कवितामा अस्तित्वका मुद्दा
चन्द्र गुरुङको ‘बुढो ल्याम्पोस्ट’ कविता पहिले नै पढेकी थिएँ। त्यसबेला यो कवितामा धेरै बेर मनमस्तिष्कमा खेलिरह्यो। आज आधा दशकपछि सोही कवितासहित संग्रह नै हात पारें। एउटा अनौठो कौतुहल र उत्साहका साथ ‘जब एउटा मान्छे हराउँछ’ कविता संग्रह पाएँ। प्रथम कविता नै त्यही रहेछ पुनः हतारिएर पढें। अहा ! देशप्रतिको कत्रो पीडा बोकेर बाँचेको परदेशीको मन र मस्तिष्क !
अलपत्र छ अनिकालमा छाडेर गएको घरजस्तै
भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै
नयाँ रंग रंग्याइएको छैन
ठडिएको छ यो बुढो ल्याम्पोस्ट झैं
समयको अँध्यारोमा मेरो देश।
१० वर्षे जनयुद्धपछि पनि शासकीय संरचनामा फेरबदल हुन सकेन। सर्वहारा वर्गको उत्थान केवल माक्र्सको समाजवादी सिद्धान्तमा मात्र सीमित हुन गयो। अझ पछिल्लो समय देशमा बेथिति र बेरोजगारी चुलिँदो छ। त्यही चपेटाको भागीदार कवि कविता देश, हड्डी र कुकुरहरूमा यसरी विचार पोख्छन्,
यस कुरूप समयमा
देखिन्छ यो देश
भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा
हड्डीको एउटा टुक्रो जस्तै !
एउटा कुरा चाहिँ पक्का छ– चन्द्र गुरुङ हृदयबाट कविता लेख्छन्। यस्ता कविको मनोदशा शान्त हुन्छ। उनी हेराइ र बुझाइप्रति विश्वस्त छन्। यस्तो मान्छेले हरेक कुरा शान्त र सभ्य भएर राख्न सक्छ। उसलाई कुनै निहुँ खोजेर आफ्ना कुरा भन्नुपर्ने दाउ कुर्नु पर्दैन। कविताको मामलामा कतिपय अवस्थामा समसामयिक विषयवस्तुलाई नै उठाउनुपर्ने हुन्छ।
कविताहरूमा राजनीतिक, आर्थिक, पहिचान, सीमान्तकृत, दलित, महिलाजस्ता अस्तित्वका अनेक सामाजिक मुद्दा छन्।
यही मामिला हुन सक्छ, कवितामा राजनीतिक, आर्थिक, पहिचान, सीमान्तकृत, दलित, महिलाजस्ता अस्तित्वका अनेक सामाजिक मुद्दाहरू। संग्रहभित्र यस्ता मुद्दा उठाइएका छन्। मातृभाषा, पानी नचल्ने मान्छे कविताले बडो शालीन ढंगबाट मातृभाषा र दलित समुदायको पक्षमा वकालत गर्छन्। कविता ‘सम्पन्नता’मा मान्छेको मानवीय गुणहरू ह्रास हुँदै गएको लेख्छन् कवि। गुरुङको कवितामा आफ्नो पहिचानजस्तो कुरालाई लेखे नभनी लेखिदिन्छ कविता बाको अनुहारमा।
राजकुमार बानियाँले भनेजस्तो मुद्दा कविता बोकेर हिँडिरहेको नेपालको साहित्य भण्डारणमा किन र कसरी उचित अनुचित हुन पुग्छ भन्ने ठिमाइ गरिहाल्नु हतार गर्नु हुन्नजस्तो लाग्छ। देश, समय र परदेशको त्रिकोणात्मक केन्द्रमा रहेर आउने सिर्जनाको पृथकता छुट्टै भए पनि यसको धरातल एउटै जगमा उभिएको हुन्छ त्यो भनेको तत्कालीन समय÷यथार्थ हो। कविताले जहिल्यै पनि यथार्थमा ओर्लेर विचारको
अभिव्यक्ति दिने गर्छ। त्यसैले प्लेटोले कविता यथार्थको नक्कल हो र विचार यथार्थ (सत्य) हो भनेर भनेका छन्। आखिरीमा कवि चन्द्रजस्तै समय सीमामा उभिन सक्नुपर्छ।
अब युगले अर्कै इतिहास बनाउन गइरहेको छ। निरंकुशताबादीहरू अझै पनि सिमाना र राष्ट्रियताको कुरा लिएर बल्छी लगाइरहन्छन्। मान्छेको भावनामा त्यस्तो के चिज रहेछ जसले सधैं उसलाई उसैको सोचाइको मात्र होइन, अरूको सोचाइको पनि माध्यम र दास बनाउँछ। संकल्पको भण्डारमा जाकिदिन्छ। आगो बाल्न भनिरहन्छ। तर यसको विपरीत कवि चन्द्र पृथ्वीको गर्भाशयमा सुषुप्त सल्किरहेको आगोको कुरा गर्छन्। तिक्तताका बाबजुत सरल र सहर्ष कविता लेख्छन् मानौं उनी खुवालुङलाई छोएर आगोसँग बगिरहेको छ जस्तो।
जमेर बस्नु छैन जीवन
बग्नु छ
बग्नु छ
बग्नु छ।
कविताक्रमको गीत गाइरहन्छ, जीवनभित्रका संकलित आठवटा कविताले। हामीलाई ठूला–साना खुसीहरू जोडघटाउ गरेर जीवन बाँच्नु भन्छ। कवि निकै दार्शनिक देखिन्छ। नित्सेले ईश्वरको हत्या गरेको कुरा गरी मानवभित्रको मानवीयता मरिसकेको कुरा गर्छन् :
चिच्याउँदै हिँडेको छ
ईश्वरको हत्या... !
कुनै मुद्दाविहीन लेखिएका भनिएका यी कविता आफैंमा मुद्दा हुन्। जीवनका अनेक पक्षबाट यो कविताले मानवीय मूल्य र मान्यतालगायत यावत कुरा सम्झाइरहन्छ, बुझाइरहन्छ। नेपालीलाई तीतोपिरो नै चाहिने, नरम स्वाद हुनु नहुने र त डाइबिटिज र उच्च रक्तचापले रोगग्रस्त बनेका छन्। यसमा पनि कलम चलाउँछन्।
जिन्दगी एक रफ्तारले चलिरहेको बेला सायद आफैंलाई भुलिसकेको हुन सक्छौं। यस्तो बेला समयको ख्याल नआउला, रसमय नै स्थिर भएको पनि हुनसक्छ। सायद फुर्सदिलो नहुँदा नहुँदै पनि प्रबल चाहनाको प्रतिफल हुन सक्छ कविका कविताहरूमा। बस् त्यही विचारको ट्रिगल दाबेर निक्लेको शालीन तर बुलेटजस्तो मनमै छुने कविता संग्रह आएको छ। सायद यसले पाठकको हृदय झङ्कार्ने छ।
अन्त्यमा, चन्द्रको कविता पढेपछि डाहा लागेर आयो। मैले किन यस्ता कविता लेख्न सक्दिनँ ? समयको कुन पावन्दीमा कहाँ के कसुर गरेर म यस्ता सिर्जनामा चुकें ? म पनि यही समयको बयानको साक्षीमा उभिएको वादी र प्रतिवादी हुँ नि। जे होस्, धेरै घोत्लिन बाध्य बनाए यी कविले।