मृत्युपछिको अभिव्यंजन
मेरी प्रिया, अब मलाई राम्रै निको भयो,
जीउ अझ शतशः हलुको भो,
रोएकी धत्,
मुटु कति घाइते भयो होला !
देख्तिनौ वायुका सूक्ष्म तरङ्ग
तिम्रो बिलापको आघातले टुट्दै चकनाचूर हुँदैछन्,
म त कण कण देख्न सक्छु,
छिया छियामा घुस्न सक्छु
चूप लाग प्रिया,
मलाई माया गर्ने मान्छे, चूप लाग,
रुवाइलाई बौद्ध शून्यमा बिसाऊ !
अब मलाई सञ्चो भयो,
कुनै शूलले पनि घोच्तैन,
मेरो शत्रुले तीखो त्रिशूल लिएर
घोच्न आयो भने पनि
त्यो वृथा मेरो बीचमा धूवाँ झैं बात्तिनेछ,
किनभने अब म साह्रो ऐना जस्तो होइन
आकाश जस्तै कोमल पारदर्शक
भैसकेको छु।
को हात हावाकै मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थें
तिम्रो आँखामा चुम्बन पोसेर
आँसु भुलभुल आउने प्वाल टाल्थें।
तर म आकाश भइसकें।
हेर्ने ऐनामा पनि म आफ्नो अनुहार देख्तिनँ,
प्रकृतिको ऐना पोखरीमा निहुरी हेर्छु
त्यहाँ म आफूलाई आकाश मात्र देख्छु।
प्रिया, मलाई ‘मर्यो’ भनिदियौ
मर्यो भनिठान्यौ ?
हो ?
साँच्चै म त्यस्तै तिम्रो निम्ति
कामै नलाग्ने भएँ कि क्या १
केही विशेष घटना घट्यो होला पनि
परिवर्तनको अनुभूति हुन्छ,
अग्नि परीक्षामा उत्तीर्ण भएको झझल्का लाग्छ,
हो, अब मलाई कतै पनि दुख्तैन
मेरो मन पनि दुख्तैन–
मन राख्ने ठाउँ नै कहाँ छ र रु
सब उदाङ्ग निर्वाङ्ग १
मेरा इन्द्रीय जे जेमा पर्छनत्यहीं त्यहीं तल्लय हुन्छन्।
म पात देख्नासाथ पातै हुन्छु,
त्यसको सुस्केरामा डुब्छु,
फूलको बर पर्नेबित्तिकै त्यसको सुवासमा वास बस्छु,
जुनसुकै रंगमा पनि मिल्ने
मेरो यस्तो गति भइसक्यो।
उडेको छारोभन्दा मैदा–
वाष्पभन्दा पातलो–
तेजभन्दा मसिनो–
हावाभन्दा पनि मिहिन १
एक बिन्दु पानीको बेग्लै अस्तित्व थियो,
सरोबरमा सरोवरी हुनासाथ
त्यो सरोवर भयो।
म आकाश भएँ !
बादल फाटेको नीलनभ संलिएतुल्य
म तंग्र्रिएँ,
म निको भएँ !
तिम्रो वरिपरि रुने अरू पनि
मेरा बान्धव इष्टमित्र छन्,
ओहो, त्यो किन त्यस्तरो रोएको
ममा त्यसको त्यति माया रहेछ,
मलाई थाहै थिएन,
बरु अर्को त्यो जति रुनुपर्ने हो उति रोएको छैन।