प्रदेश १ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिने
विराटनगर : प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ।
लैङ्गिक हिंसा अन्त्यका निम्त्ति मंसिर ९ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै मन्त्रालयले सो अभियान सञ्चालन गर्ने भएको हो। सरकारले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म उक्त अभियान सञ्चालन गर्दै आएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसवर्ष ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने मुख्य नाराका साथ उक्त अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।
अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसा र विशेषगरि महिलामाथि हुने हिंसाको अन्त्य नै रहेको मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन्।
अभियानको पहिलो दिन मंसिर ९ गते मन्त्रालयहरुका वेबसाइटमा १६ दिने अभियान सम्बन्धी प्रचारप्रसार सामाग्री राखिने जनाइएको छ।
त्यसपछि बिहान ११ बजे मुख्यमन्त्री कार्यालयमा सामाजिक विकास मन्त्रालयका सचिवबाट सेतो रिबन, फ्लेक्स तथा ब्रोसर हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्ने तयारी रहेको जानकारी दिइएको छ।
दिउँसो १२ बजे विभिन्न संघ-संस्था तथा मन्त्रालयहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम समेत गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अन्तरक्रियामा विशेषगरि कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ को प्रमुख व्यवस्था बारे छलफल गरिने छ।
त्यसपश्चात साँझ ५ बजे विराटनगरस्थित देवकोटा चौकमा दिप प्रज्वलनको तयारी समेत रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !