बन्द गराउँदै हिँडेका विप्लवका ११ कार्यकर्ता पक्राउ
बाजुरा/दाङ : नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वका ११ जना कार्यकर्ता पक्राउ परेका छन्। बाजुरा र दाङमा गरी ११ जना बन्दकर्ता पक्राउ परेको प्रहरी जनाएको छ।
बाजुरा सदरमुकाम मार्तडीमा बन्दको आह्वान गर्दै हिँडेका तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मानबहादुर रावत र जिल्ला कमिटी सदस्य सुक नेपाली रहेको प्रहरी निरीक्षक बोगटीले बताए ।
बाजुरामा आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि सुरक्षामा कडाई गरिएको छ ।
लामो दुरीको सवारी साधन चलेका छैनन्। छाटो दुरीको सवारी साधान छिटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ
दाङमा ८ जना पक्राउ
बन्द गराउँदै हिँडेका आठजना बन्दकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ ।
तुलसीपुर र घोराहीबाट आठजना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाँबी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए ।
घोराहीको शर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चारजना बन्द कर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।
हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई सवारी साधनमा अवरोध ताथ सडक खण्डमा अवरोध राखेर अवरोध गरेको पाइएको हुँदा नियन्त्रणमा लिनु परेको डीएसपी गौतमले बताए ।
शान्तिपूर्ण रुपमा बन्द सफल पार्न खटिएका आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर राज्यले दम्भ देखाएको विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आरोप लगाए ।