दलहरूमा दार्शनिक विचलन

दलहरूमा दार्शनिक विचलन

प्रश्न नगर, औंलो नठड्याऊ। नेतृत्वका सामु धेरै योग्यता नदेखाऊ। नेतृत्वलाई अर्ती– उपदेश नदेऊ। खुरुखुरु आदेशको पालना गर। बाठो हुन नखोज, बल्ड्याङ खानुपर्ला। ज्यादा दार्शनिकता प्रदर्शन गर्ने चेष्टा नगर। केही पाउने आशा छ भने आज्ञाकारी बन। गुमाउन र गुमनाम हुन तयार छौ भने मात्र शिर ठाडो पार।’ यो दर्दले ओतप्रोत हार्दिक उद्गार एकजना मझौला कांग्रेस नेताको हो। उनी ३५ वर्षदेखि अनवरतरूपमा रूपमा नैतिकवान् बनेरै काम गर्दै आएका छन्। जस्तोसुकै अन्याय सहनु परे पनि उनी कांग्रेस छाड्ने विचारमा छैनन्। बरु सानो तलबितल पर्‍यो भने उनलाई नै कांग्रेसले छाडिदिन सक्छ। स्वर्गीय प्रदीप गिरिको शब्दमा ‘हरेक पार्टी र हरेक आन्दोलनमा पुजारी वर्ग छ। त्यसले कुनै सम्यक आलोचना गर्दैन।’ अहिले राजनीतिक दलहरूमा एउटै स्वतन्त्रता बाँकी छ, त्यो हो बोल्ने स्वतन्त्रता। कुनै पद र लाभको आशा नगर्ने हो भने जति बोले पनि हुन्छ।

कांग्रेसले समयसमयमा निष्ठावान् मानिसलाई रुवाउँदै आएको छ। उहिल्यै पनि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता अग्रज स्वतन्त्रता सेनानीहरूको दिल रुवाउने काम भएको थियो। अहिले त झन् ज्ञात–अज्ञात असंख्य मानिसको मन दुःखेको छ। कांग्रेसको नेतृत्वले पार्टीको दार्शनिक आधार र विचारधारालाई बिर्सेको प्रतीत हुन्छ। यति हुँदा पनि यो पार्टी आश्चर्यजनक रूपमा टिकाउ र स्थिर छ। कसैले प्रशिक्षण दिएर होइन, कुनै सांगठनिक प्रयत्नले पनि होइन, उच्च पदस्थ नेताबीच नीति र सिद्धान्तबारे छलफल, विमर्श र त्यसको प्रवाह भएर पनि होइन। कुनै सैद्धान्तिक, रणनीतिक या आवधिक योजनाबिना नै यो पार्टीको साथमा कम्तीमा ३० प्रतिशत जनमत छ। यो जनमत वर्तमान नेतृत्वका लागि वरदानसिद्ध भएको छ।

पार्टीको दार्शनिक र वैचारिक जीवनबारे नितान्त निश्चिन्त र निष्फिक्री नेतृत्वका लागि यो बडो आनन्ददायी अंकगणित हो। अन्तरकलह, उपहास र आपसी मनमुटावपछि नेकपा एमाले फुट्यो। केही वरिष्ठ नेताहरूले पार्टी परित्याग गर्दा पनि एमालेको प्रभावमा खासै अवनति भएको छैन। एमाले समर्थक जनमत नेपाली कांग्रेसकै हाराहारीमा छ। परन्तु त्यहाँ पनि घनश्याम भुसाल र भीम रावलहरू अपमानित भएको आरोप लागेको छ। राजनीतिक मैदानको खेल एक व्यक्ति या अवधिमा सीमित हुने विषय होइन। पार्टीको प्राथमिक कर्तव्य आफ्नो दर्शन र विचारधारालाई जगेर्ना गरेर राख्नु हो। सिद्धान्ततः लोकतान्त्रिक पार्टीको नेतृत्वले भिन्न मतलाई जोगाएर राख्छ। पार्टीको आधारभूत विचारधारा र दार्शनिक पक्षलाई अक्षुष्ण र पवित्र धरोहरका रूपमा सम्मान गरिन्छ। तानाशाहीले भिन्न विचारलाई निमिट्यान्न पार्छ भने लोकतन्त्रले सम्मान गर्छ, सुन्छ र ध्यान दिन्छ। लोकतन्त्रमा पार्टीको नेतृत्वले सहयोगीहरूलाई व्यक्तिगत कृतज्ञताको भारी बोकाउने काम गर्दैन।

आसन्न चुनावका लागि अनेकौं योग्य व्यक्ति नेतृत्वकै पूर्वाग्रहका कारण टिकटबाट वञ्चित भए भन्ने चर्चा सुनिन्छ। हुन त योग्य व्यक्ति नै विजयी भएर आए पनि आजको वातावरणमा खासै केही गर्न सक्ने देखिँंदैन। त्यसमाथि केही बुझेका, लेख्न जान्ने, बोल्न जान्ने र किञ्चित निडर व्यक्तिहरूलाई टिकटबाट वञ्चित गरेपछि भोलिको संसद्को अनुहार आजै देखिएको छ। नेपाली कांग्रेसको तर्फबाट खासै जागरुक र गरिमामय उपस्थितिको आशा छैन। चुनावअघि नै गठबन्धन गरेर सिंहासन सजाउने प्रवृत्ति हाबी भयो। पार्टीको नीति, सिद्धान्त र दार्शनिक भावधाराका आधारमा सरकार बनाउने कबुल गर्दै जनतासामु जाने कुरालाई बिर्सने काम भयो। यी सबै कुराबाट लोकतन्त्रको मर्ममाथि कुठाराघात भएको छ। नैतिकता र सदाचारले लोकतान्त्रिक आचरण खोज्छ भने शक्तिको मोहले जुनसुकै सर्तमा सत्तारोहण।

सिद्धान्तप्रतिको अविचलित निष्ठा, सुदृढ विचारधारा र जगैबाट उठेको अटल दार्शनिक पक्ष नै पार्टीलाई जीवन्त र सक्रिय राख्ने आयामहरू हुन्। कांग्रेसको दार्शनिक पक्ष लोकतन्त्र, उदारवाद, मौलिक हक एवं मानवअधिकार, समानता, समता, सामाजिक न्याय र सर्वोपरि कुरा वैयक्तिक स्वतन्त्रता हो। नेकपा एमालेको दार्शनिक पक्ष पनि केही प्रगतिशील जलपमा लगभग उस्तै हो। त्यही दार्शनिक र सैद्धान्तिक पुँजीलाई अक्षुष्ण राख्दै सोहीअन्तर्गत बनेको नीतिका आधारमा निर्वाचनमा जनताको अभिमत माग्नुपर्ने हो। अरूको निर्बल पक्ष देखाएर होइन, आफ्नो सबल पक्षलाई प्रस्तुत गरेर मत माग्नुपर्ने हो। लोकतन्त्रमा राजनीतिक व्यक्तित्वको ठूलो महŒव हुन्छ। किन्तु त्यो व्यक्तित्व पार्टीको दार्शनिक भावधाराभित्रबाट उत्थान भएको हुनुपर्छ। सिद्धान्तहीन सत्तारोहणले केही व्यक्तिलाई त फाइदा होला, तर पार्टी, देश र जनताको कुनै भलो हुँदैन। विचार शृंखलामा विचलन आएको पार्टीमा रैथानेभन्दा आगन्तुकलाई मजा हुन्छ। स्वाभिमानभन्दा स्वामीभक्तिको महŒव ज्यादा हुन्छ। यो प्रवृत्ति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राजावादी राप्रपा सबैमा देखिएको छ।

कांग्रेसले कहिलेसम्म अर्को पार्टीबाट पलायन भएर आएका वामपन्थी नेताहरूको सिसोबासोको जिम्मा लिने ? आफ्नो घरको जस्केलाबाट निस्केर आएका र अमुक व्यक्तिसँग रिसले चुर भएका मानिसलाई कति दिन बोकिरहने ? उनीहरू कांग्रेसलाई मन पराएर र माया लागेर आएका होइनन्। सिद्धान्त र दर्शन मिलेर आएका पनि हुँदै होइनन्। ती अटल हितैषी र मित्रवत् शक्ति पनि होइनन्। उनीहरू पनि कहिलेसम्म कांग्रेसको बैसाखी टेकेर उभिने ? सत्य कसैलाई तिक्त र अपाच्य त लाग्ला, परन्तु साँचो कुरा के हो भने आज कांग्रेस ससाना दलसँग गठबन्धन गरेर ‘सत्ताको सौदागर’ गरिरहेको छ। पार्टीको नेतृत्व र केही व्यक्तिको गलामा यो माला सुहाउँदो नै देखिएको होला। किन्तु यस प्रवृत्तिले पार्टीको समग्र जीवनलाई शोभायमान बनाउन सक्दैन। आफ्नो प्यारो परम्परागत चुनाव चिह्नलाई परित्याग गरेर अमुक चिह्नमा भोट हाल्ने निर्देशन कार्यकर्ताको दासत्वकरण र मतदाताको अपमान हो। पार्टीको इतिहास, दर्शन, सुन्दरता, सौष्ठव र क्षमता सबै सत्ताप्राप्तिका लागि परित्याग गर्ने काम भयो। मौलिक र विशिष्ट पहिचानलाई बेवास्ता गर्दै विभिन्न दलका नेताहरूले पार्टीलाई जता पनि लरक्क पर्ने हर्फनमौला बनाइदिए। पार्टीहरू छन्, नेताहरू छन्। सत्ता छ, भोज छ, मोज छ र ध्वज पनि छ। 

परन्तु जीवन्तता छैन।

लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै व्यक्तिगत स्वतन्त्रता एवं चुस्त र दुरुस्त प्रशासनबीचको समन्वय हो। लोकतन्त्रले सधैं थप लोकतन्त्रको माग गर्छ। राजनीतिक नेतृत्वले त्यस्तो मागसँग समन्वय कायम गर्न सकेन भने माग र आपूर्तिबीचको सन्तुलन बिग्रन जान्छ। पार्टी ठूलो हुनु र नेतृत्व अनुभवी हुनुले मात्र सुशासन र लोकतान्त्रिक चरित्रको प्रत्याभूति दिन सक्दैन। अनुभवी र भरोसा गरिएको नेता नै लोकनायकबाट प्रतिनायकमा परिणत हुन सक्छ। सामयिक निर्वाचन र मतदाताको प्रचुर सहभागिता मात्र पनि लोकतन्त्रको जगेर्ना गर्ने सच्चा माध्यम हुन सक्दैन। निर्वाचनले जनतामा स्वविवेकपूर्ण राजनीतिक सहभागिताको विकास गराउन सक्यो कि सकेन ? जनतामा उचित र अनुचितबीच तुलना गर्ने छ्यानविवेकको विकास भयो कि भएन ? प्रत्येक मतदातामा आफूले दान गरेको मतबारे विश्लेषण गर्ने क्षमताको सशक्तीकरण भयो कि भएन ? यी प्रश्नबारे नेपालका राजनीतिक दलहरूले गम्भीर विमर्श गर्नु आवश्यक छ।

देशका दूरवर्ती गाउँहरूसम्म लोकतन्त्रसम्बन्धी ज्ञान नभए तापनि पार्टीहरूबारे जानकारी छ। कमसेकम तीनओटा राष्ट्रिय स्तरका पार्टीलाई उमेर पुगेका सबैले चिन्दछन्। बहुदलीय पद्धति समाजका विभिन्न विचारबीचको शालीन, सभ्य र स्वीकार्य विभाजन हो। प्रत्येक राजनीतिक दलको उद्देश्य सत्ताका लागि संघर्ष गर्नु र सत्ता प्राप्त भएको अवस्थामा देशमा आफ्नो सिद्धान्त र नीति अनुकूलका कार्यक्रम लागू गर्नु हो।

बीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादजस्ता व्यक्तिहरू जागरुक नभएको भए आज कांग्रेस नेताहरूले सत्तासुख भोग गर्न पाउने थिएनन्। शैलजा र प्रदीपजस्ता निष्ठाको राजनीति गर्ने उस बखतका ‘अराष्ट्रिय तŒव’हरू नभएको भए पनि कांग्रेसको जरोकिलो यो हदमा मजबुत हुनु सम्भव थिएन। वामपन्थी नेताहरू पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, तुलसीलाल र निर्मल लामाहरूले जीवनको बाजी थापेर संघर्ष नगरेको भए एमाले र माओवादी आजको अवस्थामा पुग्न सक्ने थिएनन्। वर्तमान नेताहरूको पनि आआफ्ना पार्टीहरूको उन्नयनमा कमोबेस योगदान अवश्य छ। परन्तु त्यसको ब्याज कहिलेसम्म असुल गरिरहने ?

यस विषयको निर्मम समीक्षा कहिले र कसले गर्ने हो ?

अहिले निष्ठावान् व्यक्तिहरूका लागि साह्रै कठोर समय चलिरहेको छ। उद्योग, व्यापार, पत्रकारिता, वकालत, निर्माण व्यवसाय, निजामती सेवा, प्रहरी र इन्जिनियरिङलगायत प्राविधिक क्षेत्रमा समेत प्रायः उस्तै परिस्थिति छ। राजनीतिलाई जीवन निर्वाहको जरिया बनाइएको हुँदा त्यहाँ झनै सकस छ। पूर्वसचिव तथा परराष्ट्रविद् मधुरमण आचार्यले ट्विट गर्दै लेख्नुभएको छ, ‘जागिरमा हुँदा लाग्थ्यो, नोकरीमा आफ्नो स्वतन्त्रता हुन्न। बरु राजनीतिमा लागेका साथीहरू स्वच्छन्द हुन्छन् र मन लागेको गर्न पाउँछन्। बुझ्दै जाँदा राजनीतिमा झन् दास बन्नुपर्ने रहेछ। नेताको निगाह र दयामाया नरहे ‘करियर’ नै चट ! कि त छाडेर हिँड्न सक्नु पर्‍यो !’
आज राजनीतिक पार्टीका सच्चा कार्यकर्ताको अवस्था पनि करिब त्यस्तै छ। तथापि यस्तो समय सधैं चल्दैन। पार्टीको जीवनमा पनि मनुष्यको जीवनमा जस्तै कठिन घडीहरू आइरहन्छन्। नेपाली कांग्रेसका प्राज्ञिक व्यक्तित्व मीनेन्द्र रिजालको भनाइ छ, ‘आई एम डाउनबाट नट आउट’ अर्थात् म कमजोर भएको छु, तर समाप्त भएको छैन। खराब समयलाई बुद्धिमानीपूर्वक सक्षम तवरले पार गर्नु नै सम्बन्धित सबैको परम कर्तव्य हो।

अन्त्यमा, ब्रिटेनका पूर्वप्रधानमन्त्री दिवंगत विन्स्टन चर्चिलले भनेका थिए, ‘यदि तपाईं नरकको बाटो हुँदै यात्रा गरिरहनु भएको छ भने लगातार अघि बढिरहनुहोस्। कतै पनि नरोकिनुहोस्।’ उनको भनाइको तात्पर्य हो, नराम्रो समयको दुष्चक्रमा परिएको छ भने त्यो यात्राभित्रको वास्तविकता मात्र हो। यात्रीको कर्तव्य फटाफट हिँडेर त्यसको सीमाबाट बाहिर निस्कनु हो। राजनीतिक दलहरू भविष्यमा यो अनपेक्षित मुकामबाट बाहिर निस्कने प्रयत्न गर्लान् कि यस्तै वातावरणमा नै रामाइरहलान् ? सबैको जिज्ञासा यही हो। परिणाम त समयले नै बताउला।

राजनीतिक दलहरू भविष्यमा यो अनपेक्षित मुकामबाट बाहिर निस्कने प्रयत्न गर्लान् कि यस्तै वातावरणमा नै रामाइरहलान् ? सबैको जिज्ञासा यही हो। परिणाम त समयले नै बताउला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.