कास्की १ प्रतिनिधिसभा सदस्यमा एमालेका गुरुङ विजयी
पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५१९ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन्।
नेकपा एमाले कास्कीका अध्यक्ष समेत रहेका गुरुङले २५ हजार ७०८ मत ल्याउँदा नेपाली कांग्रेस कास्कीका सभापति बरालले २३ हजार १८९ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार ९४१ म्त ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्य बहादुर गुरुङले ३ हजार ८ मत ल्याएका छन्।
गुरुङ अघिल्लो निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बराल पहिलो पटक निर्वाचनमा होमीएका थिए। गठबन्धन हुँदा पनि प्रतिनिधि सभामा बराल र प्रदेश सभा कास्की १ ख मा कांग्रेस उम्मेदवार दीपक गुरुङ गराजित भएपछि नेपाली कांग्रेस कास्कीका कार्यकताले आप्नै पार्टीका नेताको अन्तरघातका कारण पराजय भोग्नु परेको भन्दै पार्टीका पूर्व जिल्ला सभापति कृष्ण केसी विरुद्ध बिहीबार नाराबाजी गरेका थिए।
कास्कीमा तीन प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा तीनै क्षेत्रमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यसै गरी प्रदेश सभा सदस्यकालागि भएको निर्वाचनमा ४ स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी हुदा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दुई उम्मेदवारले मात्र विजयी भएका छन्। समाजवादी र नेकपा माओवादीका उम्मेदवारले भने जित निकाल्न सकेनन्।
प्रतिक्रिया दिनुहोस !