अझै बनेन रातोढुङ्गा सब स्टेशन

अझै बनेन रातोढुङ्गा सब स्टेशन

बेनी : म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा चार वर्ष अघिनै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सब स्टेशन अझै निर्माण सकिएको छैन। सवस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपूर्ति प्रभावित भएको छ।  

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले चार वर्षदेखि काम रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताए। ‘सबस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ। ५०० वटा मध्य तीन ठाउँमा करिब ५० वटा पोल गाड्न र तार तान्ने काम चार वर्षदेखि रोकिएको छ,’ उनले भने ‘बाँकी पोल गाड्न र तार तान्न नपाउँदा आयोजनाले पुर्णता पाउन नसकेको हो। ’

नेपाल विद्युत प्राधिकरण मार्फत ए टु जेड इञ्जिनियरिङले आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो।  सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो। सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो।  सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता नपाएको मालिका–१ का वडा अध्यक्ष टंकप्रसाद पुनले बताए।  

निर्माण कम्पनीका प्रतिनिधि सागर लुँइटेलले सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताए। ‘कन्ट्रोल रुमको भवन निर्माण अन्तिम चरणमा छ,’उनले भने ‘विवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्न सकिन्छ। ’

वर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ। ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन्। पोल गाडिएको ठाउँमा तारसमेत तानेका छन्। कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन् ।  नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काएको बताए।  

‘स्थानीयस्तरमा देखिएका समस्या प्रशासन र पालिका, वडासँग समन्वय गरेर समाधान गर्छौ,’ उनले भने ‘निर्माण व्यवसायी र आयोजनाका अधिकारीहरुलाई निर्माणको कामलाई तिव्रता दिन निर्देशन दिएका छौ। ’
सांसद जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशीसहितको टोलीले मंगलबार निर्माणाधिन सवस्टेशनको अनुगमन गरेका थिए।

प्राधिकरणका निर्देशक जोशीले जनप्रतिनिधिहरुले चासो दिएकाले स्थानीय समस्या समाधान हुने भएकाले कामलाई तिब्रता दिन आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए।  आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुरहरु गत जेठ महिनादेखि आयोजना स्थलमा थिएनन्। केहि दिनअघि मात्रै आयोजना स्थलमा फर्किएर अधुरा कामलाई पूर्णता दिन थालेका रातोढुङ्गाका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाको कार्यपालिका सदस्य अनुप गौचनले बताए।  

सवस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाइनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए।  ‘हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरीमा विद्युत आपुर्ति गराउँदा समस्या भएको छ,’ उनले भने ‘२० किलोमिटर दुरीसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको छ। ’  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.