कास्कीमा प्रतिनिधिसभामा एमालेको क्लिन स्वीप, प्रदेशमा एमाले ४ र कांग्रेस २ मा विजयी

कास्कीमा प्रतिनिधिसभामा एमालेको क्लिन स्वीप, प्रदेशमा एमाले ४ र कांग्रेस २ मा विजयी

पोखरा : आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की जिल्लामा प्रतिनिधिसभामा नेकपा एमालेले तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका नेताहरुलाई पराजित गर्दै क्लिन स्वीप गरेको छ । प्रदेशसभामा भने नेकपा एमालेले ४ र नेपाली कांग्रेसले २ स्थानमा जित निकालेका छन् । 

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५१९ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । नेकपा एमाले कास्कीका अध्यक्ष समेत रहेका गुरुङले २५ हजार ७०८ मत ल्याउँदा नेपाली कांग्रेस कास्कीका सभापति बरालले २३ हजार १८९ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार ९४१ म्त ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत ल्याएका छन् । गुरुङ अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बराल पहिलो पटक निर्वाचनमा होमिएका थिए । 

यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै भट्टराईले दोस्रो पटक संसद भवनको यात्रा तय गरेकी हुन् ।  

भट्टराईले १६ हजार ९ सय ९८ मत पाउँदा प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा हुने ठानिए पनि स्वतन्त्र पार्टीले उछिन्दै धेरै मत ल्याएपछि गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ मतसहित तेस्रो स्थानमा रहे । 

विद्यार्थी राजनीति गर्दा अनेरास्ववियु महिला विभाग प्रमुख, केन्द्रीय सचिव र पार्टीको विभिन्न जिम्मेवारीमा समेत रहेकी भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीको निधनपछि २०७६ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा प्राध्यापन पेसा छाडेर एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर  निर्वाचित भएकी थिइन् । 

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा भएको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका राजमी बराल जिवनलाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । 

पौडेलले २२ हजार ९८० मत ल्याउँदा गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याएर तेस्रो भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुवेदीले २ हजार ४४२ मत ल्याएका छन् । 

गण्डकी प्रदेशसभा सदस्यमा एमालेका ४ र कांग्रेसका २ विजयी 

कास्की जिल्लामा गण्डकी प्रदेशसभाका लागि भएको निर्वाचनमा नेकपा एमालेले ४ सिट र सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसले २ सिटमा जित निकालेका छन् । सत्तागठबन्धनकै नेकपा माओवादी उम्मेदवारहरुले भने जित निकाल्न सकेनन् । 

प्रदेशसभा निर्वाचनअन्तर्गत कास्की क्षेत्र नम्बर १ क बाट नेकपा एमालेमा उम्मेदवार खगराज अधिकारी विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका दिपक कोइरालाई ३ हजार ९९६ मतले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् । 

संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा माओदीका उम्मेदवार कोइरालाले ११ हजार ६२७ मत ल्याएका छन् । एमालेका अधिकारी आप्नो पार्टीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् । कोइराला पूर्व गण्डकी प्रदेश सांसद हुन् ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार मदन बहादुर केसीले ३ हजार ६२९ मत ल्याएका छन् । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले ३ हजार ५३४ मत ल्याएर चौथो स्थानमा रहेका छन् । 

कास्की १ (ख) प्रदेशसभा सदस्यकालागि भएको निर्वाचनमा पनि नेकपा एमालेकै वेदबहादुर गुरुङ श्याम विजयी भइसकेका छन् । गुरुङले सत्ता गठबन्धनका उम्मेवार नेपाली कांग्रेसका दिपक गुरुङलाई ८ सय ६७ मतले पराजित गर्दै पहिलो पटक प्रदेश सांसदको यात्रा तय गरे । उनी यसअघि मादी गाउँपालिकाका अध्यक्ष हुन् । 

बेदबहादुरले १२ हजार ६६१ मत ल्याउँदा नेपाली कांग्रेसका गुरुङले ११ हजार ७९४ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्र बहादुर थापाले ३ हजार ६५६ मत पाउँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार महेश श्रेष्ठले १ हजार ५ सय ४९ मत पाएका छन् । 

यसै गरी कास्कीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले १ /१ सिट जितेका छन् । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यमा नेकपा एमालेका भिमबहादुर कार्की विजयी भएका छन् । निकटम प्रतिद्धन्दी राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै कार्की नयाँ अनुहारको रुपमा पहिलो पटक प्रदेश सभा प्रवेश गर्ने भएका हुन् । 

कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धन तर्फका नेकपा माओवादका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे । 

कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । निकटम प्रतिद्धोन्द्धी नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३ सय ९ मतले पछि पार्दै गण्डकी प्रदेशका कानुनमन्त्री समेत रहेका थापा दोस्रो पटक गण्डकी प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

थापाले ९ हजार २ सय ८० मत प्राप्त गर्दा नेकपा एमालेकी मिनार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरिन्। राप्रपाका अरुण गिरीले ३ हजार ९ सय ३ मत प्राप्त गरे । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले एक एक निर्वाचन क्षेत्रमा जित निकालेका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । सत्ता गठबन्धन नेकपा माओवादीका उमेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतको अन्तरले पछि पार्दै उनि विजयी भएका हुन् । गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउँदा सत्ता गठबन्धन नेकपा माओवादीका उम्मेदवार भण्डारीले ९ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् । राप्रपाका उमेदवार केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे । 

विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय गुरुङ २०६९ सालमा एमाले छाडेर संघीय समाजवादीमा लागेका थिए । पहिचानको राजनीतिका लागि समाजवादीमा गएका गुरुङ गत फागुनमा एमालेमा फर्केका थिए । यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । बरालले नेकपा एमालेका उम्मेदवार राजीव पहारीलाई ४ सय ६५ मत अन्तरले पराजीत गरेका हुन् । 

कांग्रेसका उम्मेदवार बरालले १२ हजार ३६७ मत ल्याउँदा पहारीले ११ हजार ९०२ मत ल्याएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदावर हरिराम भण्डारीले २ हजार ५६० मत पाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.