बझाङमा गठबन्धनका भानुभक्त जोशीभन्दा एमालेका ऐनबहादुर महर ४८२ मतले अगाडि
बझाङ : बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी एमालेका उम्मेदवारभन्दा ४८२ मतले पछि परेका छन् । एमालेका उम्मेदवार ऐनबहादुर महरले १५ हजार ५१५ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जोशीले १५ हजार ३३ मत प्राप्त गरेका छन्।
अगाडि फराकिलो मतान्तर बनाएका महर पछिल्लो गणनामा ओरोलो लागिरेहका छन् । हालसम्म बझाङमा प्रतिनिधिसभातर्फ साइपाल, तल्कोट, मष्टा, वित्थडचिर गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिका मतगणना सकिदा ३४ हजार २३२ मत गणना भएको छ । जसमा २ हजार १०९ मत बदर भएका छन् ।
अब छबिस, सुर्मा, खप्तडछान्ना, दुर्गाथली, थलारा र केदारस्युँ गाउँपालिकाको मत गणना हुन बाँकी छ । अहिले मत गणनास्थल जिल्ला अदालत बझाङमा सुरक्षा व्वस्था कडा बनाइएको छ ।
यस्तै प्रतिनिधिसभा सदस्यका अन्य प्रतिस्पर्धीहरु राप्रका विश्वप्रकाश जेठाराले ५४६ स्वतन्त्र उम्मेदवार रामचन्द्र रानाले ३११ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रेम राज जोशीले २९४, स्वतन्त्र उम्मेदवार डम्बर खड्काले १०९ र जसपाका उम्मेदवार राम बहादुर जाग्रीले ९२ मत प्राप्त गरेका छन्।
बझाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङमा यसपटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत खसेको हो ।
बझाङको प्रदेशसभा क का लागि ६१ हजार १ सय ६९ मतदाता रहेकोमा ३२ हजार ८ सय ३३ मत खसेको छ । जुन ५३ दशमलव ६८ प्रतिशत हो भने प्रदेशसभा (ख) का लागि ६१ हजार २ सय ७ मतदाता रहेकोमा ३० हजार ६५६ मत खसेको छ जुन ५२ प्रतिशत हो ।
एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना प्रतिनिधिसभा सदस्यका लागि र ६ जना प्रदेशसभाका लागि चुनावी मैदानमा रहेका छन् । छिटफुट घटना घटे पनि बझाङमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख विमलप्रसाद गौतमले बताएका छन् ।