जिल्ला अदालत मोरङमा सबैभन्दा बढी मुद्दा दर्ता
विराटनगर : चालू आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत मोरङमा अहिलेसम्मकै सबैभन्दा बढी मुद्दा दर्ता भएको छ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका सहित चालु आर्थिक वर्षमा ८ हजार ६४१ मुद्दा दर्ता भएको हो।
चालू आर्थिक वर्षमा ५ हजार १०१ मुद्दा दर्ता भएको थियो। जिम्मेवारी सरी आएका मुद्दाको संख्या ३ हजार ५४० रहेको अदालतले जनाएको छ।
अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाका अनुसार कोभिड महामारीका कारण जिम्मेवारी सरेर आउने मुद्दाको संख्या धेरै भएको हो।
'अदालतको कार्ययोजनामा ४ हजार १५८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो,' उनले भने, 'तर, कोभिडका कारण लामो समयसम्म अदालत बन्द हुँदा जिम्मेवारी सरेर आउने मुद्दा बढी देखिएको हो।'
दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ५ हजार २४० मुद्दा फर्छ्यौट भईसकेको जिल्ला अदालत मोरङले जनाएको छ। अदालतका अनुसार लक्ष्यको तुलनामा चालु आर्थिक वर्षको प्रगति ९३.२५ प्रतिशत रहेको छ।
अदालतमा अब २ वर्ष नाघेका ९८ वटा र १८ महिनादेखि २४ महिनासम्मका २०७ मुद्दा फर्छ्यौट हुन बाँकी छ।
अदालतमा करणी सम्बन्धी १५४ मुद्दा दर्ता भएका छन्। ज्यान सम्बन्धी ६८, लागुऔषध ३०२, मानव बेचबिखन २३ र सम्बन्ध विच्छेदका १ हजार ३६२ मुद्दा दर्ता भएका छन्।
प्रतिक्रिया दिनुहोस !