गण्डकीमा शीर्ष नेताहरूको प्रतिस्पर्धा
![गण्डकीमा शीर्ष नेताहरूको प्रतिस्पर्धा](https://annapurnapost.prixacdn.net/media/albums/ELECTION-NEPAL_20220515123710_kQpNgQgJ0W.jpg)
काठमाडौं : गण्डकी प्रदेशमा शीर्ष नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ। तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। तनहुँ एकमा हाल नेकपा एमालेका एकबहादुर राना उम्मेदवार छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन– ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि दाहाल अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न पुगेका हुन्। दाहालसँग उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा गएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित दाहाल यसपटक भने गोरखा २ मा पुगेका हुन्।
लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने
लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो।
गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेशसभा (ख) मा कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने।
एमालेबाट प्रदेशसभा (क) मा संविधानसभा सदस्य जमिन्द्रमान घले र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवार दर्ता गरेका छन्। दुवै जना यसअघि नेकपाबाट निर्वाचित भएका थिए।
एमालेका महासचिव गुरुङ २०७४ मा प्रदेशसभा ख बाट उम्मेदवार भई निर्वाचित भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए। नेकपा एमालेकी सचिव पद्मा अर्यालविरुद्ध स्याङजा २ उम्मेदवारी दर्ता गराएका हुन्। सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। यी २बीच प्रतिष्पर्धा हुने भएको छ। अर्यालविरुद्ध एमालेका नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन्। अर्यालविरुद्ध उनकै सचिवालयमा रहेर काम गरेका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्। न्यौपाने एमालेको युवा तथा खेलकुद विभागको प्रमुख रहेका थिए।
एमाले र पूर्वएमालेको भिडन्त
आइतबार कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईले मनोनयन दर्ता गरेकी छन्। अध्यक्ष ओलीकै रोजाइ रहेकी उनको पूर्वएमालेकै नेता हाल एकीकृत समाजवादीका नेता श्रीनाथ बरालसँग प्रतिस्पर्धा हुनेछ। एकीकृत समाजवादीमा लागेका बराल यसपटक भने सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। कास्की एमाले बलियो पकड भएको जिल्ला हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। अघिल्लोपटक वाम गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री पौडेल यसपालि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। यसैगरी क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। केसीको क्षेत्रमा प्रदेशसभा ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र ‘ख’ मा कांग्रेसकै डिल्लीराम सुवेदी छन्। केसीसँगै प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन्। पृथ्वीसुब्बा मुख्यमन्त्री भएको सरकार ढाल्न सहयोग गरेका मनाङगेलाई एमालेले सहयोग गर्ने भएको छ। यसअघि पनि एमालेको सहयोगबाट उनले जितेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)