नमस्कार नमस्कार संसार
नमस्कार नमस्कार संसार कति रापिलो
पकाउँदै लगिस् तैले छु बाँकी खस्न मात्र म
म बिदा हुन लागें त्यो गहिरो अन्धकारमा
झिनू बादलको टुक्रो जस्तै विवश बात्तिँदै ।
यो बेला कति चौसट्ठी, चोरेर कसरी लगी
मेरा वसन्त चौसट्ठी, स्वप्न जस्तै गरीकन ।
खालि हात म आएथें तेरो संसर्गले यहाँ
जस्मा हुन गएका हुन् यी माया ममता मति,
तेरै जिम्मा लगाएर अब फेरी फुका भई
खाली हात म जानेछु तँ भरी भै रहीरहेस् ।
नमस्कार नमस्कार संसार, कति चम्किलो
सधैं असारको पन्ध्र जस्तो संसारमा अब
न्यानो गरी बसेको यो ठाउँबाट हटी चिसो
पार्न लागें, म अस्तित्व मेटन लागें शरीरको
स्थूलताको ! यहाँ मेरा पाइलाका कतै कतै
हलौ छाप रहे बाँकी रहलान् मेटिने गरी ।
तेरो भने यहीं नित्य राम्रो चकचकी रहोस्
बिदा बिदा सदा तेरो उत्तरोत्तर वृद्धि होस्
यस ब्रह्माण्डमा होला महाप्रलय तैपनि
अर्को ब्रह्माण्डमा फेरि अरू तेरो विकास होस् ।
म यही कामना छोडी बाटो लाग्दछु सुस्तरी
चालै नपाउने मेरो गति चूपसमान होस् !
ठेस लागिसक्यो मेरो खुट्टा अब संघारमा
त्यसैले तैतिरै फर्की फेरि हेरिरहेछु म ।
सिंहावलोकन न्याय परेलाबाट च्याउँछ
देखिन्छ मृगतृष्णा झैं संसार कति स्वप्निलो
द्वारभित्र अडेको छ यो जीवन छचल्किँदै ।
निष्पष्ट कालरात्रिझैं यस बाहिर मृत्यु छ
संसार ठेलो नाघेर अँध्यारोसित बस्नु छ ।
संसार मृत्युको ओढ्ने अगि तैले सुने जति
कल्पे जत्ति गुने जत्ति डरलाग्दो रहेन छ
मैले देखिसकें– सेता दोसल्लाभित्र नै पनि
जस्तो प्रशस्त पाइन्छन् अन्धकारहरू यहाँ
त्यस्तै उज्याला तो काला कात्रोभित्र म देख्दछु ।
कताबाट कता जाने ? लघुचेतनलाई पो
एकादेश यताबाट उताको देश जानू छ
उदारले यो विश्वब्रह्माण्डै जब ढाक्दछ
अनि ता व्योमभित्रै त्यो यातायात हराउँछ ।
जस्तो लक्षण हो आँसु हाम्रो जीवनमात्रको
त्यस्तै मृत्यु मृत्यु यहाँ हाम्रो हाँसो खुस्कनु मात्र हो
यस जोवनमा पो म देख्छ सर्वत्र बन्धन
बाधा जतासुकै जाल छल झेल जताततै ।
तर्साउनेहरू आफैं तसून् तर्साउँदै रहून्
गाडेर सुनका खम्बा बाँधी फनफनी त्यहीं
आफ्नो कम्मर आफैंले जीवनी निचरी रहून्,
निर्लिप्त मोक्षता देख्छु मृत्यु नै म त केवल ।
दुःखकै नित्य वर्षा छ सुखका त यताउति
बाछिटा मात्र भेटिन्छन् तर यस्तै भए पनि
तँलाई छोड्नु पर्दा म दुःख माग्दछु निश्चय
तँ वर्तमान संसार मेरो कति जनासित
प्रियता छ यहाँ ढुङ्गा माटो बोली कलासित
बाटो र घाटो नदीनाला हिउँका चुचुरासित ।
मेरो गम्भीर नाता छ, तर हे वर्तमान तँ
तीन अर्बुद्र मान्छेको संसार, तँ दरिद्र छसतँभन्दा भूत नै दाँज्ने नहुने धनवान थियो
अनन्त कोटि धनवान होला अझ भविष्य झनती सबै मिल्न जाने हुन् मसितै भूतमा भने
टाँसिऊँ किन व्यर्थै म यो छोटो वर्तमानमा !
जन्म–मृत्यु दुवै चक्र हुन् यी अपरिहार्य छन्
म ब्यर्थैं किन दुःखी हूँ म जस्तै गतिशीलमा
छैन जीवन आफैंमा कुनै जीवन केवल
जीव चैतन्य मात्रै हो भेद जीवन मृत्युमा !
छन् सुन्दर आफैंमा कुनै सौन्दर्य केवल
सौन्दर्य चेतना मात्रै छ सुन्दर यथार्थमा ।
जब चैतन्य देखिन्छ प्रत्येक परमाणुमा
मृत्युको स्थानमा मुक्ति भेटिन्छ तब ज्ञानमा
म छु बन्धनमा आज यो पुञ्ज परमाणुको
भोलि मुक्त म बन्नेछ अनन्त परमाणुमा
सापेक्ष सत्यमा सत्य जत्ति फेरि असत्य छ,
रहनेछ संधैं सत्य जुन शाश्वत सत्य छ ।
नमस्कार नमस्कार संसार, कति बाफिलो ।
चाँडै नै म त मिल्ने छु त्यही शाश्वत सत्यमा,
धेरै घुम्नु छ तैंले त यही सापेक्ष सत्यमा,
संसार ज्योतिमा लम्केस् तमबाट सधैंभरि ।
अन्धकार कतै छैन अज्ञानै अन्धकार हो
ज्ञानको ज्योति ता बल्छ अँधेरी रातमा पनि ।
अज्ञानी शिशुको जस्तो झगडा सब छोडिदे
भेद–बुद्धि नले हुर्की, अन्धविश्वास त्यागिदे
मनुष्यतामा विश्वास गर्दै बाँचेर बाँच्नदे
प्रतिस्पर्धा सदा सत्य शिव–संकल्पमा चलोस् !
संसार म नमर्दैमा अणुको धनु भाँचिदे,
ॐ शान्ति गीतले पुछ्तै युद्धको नाम मेटिदे !
(२०२३ साल माघमा चौसट्ठी वर्ष पुगेर पैंसठ्ठी लाग्दा)