विद्यालय तोकियो मतगणनास्थल
विराटनगर : विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिए भए पनि मोरङका तीन निर्वाचन क्षेत्रको मतगणना विराटनगर–७ स्थित आदर्श विद्यालयमा हुने भएको छ। विद्यालयको नियमित अध्ययन अध्यापन प्रभावित हुने गरी पुनः यो विद्यालयलाई मतगणना केन्द्र बनाइएको हो। वैकल्पिक गणनास्थल नभएकाले स्थानीय निर्वाचनपछि पुनः आर्दशमै मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मोरङको क्षेत्र नम्बर ४, ५ र ६ को गणना आदर्श स्कुलमा हुने भएको हो। मतपेटिकाको सुरक्षा व्यवस्थालगायतका दृष्टिकोणले अर्को गणनास्थल नभएका कारण विद्यालयमै गणना गर्नुपर्ने भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए।
मोरङ क्षेत्र नं. ४, ५ र ६ बाहेकका बाँकी ३ निर्वाचन क्षेत्रको मतगणना भने सम्बन्धित क्षेत्रमै हुने निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आदर्शमा तीनवटा निर्वाचन क्षेत्रको प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना हुने भएको हो। आदर्शलाई मतगणना केन्द्र बनाइएपछि हाल नियमित अध्ययन अध्यापनलाई निरन्तरता दिन नजिकका ३ वटा विद्यालयमा कक्षा सञ्चालनको तयारी गरिएको छ। एकै शैक्षिक सत्रमा आदर्शलाई दुईपटक मतगणना केन्द्र बनाइएपछि विद्यार्थीहरूको शिक्षण सिकाइ पछाडि धकेलिएको विद्यालयका प्राचार्य सन्तोष पोखरेलले बताए। नेपाल सरकार मन्त्रिपरिषद्को २०६८ जेठ ११ गते बसेको बैठकले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। सोही घोषणाको कार्यान्वयनका निम्त्ति सरकारले ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८’ समेत तयार पारेको थियो।
निर्देशिकामा उल्लेखित विषयवस्तुको पूर्ण कार्यान्वयनका लागि विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाज, राजनीतिक क्षेत्र र सरकारी निकायलगायतलाई सरोकारवाला बनाइएको थियो। तर, विद्यालयलाई शान्तिक्षेत्र भनी घोषणा गरेको भए पनि पटकपटकको राजनीतिक हस्तक्षेपका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित बन्दै गएको छ।
मंसिर ४ गते हुने संसदीय निर्वाचनका निम्त्ति आदर्श स्कुललाई मतगणना केन्द्र बनाइएपछि नियमित शिक्षण सिकाइलाई निरन्तरता दिन विद्यालयले अन्य ३ विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ। मतदान सकिएलगत्तै तीनवटा निर्वाचन क्षेत्रको मतपेटिका आदर्श विद्यालयमै संकलन हुने र त्यसपछि सुरू हुने मतगणना नसकिउन्जेल विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएपछि अरु विद्यालयको कक्षाकोठा प्रयोग गर्ने गरी पठनपाठनको व्यवस्था मिलाइएको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले बताए।
विद्यालयका अनुसार कक्षा १० का करिब साढे चार सय विद्यार्थीलाई विराटनगर–२ स्थित जनता नमूना मावि, कक्षा ८ लाई विराट महेन्द्र रात्री मावि र कक्षा ९ तथा ११ र १२ को विज्ञान संकायका विद्यार्थीहरूलाई आदर्श बालिका माविमा अध्यापनको तयारी रहेको छ।
दिवा सत्रमा विद्यालयको आफ्नै कक्षा सञ्चालन हुने भएकाले आदर्शका विद्यार्थीहरूलाई बिहानको समयमा पढाउने प्रबन्ध मिलाइएको जनाइएको छ। कक्षा १ देखि ५ सम्मको अध्ययन अध्यापन भने मतगणना अवधिभर बन्द गर्ने तयारी गरेको बताइएको छ। आदर्श विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म भने ३ हजार २ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !