आइटीएफ जे-५ टेनिस : महिला डबल्सतर्फ भारतका बालाजी र डण्डुको जोडी प्रथम
पोखरा : पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हासिल गरेका छन्।
भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसँगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै प्रथम भएका हुन्।
यसैगरी ताइपेइका चेन हुई हो र ताइपेइकै के हाउ हङ पोखरामा जारी प्रतियोगिताको मेन्स सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै हई र हङ फाइनलमा प्रवेश गरेका हुन्।
चेन हुईले ताइपेइकै काई यन याङलाई ६–१,६–३ ले तथा हङले भारतका स्मीत निलेशभाईलाई ६–१,६–१ ले पराजित गरे।
महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमार र श्रीनिधी बालाजीले अन्तिम दुईमा स्थान बनाए। दुवै खेलाडीले रिटायर्ड हर्टमा जित हासिल गरेका हुन्।
दुर्गाङसीले भारतकै इशी महेश्वरीबाट पहिलो सेट ६–० र दोश्रो सेट ३–० को अवस्थामा रिटायर्ड हर्ट पाइन भने श्रीनिधीले पहिलो सेट ६–४ ले आफ्नों पक्षमा परेकी थिइन्। दोस्रो सेट २–० मा हुँदा लम्मी श्री डण्डुले रिटायर्ट हर्टमा बिदा लिइन्।
मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक सर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने। सेमिफाइनल खेलका क्रममा युमका हातमा समस्या आएपछि उनले फाइनल गुमाएका हुन्।
प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने छ। शनिबारदेखिनै प्रतियोगिताको सर्किट–२ शुरु हुने टुर्नामेण्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !