डर छैन मर्नाको
१९६० साल मंसिरको मैना
ऐजन ८८ तरुणो भया मनमा
बिजुली बत्ती सडक उही बेला थियैन
मुख्य शासन राणाजीले कसैलाई दियैन
राणाका पालीमा चन्द्रयणी ल्याया
पाँचजना सिपाही लिई गाउँ–गाउँमा फिर्या
पाँचजना सिपाही लिई गाउँ–गाउँमा फिर्या
रैतीका सुखदुःख खुबैगरी हेर्या
कोही काट्टा कुकुडा कोही काट्टा बोका
राणाजीको पालीमा रैतीलाई धोका
श्रीराम प्रभु जप्दैछु नाउँ
८४ पुगें बैकुण्ठमा जाउँ ।
१९६० साल मङ्सिरको मैना
जन्मन भैगयो देखिहाल्या छैन
कोही जाओ सुतार कोही रोल
रेशम पिताम्बरको सिइहाल खोल
सुगाली पाँचकोट चिठी पठाऊ
दुईजना मानिस ऐ जनाउने खटाऊ
कोही आया मलाम कोही आया घर
सबासै दानु भाइ तिम्रै छ भर
चार थान खासाको हाली हाल्यो भाट
मुर्दा चलायो तल मसानघाट
राउत कठाइतले बल्ल हटायो
रतिजा हरिलाई तीर्थ खटायो ।
सबै मालिक बसी किरिया खर्च दिइए
सहनुतै अस्तु काशीमा लिए
भाइ छोरा नाति मुण्डित भया
रतिजा हरि तीर्थमा गया
के लिबु हरि जति बारि हाल चोला
तेह्र दिनसम्मन लायाको क्या होला
तेह्र दिनपछि तीर्थबाट फर्की
कोलडी गाई समाई जग्गेमा तर्पी
दानदक्षिणा गरी बामन पठाया
दुईजना मानिस पुर्याउने पठाया
भातभत्याड गरी पैंतालिस दिन सारी
काँही नजाइ घरै ठीक बसी
घर हो मेरो काँडाकोट
चकरी दर्नाको
छोरा नाति सबै मिलूनडर छैन मर्नाको
पैतालिस दिनसम्म कपडा बर्जी
यो सबाई बान्या महाजने दर्जी
श्रीराम प्रभु जप्दैछु नाउँ
८४ पुगें बैकुण्ठमा जाउँ !
मृत्युअघि आफ्नै कविता रचना गर्ने दमार्ईंं जातिका नाइके यी महाजने दर्जी अछाम दर्ना राज्यका चन्द्रायणी नाइके थिए । ७७ वर्षीय जेठा नाति धर्मसिंह परियारलले यो कविता कण्ठस्त सुनाउने सूचना पाएर २०७९ जेठ ९ गते बान्नीगढ–जयगढ वडा नं. ६ स्थित घर पुगे लेखक डीबी नेपाली दमु । नाति लालसिंह परियार (शिक्षक) का अनुसार– ‘हजुरबुबाले आफ्नो चौरासी पूजा सकिएपछि निधन हुनु केही समयअघि आफ्नै बारेमा कविता रचना गर्नुभएको थियो ।’ दमुले फुर्सदलाई यो कविता उपलब्ध गराएका हुन् ।