घोडेपानीमा घोडादौड प्रतियोगिता, हितमान गुरुङ बने विजेता (तस्बिर)
घोडेपानी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहीबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ ।
१६ जना घोडा धावक सहभागी प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम भए। गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।
अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिए।
२५ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भए। घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । _20221104133101.jpg)
प्रतियोगितामा विजयी भएका प्रथम, दृतीय र तृतीयलाई क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गरेका थिए।
'घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,' उनले भने, 'सौखिन पर्यटकहरु घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तव्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । '
प्रतियोगितामा विजयीहरुलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लवका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गरे। घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । _20221104133101.jpg)
पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताए। घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकहरुको पनि उपस्थिति थियो । अन्नपूर्ण गाउँपालिका–५ का पूर्ववडा सदस्य धनबहादुर पाइजाले पाउद्धारमा पनि घोडादौड प्रतियोगिता आयोजना गर्ने तयारी भएको जानकारी दिए।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ । _20221104133101.jpg)
घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तिर्थयात्रा गर्ने र चिनीयाँहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्र सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाईमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ ।
यसअघि बैशाख महिनामा घोडादौड प्रतियोगिता हुने गरेको थियो । घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुँदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालीदेखि शरदयाममा घोडा दौड आयोजना गरिएको हो ।
सहभागीका लागि दर्ता शूल्क प्रतिव्यक्ति तीन हजार तोकिएको थियो । सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गरेका थिए । घोडेपानीका होटल व्यवसायी शुशिल पुनले पर्यटकको बसाइ लम्बाउन घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने घोडा र साइकल मार्ग, तवेला, चरा अवलोकन स्थल समेत निर्माण गरिएको बताए। आगामी वर्ष यही मार्गमा घोडा दौडाउने उनले बताए।_20221104133101.jpg)
प्रतिक्रिया दिनुहोस !