मध्यसोलु जलविद्युतको उपकरण परीक्षण सफल
सोलुखुम्बु : सोलुखोलामा निर्माण भएको मध्य (मीड) सोलुखोला जलविद्युत आयोजनाको उपरकण परीक्षण तथा चार्जिङ कार्य सफल भएको छ।
सोमबार र मंगलबार गरिएको विद्युतीय उपकरण परीक्षण तथा चार्जिङको काम सफल भएको आयोजनाले जनाएको छ।
२०७७ असोजमा निर्माण सुरु भएको ९.५ मेगावाट क्षमताको आयोजनाले पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सबस्टेशन तिङलासम्मको १३२ केभी प्रसारण लाइन परीक्षण तथा चार्जिङको काम गरेको मिड सोलु हाइड्रोपावरका निर्देशक माधव मैनालीले जानकारी दिए।
परीक्षणको काम सफल भएकाले आगामी बिहीबार नेपाल विद्युत प्राधिकरणबाट आउने प्राविधिकहरुले निरीक्षण गरेपश्चात् विद्युत् उत्पादन सुरु गर्ने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर अनिश खड्काले जानकारी दिए।
आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्ला सबस्टेशनमा जोडिएको छ।
आयोजनाको विद्युत गृह सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुमा रहेको छ। परियोजनाको निर्माण लागत करिब २ अर्ब रहेको छ।