटना भएपनि मानविय क्षति भने हालसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !