‘नेपाली कविताका लघुतम उपविधा’को चर्चा

‘नेपाली कविताका लघुतम उपविधा’को चर्चा

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागले  ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली काव्यमा गरिएका प्रयोगहरू धेरै रहेको छन् भन्ने कार्यक्रमबाटै थाहा पाएको बताए। 

नेपाली काव्यविधामा भएका प्रयोगहरूका बारेमा प्रतिष्ठानले विमर्शको थालनी गरेको उल्लेख गर्दै उनले नेपाली साहित्यमा  भएका नयाँ नयाँ प्रयोगका बारेमा बहस गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। आकारले मात्रै साहित्यको उपविधा नबन्ने भन्दै उनले अभिव्यक्ति र त्यसले दिने भाव बलियो हुनुपर्ने विचार राखे। सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले प्रतिष्ठानले नेपाली वाङ्मयका पाँच ओटा क्षेत्रमा काम गरिरहेको बताए। साहित्यका क्षेत्रमा उठ्ने विभिन्न समस्या वा विवादका विषयलाई एक ठाउँमा राखेर छलफल गराउने र समाधान निकाल्ने प्रयास प्रतिष्ठानले गरिरहेको उनले दाबी गरे। 

‘दुई तीन वर्षअघि भएको गजल महोत्सव र विमर्श कार्यक्रम यसका उदहरण हुन्’, उनले भने, ‘दृष्टिकोण, चिन्तन र गन्तव्य नभएको सिर्जनाबाट अनुशरण गर्ने, निरन्तरता दिने र वृद्धि हुने काम हुँदैन।’ 

प्रा.डा. हेमनाथ पौडेलले नेपाली साहित्यको सिर्जना र साधनामा लागिपरेका सबै सहभागीलाई धन्यवाद दिँदै नेपाली कविताका क्षेत्रमा धेरै प्रयोग र उपविधाहरू आइरहेका सन्दर्भमा यी उपविधा वा रूपहरूलाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले नेपाली कविता विधामा भइरहेका प्रयोगले नेपाली कविता÷काव्य विधालाई समृद्ध बनाउने विचार व्यक्त गरे। 

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागका प्रमुख डा. देवी नेपालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विश्वभर रहेका नेपाली कविहरूलाई जोड्ने काम प्रतिष्ठानले गरिरहेको बताए। गोष्ठीमा डा. यज्ञेश्वर निरौलाले ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए। उनले हालसम्म कविता विधामा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेन्यु, सेदोकाक, रुबाई, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्रा, छोक, कूट पद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, यग्मक, आगो, शीत, तियाली, पञ्चाङ्ग आदि गरी ३६ ओटा उपविधा आएको बताए। उनले कविताका लघुतम विधा तथा उपविधाको उत्पत्ति, प्रयोग, प्रयोक्ता, वर्तमान अवस्था र भविष्यका बारेमासमेत उल्लेख गरेका थिए। 

गोष्ठी–पत्रमाथि समालोचक प्रा.डा. भरतकुमार भट्टराई, डा. बिन्दु शर्मा, डा. मधुसुदन गिरी, डम्बर पहाडी, चेतनाथ धमला, दुर्गा अधिकारी भमरकोटे, षडानन्द पौड्याल, जनार्दन अधिकारी, शम्भु गजुरेल, छायादत्त न्यौपाने, अनन्त यात्री, भीष्म काफ्ले, निर्मल पराजुली, गुप्तबहादुर  श्रेष्ठ, भवानी खतिवडा, प्रीति आत्रेय रुमानी, मीना अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.