बिउरा खोलाको बाढीले सेलाघाटका ३ परिवार विस्थापित, २० परिवार जोखिममा
बाजुरा : शुक्रबार राति आएको अबिरल वर्षाका कारण बिउरा खोलामा आएको बाढीले बडीमालिका नगरपालिका ९ सेलाघाटको बस्ती जोखिममा परेको छ । बाढीका कारण स्थानीय चन्दे थापा, अंग थापा र दिपक विष्ट गरी ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । अन्य २० बढी परिवार जोखिममा रहेका स्थानीय मिनबहादुर थापाले बताए ।
बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरामध्ये १ सय ५० बढी मरेका छन्। सयौं मुरी फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ । सिंगो खेतियोग्य जमिन बगरमा परिणत भएको छ । बाढी राती १ बजेपछि आएको स्थानीयले बताएका छन् ।
बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट सरेका थिए । गाउँकै छेउमा वर्षादको समयमा मात्र आउने खहरे खोलाले बस्ती नै जोखिम हुने गरी बाढी आउने कल्पनासमेत नगरेको स्थानीयले बताए । खहरे खोलाको बाढीकै कारण साँफे मार्तडी सडक पनि अवरुद्ध भएको छ ।
बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ । सेलाघाट बस्तीलाई सार्नुको अर्को विकल्प नै देखिएको बडिमालिकाका नगरप्रमुख अम्मर खड्काले बताए । उनले भने प्रहरी स्थानीय र नगरपालिकाका कर्मचारीलाई क्षतिको विवरण संकलन गर्न भनेको र सोही आधारमा राहतको व्यवस्थामा लागेको बताए ।