जहाँ सुध्रिन्छन् बालबालिका
हुम्लाका एक बालक जबर्जस्ती करणीको झुटो अभियोगमा पुर्पक्षका लागि थुनामा पुग्छन्। उनलाई बाँकेको जयेन्दु बालसुधार गृहमा राखिन्छ। अन्ततः अदालतबाट सफाइ पाउँछन्। उनी अहिले सुर्खेतमा कानुन विषय लिएर पढिरहेका छन्। उनी कानुनी फन्दामा परेर अन्यायमा भएका व्यक्तिलाई न्याय दिलाउन कानुन विषय पढेको बताउँछन्। लागूऔषध मुद्दामा बालसुधार गृह पुगेर रिहा भएका बाँकेका अर्का युवा चार्टर्ड एकाउन्टेन (सीए) पढ्ने तयारीमा छन्।
कैलालीका एक किशोर १६ वर्षको उमेरमै लागूऔषधको कुलतमा फस्छन्। कारोबार गर्दागर्दै प्रहरीको फन्दामा पर्छन्। उनलाई पनि बालसुधार गृहमा राखिन्छ। दुई वर्ष कैद भुक्तान गरेर घर फर्केका उनी अहिले जिम सिकेर विभिन्न प्रतियोगितामा भाग लिइरहेका छन्।
जाजरकोटका २० वर्षका युवा बाँकेको बालसुधार गृहमा छन्। उनले त्यही बसेर प्लस टुसम्मको पढाइ पूरा गरिसके। स्नातक तहमा कमर्स पढ्ने तरखरमा छन्। जजक मुद्दामा ९ वर्षको सजाय पाएका उनी ६ वर्षपछि रिहा हुनेछन्। काठमाडौंमा गएर व्यापार व्यवसाय गर्ने उनको योजना छ। ‘बाहिर भए अझै बिग्रिने थिए। बालसुधार गृहमा रहेर भविष्यबारे सोच्ने मौका पाए। व्यापार गर्ने योजना बनाएको छु’, उनले अनुभव सुनाए, ‘यहाँ नआएको भए सायद जीवन नै नबुझेर मर्थे होला जस्तो लाग्छ।’ जजक कानुन महिलामुखी भएर आफू परिबन्धमा परेको र आफू जस्तै धेरै जनाले एउटै खाले समस्या झेलेको उनी जिकिर गर्छन्।
कपिलवस्तुका १८ वर्षका युवक क्रिकेट खेलाडी बन्ने सपना छ। उनी जयेन्दु बालसुधार गृहको मैदानमा क्रिकेट खेल्छन्। भर्खरै ११ कक्षाको परीक्षा दिएका छन्। बालसुधार गृहमा रहेर पनि घर परिवारमै बसेर अध्ययन पूरा गरेर भविष्य निर्धारण गरेका यी त प्रतिनिधिमूलक पात्रमात्र हुन्। बालसुधार गृहले दिएको वातावरणले धेरैले कैद भुक्तान गरेर आपूmलाई समाजमा असल व्यक्तिका रूपमा स्थापित गर्न खोजिरहेका छन्। एकपटक बालसुधार गृहमा आएको व्यक्ति फेरि फर्केर आएका नगन्य घटना मात्र छन्।
बालसुधार गृहमा त्यस्तो के हुन्छ ? जसले बालबालिकालाई विगतका कमजोरी सच्चाएर भावी योजना बनाउन मद्दत मिल्छ त ? काठमाडौंमा रहेको केन्द्रीय बाल न्याय समन्वय समितिकी उपसचिव अनुपमा पन्त भन्छिन्, ‘बाल बिज्याइँमा परेका बालबालिकालाई कैद र सजायमै छुट दिइएको हुन्छ। बालसुधार गृहमा पनि कैद भुक्तान गर्न नै राखिने हो। सुधारगृहको वातावरण कारागार जस्तो हुँदैन। १८ वर्षमुनिका बालबालिकालाई त्यहाँ राख्दा हत्कडी लगाइँदैन। सुरक्षामा रहेका प्रहरीले पनि बर्दी लगाउँदैनन्। होस्टेलमा बसे जस्तै हुन्छ’, उपसचिव पन्त भन्छिन्, ‘त्यही वातावरणले पनि गल्ती महसुस गराउँछन्। गल्ती नदोहोर्याउने कुरा सिकेर जान्छन्। भावी योजना बनाउँछन्।’
बालसुधार गृहमा क्षमताभन्दा धेरै बालबालिका राखिएकाले पर्याप्त सुधार हुन नसकेको उनी बताउँछिन्। ‘कतिपयलाई अदालतको आदेशबाटै सुधारको प्याकेज आएको हुन्छ। त्यस्तोमा बाध्यकारी व्यवस्था हुन्छ। नियमित रूपमा नभए पनि बालसुधार गृहमा सुधारका विभिन्न कार्यक्रम सञ्चालन हुन्छन्।’
बालसुधार गृहका लागि काम गरिरहेको काठमाडौंको प्रिजन फाउन्डेसनका अध्यक्ष ऋषि ओझा खुला वातावरण भएको र परिवारका सदस्यसँग नियमित भेट गर्न पाउने पारिवारिक जस्तो वातावरणले सुधार गर्न मद्दत मिलेको बताउँछन्। नेपालका बालसुधार गृह अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन नभए पनि यस्ता केही अभ्यास छन्, जसले बालबालिकालाई सुधार गर्न मद्दत गरेको छ।
बालसुधार गृहभित्रै स्कुल
देशका ८ वटा बालसुधार गृहमध्ये बाँके बाहेक सबैमा सुधार गृह परिसरमा सामुदायिक विद्यालय स्थापना गरिएको छ। बाँकेमा भवन निर्माण गरेको भए पनि विद्यालयको अनुमति लिने प्रक्रिया जारी छ। यस्ता विद्यालयमा नेपाल सरकारले दरबन्दीका शिक्षक पठाउने गरेको छ। न्यूनतम् पनि कक्षा १० सम्मको पढाइ हुने यस्ता विद्यालयमा गैरसरकारी संस्थाले पनि शिक्षकको व्यवस्था गरेका छन्।
प्लस टु र उच्च शिक्षाका लागि क्याम्पसमा भर्ना गरिन्छ। विद्यार्थीले स्वअध्ययन गर्छन्। माथिल्लो कक्षामा पढ्ने विद्यार्थीले पनि बालसुधार गृहका लागि पढाउने गरेका छन्।
नेपाल सरकारको हरेक वर्ष एक÷एक कक्षाको मात्र अनुमति दिने व्यवस्थाले बाँकेमा बालसुधार गृहमा विद्यालय तहको अनुमति पाउन गाह्रो भएको छ। ‘स्कुल भवन छ। हामीले माध्यमिक तहको अनुमति माग्दा एकैपटक दिन मिल्दैन भनेर रोकिएको छ’, जयेन्दु बालसुधार गृहकी इन्चार्ज विमला काउचाले दुःखेसो पोखिन्, ‘बालसुधार गृहका बालकलाई बाहिर पढ्न जान दिन सकिँदैन। विराटनगरमा अदालतको आदेशमा एकैैपटक माध्यमिक तहको अनुमति दिइएको छ। त्यही नजीरका आधारमा यहाँ पनि विद्यालय अनुमतिका लागि तयारी गरिरहेका छौं।’ अरू बालसुधार गृहभित्रै रहेको विद्यालयमा कम्तीमा १० कक्षासम्मको अध्ययन गर्न पाइन्छ। त्योभन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थीले स्वअध्ययन गरेर परीक्षा दिन्छन्। सुधार गृहभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको हुन्छ।
पुस्तकालयको व्यवस्था
बालसुधार गृहमा पाठ्यक्रम र बाहिरी ज्ञानका लागि पुस्तकालय स्थापना गरिएको हुन्छ। त्यहाँ कुर्सी र टेलबमा पढ्ने ठाउँ हुन्छ। पुस्तकालय २४ घण्टा नै खुला हुन्छ। फुर्सदको समयमा बालकहरू पुस्तकालयमा पढ्न जान्छन्। पुस्तकालयमा जीवनोपयोगी पुस्तकहरू छन्।
कानुनी ज्ञान त्यहाँ पढ्न पाइन्छ। जीवनीसम्बन्धी पुस्तकहरू राखिएका छन्। मानवअधिकार र साहित्यका पुस्तकहरू पनि राखिएका छन्। पुस्तकालयमा नियमित रूपमा नयाँ–नयाँ पुस्तकहरू भने छैनन्।
खेलकुद अभ्यास
बालबालिका भनेको खेल्ने र रमाउने उमेर हो। त्यसैले सुधार गृहमा खेलकुदका लागि पर्याप्त स्थानको व्यवस्था हुनुपर्छ। जहाँ रहेका बालबालिकाहरू आफ्नो रुचिअनुसारको खेल खेल्न पाउँछन्। बाँकेमा फुटबल, क्रिकेट र भलिबल मैदान छ। ब्याटमिन्टन कोर्ट पनि बनाइएको छ। बिहानको समयमा बालकहरू भलिबल र ब्याटमिन्टन खेल्छन्। अपरान्हतिर फुटबल र क्रिकेट खेल्छन्। योबाहेक उनीहरूलाई इन्डोर गेमका लागि क्यारेमबोर्ड, चेस, लुडोको पनि व्यवस्था हुन्छ। नियमित रूपमा खेल अभ्यास गर्दा उनीहरू शारीरिक रूपमा स्वस्थ मात्र हुँदैनन्। मानसिक रूपमा स्र्फुत पनि हुन्छन्। खेल मैदान र खेल सामग्री भए पनि नियमित रूपमा प्रशिक्षण दिने प्रशिक्षकको
अभाव भने बालसुधार गृहमा छ। उनीहरू खेल्दै सिक्छन्। खेल शिक्षक उपलब्ध गराउन उनीहरू सरकारसँग माग गर्छन्।
योग शिविर
बालसुधार गृहमा नियमित रूपमा योग ध्यान गर्ने व्यवस्था हुँदैन। समय–समयमा विभिन्न अध्यात्मिक संस्थाले निःशुल्क रूपमा योग शिविर सञ्चालन गरिरहेका हुन्छन्। १९ जेठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बालसुधार गृहमा ‘डिभाइन सेसन विथ स्वामिजी’ विषयक योग, ध्यान र अध्यात्मिक ज्ञानसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो। आर्ट अफ लिभिङको मुख्यालय भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेजले बालसुधार गृहका बालकसँग अन्तरक्रिया गरेका थिए। यो ठाउँमा किन आएका हौं ? उनको प्रश्नको जवाफमा बालकहरूले ‘गल्ती काम गरेर’ आएको प्रतिक्रिया दिएका थिए। फेरि सोधे, ‘अहिले कस्तो लागेको छ ?’ जवाफ आयो, ‘पछुतो लागिरहेको छ।’ स्वामी पूर्णतेजले हौसला दिँदै भने, ‘तिमीले जानेर गल्ती गरेका होइनौं। गल्तीले गल्ती काम भयो। गल्ती सुधार गर्न सुधार गृहमा आएका छौं। पछुतोले पीडा मात्र दिन्छ। सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ।’ स्वामीले सोधे, ‘फेरि गल्ती गर्दैनौं ?’ जवाफ आयो, ‘यहाँबाट निस्केपछि फेरि यही आउने काम गर्दैनौं। पढाइ पूरा गर्छौं। बाआमा, समाज र आफ्नो नाम राख्ने काम गर्छौं। अरूका लागि उदाहरणीय बन्छौं।’ स्वामी पूर्णतेजसँगै थिइन्, द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमा।
स्वामी र माथेमाले सुधार गृहमा योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए। आर्ट अफ लिभिङले भर्खरै सुधार गृहमा पाँच दिने नवचेतना शिविर सञ्चालन गरेको छ। शिविरपछि बालकहरू खुसी छन्। ‘खायो, पियो, सुत्यो यत्ति काम हुन्थ्यो। शिविरले तनाव मुक्त गरेको छ। राति मस्त निद्रा लाग्छ’, शिविरका एक सहभागीले प्रतिक्रिया दिए। केही दिनअघि ब्रह्मकुमारी राजयोग विश्वविद्यालयले पनि सकारात्क सोचसम्बन्धी कार्यक्रम सञ्चालन गरेको सुधार गृहकी इन्चार्ज विमला काउचाले जानकारी दिइन्। ‘योग प्रशिक्षक नभएकाले नियमित त गर्न सकिएको छैन। बेला–बेलामा अध्यात्मिक संस्थाको सहयोगमा योग शिविर सञ्चालन गरिरहेका छौं’, उनले प्रष्ट पारिन्। केही समय अघि भक्तपुर बालसुधार गृहमा पनि आर्ट अफ लिभिङले योगशिविर सञ्चालन गरेको थियो। पोखरामा पानीको अभावमा योग शिविर सञ्चालन गर्न समस्या भएको प्रिजन फाउन्डेसनका अध्यक्ष ऋषि ओझा बताउँछन्। उनले भने, ‘त्यहाँ खानेपानीकै समस्या रहेछ। योग गर्दा त नुहाउनुपर्छ। त्यसैले योग शिविर सञ्चालन गर्न सकिएको छैन।’ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा प्रिजन फाउन्डेसनले देशभरका सुधार गृहलाई सहयोग गरिरहेको छ।
स्वास्थ्य शिविर
बालसुधार गृहमा कोही बिरामी भए तत्काल औषधि उपचारका लागि सरकारी अस्पताल लगिन्छ। अन्य बेलामा भने चेकजाँच गर्ने व्यवस्था मिलाएको हुन्छ। तर, यो नियमित भने छैन। स्वास्थ्य शिविर सञ्चालन गरेर उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको हुन्छ। जयेन्दु बालसुधार गृहमा रहेका बालकमा छालाका रोगको संक्रमण धेरै देखिएपछि लायन्स क्लब नेपालगन्ज पीएनएलएफको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
सुधारगृहमा जिल्ला कारागारका स्वास्थ्यकर्मीले पनि चेकजाँच गर्ने गरेका छन् तर यो नियमित हुने गरेको छैन। स्थानीय तहका स्वास्थ्यकर्मीले पनि बेला बेलामा स्वास्थ्य परीक्षण गरेर सघाउने गरेका छन्। नियमित चेकजाँचको व्यवस्था गर्नुपर्ने सुधारगृह सञ्चालकको माग छ।
बाल मनोविमर्र्सकर्ता
बालबालिकाको उमेरले के ठीक के गलत छुट्टाउन सक्ने हुँदैन। यो उमेर भनेकै चञ्चले हुन्छ। परिवारभन्दा अरूको देखासिकी गर्न खोज्छन्। अन्जानमै वा साथीको लहलहैमा लागेर कानुनी फन्दामा पर्छन्। परिवारको मायाले पुल्पुलिएका उनीहरू बालसुधार गृहमा पुगेपछि एक्लो महसुस गर्छन्। क्षमताभन्दा धेरै बालक राखिएकाले न राम्ररी सुत्न पाउँछन् न पौष्टिक आहार नै खान पाउँछन्। उनीहरूलाई होम सिक हुन्छ। यस्ता बालबालिकालाई समयमै बाल मनोविमर्र्शकर्ताको परामर्श नहुँदा डिप्रेसनमा जाने खतरा हुने बाल मनोविमर्र्शकर्ता समेत रहेको काउचा बताउँछिन्। ‘धेरैलार्ई चासो र चिन्ता मेरो मुद्दा के भइरहेको छ। पेशी कहिले हो भन्ने नै हुन्छ। म कहिले छुट्छु भनेर धेरैले जिज्ञासा राख्छन्’, उनले भनिन्। यस्तो मनोविज्ञान भएका बालबालिकालाई मनोविमर्र्शकर्ताको सुझाव रामवाण बन्नसक्छ। नेपालगन्जलगायत धेरैवटा बालसुधारगृहमा बाल मनोविमर्र्शकर्ता नभएको अध्यक्ष ओझाले सुनाए।
सुधारको खाँचो
केन्द्रीय बाल न्याय समन्वय समितिका अनुसार देशभर आठवटा बालसुधार गृह छन्। चारवटा बालसुधारगृह सरकारले नै सञ्चालन गरेको छ। अरू चारवटा बालसुधार गृह गैरसरकारी संस्था बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) भक्तपुरलाई व्यवस्थापनको जिम्मा दिएको छ। सरकारले चारवटा बालसुधार गृह सञ्चालनका लागि वार्षिक ८० लाख रुपैयाँ दिने गरेको संस्थाका बाल अधिकार संयोजक सन्तुलन देशेमरुले बताए। बालसुधार गृहमा संस्थाले सामाजिक कार्यकर्ता, बाल मनोविमर्र्शकर्ता, कानुन अधिकृत र होस्टेल वार्डेन नियुक्त गरेर व्यवस्थापनको जिम्मा दिने गरेको छ। देशभरिका ८ वटा बालसुधार गृहको कुल क्षमता नै ५ सय ३० हो। सबैमा गरी दोब्बरभन्दा बढी बालबालिकालाई राखिएको छ। असार दोस्रो सातासम्म यी बालसुधार गृहमा एक हजार ७४ जना राखिएका छन्। एउटा बाहेक सबैमा क्षमताभन्दा बढी राखिएको छ। सबैभन्दा कम मकवानपुरमा ८० जनाको क्षमतामा ६० जना राखिएको छ भने ७५ जनाको क्षमता रहेको नेपालगन्जको बालसुधार गृहमा झन्डै तेब्बर अर्थात् १ सय ९० जनालाई राखिएको छ। क्षमताभन्दा बढी भएका कारण सबैभन्दा समस्या सुत्न हुन्छ। शौचालय, नुहाउँदा र लुगा धुन पनि समस्या हुने गरेको बालबालिकाहरू बताउँछन्। नेपालगन्ज लगायत केही ठाउँमा भवन निर्माण भइरहेको छ। क्षमताभन्दा दोब्बर, तेब्बर संख्यामा राखिएकाले सुत्न समस्या हुने बालबालिकाहरू बताउँछन्।
बालबालिकाको बढ्ने उमेर हुन्छ। त्यसका लागि उनीहरूलाई पर्याप्त पौष्टिक आहारको आवश्यकता पर्छ तर बालसुधार गृहमा त्यस्तो छुट्टै पौष्टिक आहारको व्यवस्था छैन। जेलका कैदीबन्दी सरहकैै सुविधा छ। कारागारका कैदीबन्दीलाई जस्तै दैनिक ७ सय ग्राम चामल, तरकारी र खाजाका लागि ६० रुपैयाँ मात्र उपलब्ध हुन्छ। यही पैसाले सातामा एक दिन माछामासु खुवाइन्छ। एक दिन अण्डा दिइन्छ। दिउँसो खाजामा चिया र बिस्कुट हुन्छ। फलफूल खाने त व्यवस्था नै छैन। बौद्धिक र शारीरिक विकास हुने बालकका लागि यो खाना पर्याप्त नभएको प्रिजन फाउन्डेसनका अध्यक्ष ओझा बताउँछन्। युसेपका बाल अधिकार संयोजक देशेमरु पनि राज्यले दिने राशन र पैसा कम भएकाले पौष्टिक आहार खुवाउन नसकेको स्वीकार्छन्। बालबालिकालाई उसको व्यक्तित्व उठान, आत्मनिर्भर र आत्मविश्वासी बन्नका लागि सघाउन विज्ञ मनोचिकित्सकको नियुक्ति गर्नुपर्छ।
बालसुधार गृहबाट छुटेपछि उनीहरूलाई निगरानीमा राखेर पुनस्र्थापनाको प्रयोगको अध्ययन गर्नुपर्छ। साउथ अफ्रिकामा बालसुधार गृहभित्र बाल न्याय प्रणालीका तत्वहरू सरकारी वकिल, बालमैत्री प्रहरी र बाल अदालत छ। बालसुधार गृहका बालबालिकालाई उमेरअनुसार छुट्टाएर राख्नुपर्छ। बालबालिकामा आउने शारीरिक र मानसिक परिवर्तनको सन्दर्भमा यौन शिक्षा दिने व्यवस्था पनि गर्नुपर्ने सुझाव विज्ञहरूले दिने गरेका छन्। नेपालगन्ज बालसुधार गृहकी इन्चार्ज काउचा सीपमूलक तालिम दिन नसकिएको बताउँछिन्। उनको माग छ, ‘यस्तो तालिम दिन सकेको भए रिहा भएर घर फर्केपछि त्यो पेशा वा व्यवसाय गरेर आत्मनिर्भर हुनसक्थे।’
बालसुधार गृहबाट छुटेपछि उनीहरूलाई निगरानीमा राखेर पुनस्र्थापनाको प्रयोगको अध्ययन गर्नुपर्छ। बालसुधार गृहका बालबालिकालाई उमेरअनुसार छुट्टाएर राख्नुपर्छ।
बालसुधार गृहमा पाठ्यक्रम र बाहिरी ज्ञानका लागि पुस्तकालय स्थापना गरिएको हुन्छ। फुर्सदको समयमा बालकहरू पुस्तकालयमा पढ्न जान्छन्। पुस्तकालयमा जीवनोपयोगी पुस्तक छन्।