नेपालमा छाताधारी फौज
बडामहाराजाको पालादेखि १८२५ सालसम्म गोर्खाली सेना, २०१६ सम्म नेपाली सेना, २०१७ पछि शाही सेना, त्यसपछि शाही नेपाली सेना र २०६३ पछि फेरि नेपाली सेनाले चिनिएको छ।
१६१६ सालमा राजा द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति काजी बनाएर खडा गरिएको नेपाली सेनाको जन्मस्थल गोर्खाको लिगलिगकोट हो। पछि बडामहाराज पृथ्वीनारायण शाहको पालामा १८१९ सालमा मात्र पश्चिमा पाराको कम्पनी अर्थात्् गुल्मको संगठनमा सञ्चालन गर्न थालियो। त्यसपछि एकैपटक महाराज गिर्वाण युद्धको पालामा जनरल भीमसेन थापाले पल्टन अर्थात् रेजिमेन्ट तथा कम्पु अर्थात् ब्रिगेडको संरचना थपे। पछि राणाहरूले बटालियन अर्थात्् गण तथा डिभिजन अर्थात् प्रितना थप गरे। यसरी नेपाली सेनामा परम्परागत संगठन हुँदै कम्पनी, रेजिमेन्ट, बटालियन, ब्रिगेड तथा डिभिजनसम्मको संगठन खडा हुँदै गए।
राजा द्रव्य शाहदेखि १८१९ सालको बीचमा पक्कै पनि सैनिक संगठन थिए। त्यसमा के दरबन्दी थिए ? कुन कुन दर्जा थिए ? क–कसले कति कमान्ड गर्थे ? भन्ने कुरा हालसम्म खोजतलासी गर्ने काम भएको लेखकले पाएको छैन।
सुरुमा बडामहाराजको पालादेखि १८२५ सालसम्म गोर्खाली सेना, त्यसपछि २०१६ सालसम्म नेपाली सेना, २०१७ सालपछि शाही सेना, अनि त्यसपछि शाही नेपाली सेना र २०६३ सालपछि फेरि नेपाली सेनाको नामले चिनिएको छ। संसारका केही पुराना सेनामध्ये अग्रपंक्तिमा पर्छ, नेपाली सेना। दुःखको कुरो नेपाली केही विद्वान्ले यो सेनाको स्थापना मिति कसैले १८१९ साल त कसैले १८२५ पनि बनाइदिएका छन्।
१८२५ साल जन्ममिति बनाएका कारण गोर्खालीले सो मितिमा कान्तिपुर विजय गरे रे ! अनि मात्र नेपाल बनेको रे गोर्खा। वर्तमान सेना त्यसपछि मात्र नेपाली सेना भएको रे ! माओवादीले भन्दै आएका र हाम्रा ‘स्याल हुइँया’हरूले भन्दै आएको २४० वर्षदेखिको राजवंश पनि यही काल्पनिक कहानीले गर्दा हो।
कुन विद्वान्ले र कुन प्रमाणका आधारले राजा द्रव्य शाह १६१६ सालदेखि ज्ञानेन्द्र २०६३ सालको काललाई खण्डीकरण गर्ने त ? के द्रव्य शाहका सन्तति र अटुट गोर्खा राजाका राजा होइनन् त ज्ञानेन्द्र ? द्रव्य शाहले खडा गरेको सेनाको क्रमिकता होइन त वर्तमान सेना ?
आम विद्वान्लाई यो लेखक के स्मरण गराउँछ भने १८२५ सालअगाडि पनि काठमाडौं उपत्यकामा नेपाल भन्ने छुट्टै देश कतै थिएन। थियो भने भक्तपुर, ललितपुर र कान्तिपुर भन्ने तीन अलग राज्य थिए। हो, उपत्यकालाई भौगोलिक चिनारी दिन परम्परागत राज्यको राजधानी पनि भएकाले नेपाल भनिन्थ्यो।
राजा द्रव्य शाहदेखि १८१९ सालको बीचमा पक्कै पनि सैनिक संगठन थिए। त्यसमा के दरबन्दी थिए? कुन कुन दर्जा थिए? क–कसले कति कमान्ड गर्थे? भन्ने कुरा हालसम्म खोजतलासी गर्ने काम भएको लेखकले
पाएको छैन।
वास्तवमा जमिनमा नै नेपाल फेला परेको बडामहाराजा पृथ्वीनारायणले गोर्खा राज्यबाट विभाजित भूगोलहरूलाई समेत १८२५ सालको इन्द्रजात्राको दिनमा नेपाल भनी सम्बोधन गरे। यो सत्य हो। त्यसपछि मात्र टिष्टादेखि काँगडासम्मको विशाल नेपाल फेरि संगठित भएको थियो। मनमौजी तिथिमिति लेखिनुमा सैनिक जंगी अड्डाको आफ्नो खोज नहुनु र आफूले अडान लिन नसक्दाको परिणाम हो। सैनिक बर्दी नलगाउने विद्वान्हरूको मन मर्जी नहोस्, सेनाको जन्ममितिमा। लेखको यही कामना छ।
छाताधारी सेनाको सुरुआत
नेपाली सेनाको विकास क्रममा सेनाभित्रका विभिन्न अंगहरूको ठूलो योगदान रहेको छ। तीमध्ये प्यारा अंग पनि एक हो। जसलाई हाल आएर छाताधारी फौज वा एअर वोर्न टुप्सको रूपमा चिनिन्छ। नेपालमा यसको इतिहास केलाउँदा २०२२ भदौ ५ गते उपसेनानी (सहायकरथी) चिनियाँबहादुर बस्नेतको नेतृत्वमा चारजना अधिकृत, चारजना जमदार र सातजना बिल्लादार गरी जम्मा १५ जना मित्रराष्ट्र इजरायल गएर प्याराजम्प शिक्षकको तालिम लिएका थिए। त्यो टोलीले सुरुमा प्यारा बेसिक र त्यसपछि प्यारा शिक्षक तालिम पाएका थिए। उक्त शिक्षक तालिम गर्ने टोलीमा उपसेनानीहरू चिनियाँबहादुर बस्नेत, तुलाबहादुर थापा, उज्ज्वलनारायण शाह र मानबहादुर शाह थिए।
जमदारहरूमा ठाकुरराज थापा, रवीन्द्र कार्की, शेखरकुमार हमाल र नारायणराज रेग्मी थिए। हुद्दामा पूर्णलाल श्रेष्ठ, भरतमान रञ्जितकार, छानबहादुर गुरुङ, वसन्त गुरुङ, इन्द्रबहादुर अधिकारी र कृष्णबहादुर गुरुङ तथा अमल्दार पञ्चसिंह गुरुङ थिए। हुद्दा कृष्णबहादुर गुरुङ पछि सुबेदार छँदा जम्प मास्टर भए। सोही क्रममा २०२९ भदौ २९ गतेको हवाई दुर्घटनामा परे। उनको त्यसमै मृत्यु भयो। अमल्दार पञ्चसिंह गुरुङ नेपाली सेना छोडेर पछि प्रहरीको डीएसपी भए। त्यो टोलीसँग इजरायलमा प्यारा जम्प सकिएपछि फोटोमा देखाएअनुसार इजरायलको राष्ट्रपति जालमान साजारले भेट गरेका थिए।
इजरायलका राष्ट्रपति जालमान साजारले नेपाली टोलीनेता उपसेनानी चिनियाँ बस्न्यातलाई भेट गर्दै। पहिलो टोलीले इजरायलमा तालिम गर्दा गर्दै नेपाली सेनाबाट थप एक सय जनाको एक गुल्म पनि प्यारा जम्पको बेसिक तालिम गर्न इजरायल पठाइयो। जसमा मेजर यदुवनशमशेर राणाले नेतृत्व गरी मेडिकलबाट क्याप्टेन डा.खगेन्द्र श्रेष्ठ र इन्जिनियरबाट मेजर यज्ञविक्रम राणा पनि सोही टोलीमा गएका थिए। उक्त दुवै टोली तालिम पूरा गरी २०२२ चैत्र ४ गते नेपाल फर्कियो।
नेपाल फर्किएको तीन दिनपछि उक्त टोलीमध्ये एक सेक्सनले चैत्र ८ गते घोडेजात्राको दिन काठमाडौंको टुँडिखेलमा प्याराजम्प गरी पहिलोपटक नेपालमा प्रदर्शन गरेको थियो। त्यही दिन राजा श्री ५ महेन्द्रबाट पहिला इजरायली प्याराविङ लगाइसकेका १ सय १५ जनालाई नै नेपाली पाराको प्याराविङ प्रदान भएको थियो।सोही अवसरमा राजा श्री ५ महेन्द्रको निमन्त्रणामा इजरायलको राष्ट्रपति जालमान साजारको पनि उपस्थिति थियो। प्याराविङ प्रदान गर्ने कार्यक्रमका लागि नै उनलाई नेपाल बोलाइएको थियो। नेपाली सेनाको इतिहासमा उक्त प्यारा जम्प गर्ने टोलीलाई ठूलो महत्व दिएर नेपाल तथा इजरायलका राष्ट्र प्रमुखहरूको उपस्थिति भएको हो।
नेपालमा छाताधारी सैनिक अंगको विकासलाई मूल्यांकन गर्दा इजरायल सरकारको तर्फबाट नेपाल आएका लेफ्टिनेन्ट कर्नेल मार्सल तुबियालाई सम्झनु पर्छ। जसको ठूलो योगदान छ। नेपालमा सात वर्ष बसेर उनले इजरायल सरकारको सहयोगबाट प्राप्त प्यारा तालिम गराउन चाहिने सम्पूर्ण ट्रेनिङ इन्स्टलेसन महाराजगन्जस्थित लक्ष्मी निवास दरबार परिसरमा स्थापना गरे। उनको मातहतमा इजरायली क्याप्टेन खुरे र क्याप्टेन गब्बईले पनि ठूलो भूमिका निभाएका थिए।
कर्नेल मार्सलको टोली २०२२ साल असोज महिनामा नै नेपाल आएको थियो। जसले नेपाली सेनामा प्याराजम्प, प्याराकमान्डो, पाथ फाइन्डरजस्ता तालिम सञ्चालनमा सहयोग गरी तत्कालीन
युवराज श्री ५ वीरेन्द्र तथा अधिराजकुमार श्री ५ धीरेन्द्रलाई पनि प्याराजम्प गराएका थिए। नेपाल इजरायल सम्बन्धमा नेपाली सेनाको छाताधारी फौज कोसेढुंगा साबित भएको छ। नेपाली सेनामा पहिलोपटक विशेष फौज खडा गर्न इजरायलको अहम् भूमिका रहेको मानिन्छ।
इजरायलबाट तालिम प्राप्त गरी फर्केका १ सय १५ जनाको टोलीलाई काठमाडौं महाराजगन्जस्थित मोहनशमशेर राणाको लक्ष्मी दरबारमा २०२२ चैत्र ४ गतेबाट राखियो। उक्त दरबारमा नेपाली सेनाको अंग बसेको पहिलोपटक थियो। चैत्र ८ गते नै उक्त टोलीलाई ‘प्यारागुल्म’ नामकरण गरी जसअन्तर्गत प्यारा ट्रेनिङ स्कुल, डेलिभरि सेक्सन र फोल्डिङ सेक्सन राखियो। उक्त टोलीलाई नेपाली सेनाको प्रचलित खाइपाई आएको तलब र रासनमा सुविधा बढाइयो। तलबमा ३० प्रतिशत थप र रासन स्केलमा दोब्बर सुविधा दिएर उक्त गुल्म खडा भएको थियो। क्रमिक रूपले विस्तार गर्दै लैजाने क्रममा ‘ओभर अल कमान्ड’ प्रमुख सेनानीले गर्ने गरी प्यारा राइफल गुल्मबाट प्यारागण र प्यारा तालिम शिक्षालय खडा भए।
प्यारागणलाई पछि गएर भैरवनाथ गणको निसान प्रदान गरी भैरवनाथ नामकरण भयो। यो नै नेपाली सेनाको पहिलो स्पेसल फोर्स हो। सुरुको प्यारा राइफल गुल्म इजरायल पुगेर तालिम प्राप्त स्पेसल फोर्स हो। पछि गएर भैरवनाथ गणकै गुल्मको नाम लिएर बेलायतको स्पेसल फोर्सबाट तालिम प्राप्त ‘घ’ गुल्म र पछि फेरि पनि इजरायली सेनाबाट तालिम प्राप्त भैरवनाथ ‘ङ’ गुल्म थपिए। अहिले ती ‘घ’ गुल्म र ‘ङ’ गुल्मलाई एकत्रित गरेर युद्ध भैरव गण ‘स्पेसल फोर्स’ बनाइएको छ।
वास्तवमा युद्ध भैरव गण पनि भैरवनाथ गणको सन्तति नै हो। हालसम्म नेपाली सेनामा प्याराजम्प गर्ने अर्थात् छाताधारी तालिम गर्ने हजारौं छन्। अति नै परिश्रम र कडा तालिम गर्ने विशेष फौज (स्पेसल फोर्स) को रूपमा प्यारा गुल्म र पछि विस्तार हुँदै गएका गणसमेत रहेका थिए। अहिले पनि छन्। यसरी सुरु भएको छाताधारी फौजको हाल बाहिनी नै खडा भइसकेको छ। अर्को रोचक तथ्य के पनि हो भने नेपाली सेनाको मेडिकल अंगमा मात्र महिला कर्मचारी भर्ना गरिने गरिएकोमा यस छाताधारी फौजका लागि प्यारा फोल्डरको रूपमा महिलाहरू भर्ना गरिए। कतिपय महिलाले प्यारा जम्प गरिसकेका छन्।
तीमध्ये पहिलो महिला प्यारा जम्पर उपसेनानी श्रीमती अन्नपूर्ण कुँवर हुन्। पुरुषतर्फ इजरायलमा गएर प्यारा जम्प गर्ने नेपाली सेनाको पहिलो प्यारा जम्पर उपसेनानी (पछि सहायक रथी) चिनियाँबहादुर बस्नेत हुन्। पहिलो टेन्डम जम्प गर्ने सेनानी प्रज्वल बस्नेत हुन्। जसले सहसेनानी (हाल महासेनानी) उज्ज्वल थापालाई साथमा लिएर जम्प गरेका थिए।
वीरगति प्राप्त छाताधारी सेना
नेपाली सेनाको छाताधारी फौजको इतिहास खोतल्दा तालिमको र अभ्यासको सिलसिलामा सैनिक पाइलट समेत धेरैले वीरगति पाएका छन्। लेखकले संकलन गर्न सकेकामध्ये वीरगति पाउनेमा अस्टे«लियन पाइलट क्याप्टेन किङ, काठमाडौं मालीगाउँका पाइलट सेनानी रामबहादुर कार्की, ललितपुर जावलाखेलका पाइलट सहसेनानी उलेन्द्रध्वज कार्की छन्।
यस्तै, काठमाडौं नक्सालका पाइलट उपसेनानी योगेन्द्रजंग थापा, सर्लाही मोतीपुरका सुबेदार कृष्णबहादुर गुरुङ, मकवानपुर कुलेखानीका जमदार प्रेमबहादुर हमाल, अर्घाखाँची हंसपुरका जमदार पूर्णबहादुर थापामगर छन्। यसैगरी, दोलखा मकैबारीका हुद्दा रिक्तबहादुर खत्री, ललितपुर गोदावरीका प्युठ मीनबहादुर तामाङ र ओखलढुंगा जिनाखुका अमल्दार नरबहादुर थापामगर छन्। सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण छ।
सोलुखुम्बु सल्लेरीका सिपाही अगदबहादुर कार्की, लमजुङका सिपाही बुद्धिबहादुर थापामगर, दोलखा बोचका सिपाही कुलबहादुर कार्की, कास्की पोखराका सिपाही कृष्णबहादुर थापा, सिन्धुलीका सिपाही हरिबहादुर भट्टराई तथा ओखलढुंगाका प्युठ तुलाबहादुर थापामगर छन्।
रामेछापका सिपाही सिंहबहादुर नगरकोटी, गोर्खा बगानका प्युठ वीरमान थापामगर, भक्तपुर कालिकाका अमल्दार नरबहादुर नगरकोटी, दाङ कालेगाउँका सिपाही दामोदर गिरी, लमजुङका सिपाही जितबहादुर कुँवर पनि छन्।
यसैगरी, चरीकोटका सिपाही रामप्रसाद उप्रेती, तनहुँका सिपाही चक्रबहादुर पाण्डे, ओखलढुंगाका प्युठ रामबहादुर रायमाझी, सुनसरी पञ्चकन्याका सिपाही देवबहादुर कुँवर, दैलेख तोलीका सिपाही अविराम थापामगर, तनहुँका सिपाही बेनीबहादुर थापामगर पनि हुन्। ओखलढुंगा कटुन्जेका सिपाही मीनबहादुर गुरुङ, ललितपुर गोदावरीका सिपाही तेजबहादुर लामा, काठमाडौं नैकापका अमल्दार कर्मचारी उदयबहादुर बस्नेत, भक्तपुर चित्तपोलका अमल्दार तेजबहादुर थापा, लमजुङ कुन्छाका हुद्दा अर्जुन कुँवर र चितवन अयोध्यापुरीका आइतबहादुर सुनुवार हुन्।
छाताधारी कारबाहीमा उल्लेखितबाहेक अरू पनि वीरगति प्राप्त हुन सक्छन् ? तिनलाई फेरि लेख्दा समेटिनेछ। ती सबै वीर सैनिक तथा विदेशी पाइलटप्रति हार्दिक श्रद्धाञ्जली !
- लेखकले भैरवनाथ गण स्पेसल फोर्समा १० वर्ष सेवा गरेका थिए।