चिसो बढ्न थालेपछि निर्वाचन नपर्खी बेंसी झर्नथाले किसान
बाजुरा: बुढिनन्दा नगरपालिका १० का पेमाथाम्की थापा आगामी मंसिर ४ गतेको निर्वाचनमा मतदान नगर्ने मनस्थितिमा छन् । उनी निर्वाचनको मिति नपर्खी बेंसी झरिन् ।
हिमाली क्षेत्रमा चिसो बढेसँगै हिउँ पर्न थालेपछि भेडा, च्याङ्ग, लालाबालासहित सपरिवार बेंसी झर्नेक्रम बढेको छ । बाजुराको दक्षिणी क्षेत्र अछामसहित डोटीका विभिन्न स्थानमा बसाइँ सरेका छन्।

पेमासँगै बुढिनन्दा नगरपालिका ९ र १० पाण्डुसेनका १५ परिवारको समूह निर्वाचनको ८ दिन अघि डोटीतिर बसाइँ सरेका छन् ।
'हामीलाई चुनावभन्दा आफ्नो परिवार, पालेका भेडाच्यांग्रा प्यारा छन् । भोट हालेर पनि केही हुने देखिएन् । त्यही भएर बेंसी झरेको हो,' स्थानीय सीता थापाले भनिन् ।
मंसिर ४ गतेसम्म गाउँमै बसे चिसो बढ्ने र हिउँ पर्ने सम्भावना धेरै भएकाले भेडा, च्यांग्रा बचाउन डोटी झर्न लागेको उनले बताइन्।

'चुनाव असोज/कार्तिकमा भएको भए भोट हालेर झर्ने थियौँ। चुनावको मिति हाम्रो दैनिकीसँग मिल्ने भएन् । गरिखाने पेशा छाडेर भोटकै लागि बस्ने कुरा भएन,' पेमाले भनिन्, 'घरबाटै ढिला बसाइ सर्दा अछाम, डोटीमा चरिचरनलाई जंगल पनि पाइँदैन् । त्यसैले हामीले बनाएको योजना अनुसार नै बसाइँ सर्ने गर्छौँ ।'
पेमा र सीताको जस्तै भनाइ छ, कमला थापाको पनि । उनले भनिन्, 'हाम्रो सुरक्षा कसैले गर्दैन, आफूले दु:ख गर्नुपर्ने खान लगाउन आफैँ जुट्नुपर्ने हुन्छ । नेताले हाम्रा लागि के गरे ? अनि उनीहरूलाई जिताउन किन भोट हाल्ने ?'
नेता र नेताले जिल्लामा गर्ने राजनीतिप्रति थापाजस्तै धेरैको गुनासो मात्र छ । यही गुनासो लिएर मतदान नै नगरी गोठमा भएका भेडा च्यांग्रा लिएर धेरै किसान बेंसी बसाई सरेका छन् ।
चिसो बढेसँगै पशुपालक किसान बेंसी झरेपछि अहिले हिमाली क्षेत्रमा धेरै घरमा ताल्चा झुण्डिन थालेका छन् ।

हिमाली गाँउपालिका १ बिच्छयाँ बस्ने लोक गुरुङ्ग आफ्ना ७ जना परिवारसहित जाडो छल्न बेंसी झरेका छन् । लोक भन्छन्, 'हामीलाई निर्वाचनभन्दा पनि चिसोबाट ज्यान बचाउनु छ । जीविका चलाउनुछ । त्यही भएर निर्वाचन नपर्खी हिँड्यो ।'
बाजुरा, हुम्ला, जुम्ला, कालीकोटबाट १० हजारभन्दा बढी मानिस मौसमी बसाई सर्छन् ।


प्रतिक्रिया दिनुहोस !