'स्वदेशमै रोजगारी सिर्जना गर्न लगानीकर्तालाई राज्यले प्रोत्सहित गर्नुपर्छ'
पोखरा : राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशमै उद्योग खोलेर रोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
यसका लागि सरकारले उद्योगधन्दा खोल्ने वातावरण निर्माण, नियम, कानून बनाउने र लगानीकर्तालाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताएका छन्।
रोजगारको सिर्जना गर्ने सरकारले नभएर व्यवसायीले भएको बताउँदै यसका लागि राज्यले उद्योगधन्दा खोल्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
लगानीको वातावरण निर्माण भए लगानीकर्ताहरूले खुशीका साथ उद्योगधन्दा खोल्ने बताए। उद्योग खोल्दा धेरैले रोजगार पाउने भएकाले व्यवसायिक सम्भावना भएका क्षेत्रमा अध्ययन गरेर मात्र व्यवसायीले लगानी गर्नुपर्नेमा पनि उनले जोड दिए।
सफल व्यवसायका लागि सिर्जनशील हुनुपर्ने बताउँदै कलेजमा पढाएर मात्र व्यवसायी उत्पादन नहुने पुनले बताए। राष्ट्रिय आविष्कार केन्द्रले व्यापारका लागि सामानहरू उत्पादन गर्ने अभियान सञ्चालन गरेको पनि उनले सुनाए।
निर्वाचनका बेला पार्टीहरूले आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर आप्नो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं भनेको सम्झदै पुनले यो गलत कुरा भएको बताए।
'सरकारले कुनै पनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन। रोजगारको अवसर सरकारले नभएर व्यवसायीले उद्योगधन्दा खोलेर सिर्जना गर्ने हो,' उनले भने।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी राष्ट्रिय औधोगिक व्यापार मेला २०७९ अन्तर्गत आयोजना गरिएको ‘सम्भव छ स्वदेशी सीपबाट समृद्धिको यात्रा’ विषयमा केन्द्रित कार्यक्रममा पुनले यसो भनेका हुन।
प्रतिक्रिया दिनुहोस !