कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : डा. कोइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताएका छन्।
विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा मतदान पश्चात पत्रकारहरूसँग छोटो कुराकानी गर्दै डा. कोइरालाले यस्तो बताएका हुन्।
नेपाली कांग्रेस संविधान रक्षा, राजनीतिक स्थिरता र भ्रष्ट्राचार न्यूनीकरणको पक्षधर रहेकाले कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनले जिकिर गरे।
आम मतदाताले पनि कांग्रेसलाई नै मतदान गर्ने विषयमा आफू विश्वस्त रहेको उनले दाबी गरे। ‘हामीले सुशासन, पारदर्शीता र जवाफदेहिता लगायतका विषयलाई अघि सारेका छौं,’ उनले भने, ‘यो गर्न सकेनौं भने सरकार परिवर्तन हुन्छ।’
निर्वाचनपश्चात राजनीतिक स्थायित्वका निम्ति वर्तमान गठबन्धनले नै निरन्तरता पाउने डा. कोइरालाले बताए। आगामी निर्वाचन पश्चात कांग्रेस पहिलो र एमाले दोस्रो दलका रूपमा आउने उनले तर्क गरे।
कांग्रेसले सुशासन दिने विषयमा ढुक्क हुन उनले आग्रह समेत गरे। डा. कोइराला भने मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्।
प्रतिक्रिया दिनुहोस !