मोरङमा निर्वाचनको तयारी पूरा
विराटनगर : मोरङमा मंसिर ४ गते हुने संसदीय निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
मतदान केन्द्र निर्माण, कर्मचारी परिचालन तथा व्यवस्थापन र सुरक्षा प्रबन्ध लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको हो।
निर्वाचनको पूर्व सन्ध्यामा शनिबार पत्रकार सम्मेलन गर्दै कार्यालयले सो जानकारी दिएको हो। कार्यालयका अनुसार आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनका निम्ति मोरङमा ३०६ मतदानस्थलमा दुई अस्थायीसहित ८४१ मतदान केन्द्र निर्माण गरिएका छन्।
विराटनगरस्थित मोरङ कारागारमा रहेका २०१ कैदीबन्दी र आदर्श पुस्तकालयका २ हजार ५९५ मतदाताका निम्ति अस्थायी मतदान केन्द्र निर्माण गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मोरङमा कुल ७ लाख ३५ हजार ५२५ जना मतदाता छन्। मतदान प्रक्रियालाई सहज बनाउन जिल्लाभरि ६ हजार ७१२ जना कर्मचारी परिचालन गरिएको छ। त्यसमा निजामती तथा सरकारी कर्मचारी र विद्यालयका शिक्षकशिक्षिकाहरू रहेका छन्।
निर्वाचनलाई दृष्टिगत गर्दै जिल्लाभरिका मतदान केन्द्रहरूमा कुल ५६३ जना स्वयंमसेवक परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार एक मतदान केन्द्रमा ४ जनासम्म स्वयंमसेवक खटिने गरि व्यवस्थापन मिलाइएको छ।
निर्वाचन पश्चात क्षेत्र नं. ४, ५ र ६ को मतगणना विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा हुने मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए।
बाँकी रहेका निर्वाचन क्षेत्रको मतगणना सम्बन्धित स्थानमै हुने उनले जानकारी दिए। उनले भने, ‘निर्वाचन क्षेत्र नं. १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुन्छ। क्षेत्र नं. २ को रतुवामाईस्थित विश्वनाथ मन्दिर र ३ को बेलबारीस्थित भगवती माविमा मतगणनाको तयारी गरिएको छ।’
निर्वाचनका निम्ति मोरङमा म्यादीसहितका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र गरी एकीकृत सुरक्षा योजनाबमोजिम ७ हजार ४१७ जना सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार निर्वाचनको सुरक्षा अवस्था विश्लेषणका आधारमा ३ हजार ६१६ म्यादीसहित ५ हजार ३९५ जना नेपाल प्रहरी, ६५० जना सेना र १०५५ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो।
यसबाहेक भारतसँग सीमा जोडिएका स्थानीय तहको मतदानस्थलहरूलाई संवेदनशीलको सूचीमा राखेर विशेष सुरक्षा प्रदान गरिएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भौगोलिक रूपमा विकट र अन्तराष्ट्रिय सीमा जोडिएका क्षेत्रहरू विशेष निगरानीमा छन्। मोरङको उत्तरी क्षेत्र र भारतको अररिया तथा किशनगञ्ज जिल्लासँग सीमा जोडिएका स्थानीय तहहरूमा गस्ती र पेट्रोलिङ बढाइएको छ।
निर्वाचन कार्यालयसँगको समन्वयमा मोरङ प्रहरीले भने मतगणनास्थलको सुरक्षा योजनासमेत तयार पारेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !