अछामका विनोद शाही हत्याकाण्ड : पीडितको प्रदर्शनमा प्रहरीको लाठी चार्ज र अश्रुग्यास
धनगढी : अछाममा विनोद शाही हत्याको निष्पक्ष छानविन र दोषी माथि कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका स्थानीयमाथि प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार गरेको छ । विनोदको हत्याको आरोपमा पक्राउ परेकाहरुको आज जिल्ला अदालतमा पेसी थियो । त्यो थाहा पाएपछि पीडितका आफन्तहरु जिल्ला अदालतको नजिकै प्रदर्शनमा उत्रिएका थिए ।
विनोद शाहको हत्याको आज २५ दिन भएको छ । प्रहरीले आज पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेश गर्ने थाहा पाएपछि दबाब दिन पीडितका आफन्तहरु जिल्ला अदालत पुगेका हुन् । उनीहरुले, सरकारी वकिल कौशस ढुंगानाले घटना मिलाउन दबाब दिएको भन्दै नाराबाजी समेत गरेका थिए ।‘हामीहरु अदालतभन्दा करिब डेढसय मिटर माथि नै थियौं, ठूलो संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि अश्रुग्यास प्रहार गर्यो, लाठीचार्च गरेपछि धेरै महिला पुरुष घाइते भएका छन्’ मृतकका आफन्त बखत बहादुर शाहीले भने ।
तर घटनाका अनुसन्धान अधिकृत समेत रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक कैलाश विष्टले भने अदालतको निषेधित क्षेत्रभित्र पसेर ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्नु परेको बताए । ‘अदालतको निषेधित क्षेत्रमा प्रवेश गरेर ढुंगामुढा गरियो, १४ जना प्रहरी घाइते भएका छन्, त्यसपछि बल प्रयोग गरिएको हो’ प्रहरी निरीक्षक विष्टले भने ।
मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशलप्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिँदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको आरोप छ ।
स्थानीय चुनावका बेला बैशाख ३० गतेदेखि बल्झिएको विवाद हत्यासम्म पुगेपछि अछाममा तनाव हुँदै आएको हो । जेठको १८ गते देखि वेपत्ता रहेका पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ का १५ वर्षका विनोद शाहीको जेठ २१ गते शव फेला परेको थियो ।
वडा नम्बर ४ मा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपका दौरान विनोद पनि हराएका थिए । हराएको तीन दिनपछि उनको शव वडा नम्बर ३ को पञ्चदेवक क्याम्पस नजिकैको खोलामा फेला पर्यो । विनोदका आफन्तहरुले नेपाली काँग्रेस निकटका व्यक्तिहरुले हत्या गरेको आरोप लगाएर १३ जनाविरुद्ध किटानी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामले, सोझै किटानी जाहेरी दर्ता गर्न नमानेपछि उनीहरुले हुलाकबाट जाहेरी पठाएका थिए। किटानी जाहेरीकै आधारमा अहिले पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमा वडाध्यक्ष सज्जन शाही, जिल्ला समुन्वय समितिकी उप संयोजक दानमती शाही, मेयर चलाउनेका नजिक मानिएका शिक्षक नेत्र शाही, सहितका ७ जना प्रहरी हिरासतमा छन् ।
प्रहरीले अनुसन्धान थालेको २५ दिन भएको छ । मुलुकी फौजदारी संहितामा भएको प्रावधान अनुसार प्रहरीले २५ दिनभित्र अनुसन्धान सकेर अदालतमा बुझाइसक्नुपर्छ । उनीहरुलाई हिजै अदालतमा उपस्थित गराइएको र आज पेशी रहेको प्रहरीले जनाएको छ ।