अर्जेन्टिना च्याम्पियन

अर्जेन्टिना च्याम्पियन

तेस्रो पटक अर्जेन्टिनालाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २२औं संस्करण सकिएको छ। कतारको लुसेल रंगशालामा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि पुन :  उपाधि जितेको हो। दक्षिण अमेरिकी महारथि अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ मा विश्व च्याम्पियन बनेको थियो। 

आफ्नो देशलाई पुन :  विश्वकप दिलाउन पेनाल्टीमा कप्तान लियोनल मेसी, पाउलो डिबाला, लियोनार्दो परेदेस र गोन्जालो मोर्टियलले गोल गरे। फ्रान्सका काइलिन एमबाप्पे र र्‍यान्डल कोलो मुनिले मात्रै गोल गरे। किङ्सले कोम्यानको प्रहार अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले विफल पारेका थिए। औरेलियन तचौमेनीको प्रहार बाहिरिएको थियो। 

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए। सुरुदेखि नै आक्रामक खेल खेलेको अर्जेन्टिनाले २३औं मिनेटमा अग्रता लिएको थियो। फ्रान्सका उस्मान डेम्बेलेले एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। जसलाई कप्तान मेसीले सदुपयोग गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो विश्वकपमा मेसीको छैटौं गोल हो। जसमध्ये पेनाल्टीमा चौथो गोल हो। बल पोसेसनमा पक्कड जमाउँदै विपक्षीमाथि लगातार आक्रमण बुनेको अर्जेन्टिनाले ३६औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। एलेक्सिस म्याक एलिस्टरले उपलब्ध गराएको सुन्दर पासलाई एन्जल डी मारियाले जाली चुमाएका थिए। 

फ्रान्सले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। खेलको ८०औं मिनेटमा फ्रान्स खेलमा फर्किएको थियो। अर्जेन्टिनाका निकोलस ओटामेन्डीले र्‍यान्डल कोलो मुनिलाई फउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। जसलाई काइलिन एमबाप्पेले सदुपयोग गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए। त्यसको एक मिनेटलगत्तै फ्रान्सले खेल बराबरी गरेको थियो। मार्कस थुरामले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै एमबाप्पेले उत्कृष्ट गोल गरेका थिए। 

निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०९औं मिनेटमा लियोनल मेसीलाई गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए। लौराटो मार्टिनेजले पोस्टनजिकै दिएको पासमा मेसीले गोल गरेका थिए। त्यसपछि ११८औं मिनेटमा फ्रान्सले बराबरी गोल गरेको थियो।

अर्जेन्टिनाका गोन्जालो मोर्टियलले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा एमबाप्पेले गोल गर्दै खेल ३–३ गोलको बराबरी गरेका थिए। उनले दुई पेनाल्टीसहित ह्याट्रिक गरे पनि फ्रान्सलाई विश्वकप दिलाउन सकेनन्। उपाधिसँगै अर्जेन्टिनाले ४ करोड २० लाख डलर पुरस्कार प्राप्त गरेको छ। उपविजेतामा सीमित बनेको फ्रान्सले ३ करोड डलर हात पार्‍यो। 

छैटौं फाइनल यात्रामा तेस्रो उपाधि

छैटौं पटक विश्वकप फाइनल खेलेको अर्जेन्टिनाले तीनपटक उपाधि जित्न सफल भएको हो। सन् १९३० बाटै विश्वकप यात्रा सुरु गरेको अर्जेन्टिना पहिलो संस्करणमै उपविजेता बनेको थियो। त्यसबेला अर्जेन्टिना उरुग्वेसँग ४–२ गोलले पराजित भएको थियो।

यस्तै सन् १९७८ मा अर्जेन्टिनाले पहिलो पटक विश्वकप ट्रफी उचालेको थियो। फाइनलमा युरोपियन प्रतिद्वन्द्वी नेदरल्यान्डसलाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो। सन् १९८६ मा दोस्रो पटक उपाधि जित्दा पश्चिम जर्मनीलाई ३–२ गोलले स्तब्ध पारेको थियो। सन् १९९० को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिना पश्चिम जर्मनीसँग १–० गोलले पराजित भएको थियो। त्यसपछि सन् २०१४ मा पनि फाइनल पुगेको अर्जेन्टिनालाई अतिरिक्त समयमा जर्मनीले १–० गोलले पराजित गरेको थियो।

फ्रान्सको चौथो फाइनल यात्रा

उपाधिमा ह्याट्रिक गर्ने फ्रान्सको लक्ष्य भने पूरा हुन सकेन। यसअघि सन् १९९८ र २०१८ मा फ्रान्सले विश्वकप ट्रफी उचालेको थियो। फ्रान्स अहिलेसम्म चारपटक विश्वकपको फाइनलमा पुगेको छ। यसअघि सन् १९९८ मा पहिलो पटक फाइनलमा स्थान बनाएको उसले उपाधि जितेको थियो। सन् २००६ मा फाइनलमा स्थान बनाए पनि फ्रान्स इटालीसँग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। त्यसपछि सन् २०१८ मा फाइनलमा पुगेको फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो। 

उपाधि जित्न नसके पनि फ्रान्स पछिल्लो २० वर्षमा लगातार दोस्रो विश्वकपको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। यसअघि सन् १९९४ देखि ब्राजिल लगातार तीन पटक फाइनलमा पुगेको थियो। तीमध्ये सन् १९९८ बाहेक सन् १९९४ र २००२ को विश्वकप ब्राजिलले जितेको थियो। यसअघि सन् १९५८ र सन् १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेको थियो। यस्तै सन् १९३४ र १९३८ मा इटालीले लगातार दुई पटक विश्वकपको उपाधि जितेको थियो। 

अर्जेन्टिनाको उपाधि यात्रा

अर्जेन्टिनाले कतार विश्वकपमा स्तब्धपूर्ण नतिजाबाट यात्रा थालेको थियो। समूह चरणको पहिलो खेलमै एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियासँग २–१ गोलले स्तब्ध बनेको थियो। समूह ‘सी’ को उक्त खेलमा कप्तान मेसीले पेनाल्टीमा गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

पहिलो खेलमै हार बेहोरेको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २–० गोलले पराजित गर्‍यो। यो खेलमा पनि मेसीले एक गोल गरेका थिए। यसैगरी समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० गोलले पाखा लगायो। यस खेलमा मेसीले पेनाल्टीमै गोल गरेका थिए। अन्तिम १६ को खेलमा अर्जेन्टिनाले एसियाली प्रतिद्वन्द्वी अस्ट्रेलियाको चुनौती पन्छाएको थियो। यो खेलमा पनि मेसीले नै सुरुवाती गोल गरेका थिए। 

क्वार्टरफाइनलमा जित निकाल्न भने अर्जेन्टिनाले निकै संघर्ष गर्नुपरेको थियो। निकै तनावपूर्ण खेलमा नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले स्तब्ध बनाउँदै दक्षिण अमेरिकी राष्ट्रले अन्तिम चारमा स्थान बनाएको थियो। अर्जेन्टिना र नेदरल्यान्डबीचको क्वार्टरफाइनल खेल विश्वकप फुटबलकै सबैभन्दा तनावपूर्ण खेल पनि बन्न पुग्यो। यो खेलमा स्पेनका रेफ्री एन्टोनियो मातेउले एक रातो र १७ पहेंलो कार्ड देखाएका थिए। यो खेलको निर्धारित समयमा मेसीले पेनाल्टीमै गोल गर्दै अर्जेन्टिनाको अग्रता बढाएका थिए। त्यसपछि सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको थियो। यो खेलमा पनि मेसीले पेनाल्टीमा गोल गरेका थिए। 

क्रोएसिया तेस्रो

क्रोएसियाले कतार विश्वकप फुटबलमा तेस्रो स्थान हात पार्‍यो। शनिबार राति मोरक्कोलाई  २–१ गोलले हराउँदै क्रोएसियाले तेस्रो स्थान हात पारेको हो। क्रोएसियालाई जित दिलाउन जोस्को गार्डिओल र मिस्ताव ओरसिकले एक/एक गोल गरेका थिए। मोरक्कोका अचरफ दारीले एक गोल फर्काएका थिए। तेस्रो स्थान हासिल गरेसँगै क्रोएसियाले दुई करोड ७० लाख डलर पुरस्कार पक्का गर्‍यो। चौथो भएको अफ्रिकी मुलुक मोरक्कोले २ करोड ५० लाख डलर प्राप्त गर्‍यो। 

साविक उपविजेतासमेत रहेको क्रोएसियाले सन् १९९८ देखि विश्वकप यात्रा थालेको हो। पहिलो सहभागितामै तेस्रो स्थान हात पारेको क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा उपविजेता बनेको थियो। निकै प्रतिस्पर्धात्मक फाइनलमा फ्रान्ससँग ४–२ गोलले पराजित हुँदै क्रोएसिया उपविजेता बनेको थियो। सन् २००२, २००६ र २०१४ मा समूह चरणबाटै बाहिरिएको क्रोएसिया सन् २०१० मा भने छनोट हुन असफल भएको थियो।

मेसीको सुखद् बिदाइ

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएसँगै कप्तान लियोनल मेसीको पनि सुखद् बिदाइ भएको छ। ३५ वर्षीय मेसीले कतार विश्वकप आफ्नो अन्तिम भएको बताइसकेका छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेसीले क्लब फुटबलमा सबैतिर सफलता चुमे पनि देशका लागि उल्लेख्य उपलब्धि दिलाउन नसक्दा उनका बारेमा पटक–पटक विवाद हुने गरेको थियो। गत वर्ष मेसीकै कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो। 

सन् २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकप खेल्दै मेसीले १३ गोल गरेका छन्। विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान (२६) उनले आफ्नो नाममा गरेका छन्। उनले दोस्रो प्रयासमा अर्जेन्टिनालाई उपाधि दिलाएका हुन्। सन् २०१४ को विश्वकपमा पनि अर्जेन्टिनाले मेसीकै कप्तानीमा फाइनल खेलेको थियो। तर, उक्त विश्वकपमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० गोलले स्तब्ध बनेको थियो। सन् २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना चाँडै घर फर्किएको थियो। यस पटक अर्जेन्टिनाले त्यो हारको बदला पनि लिएको छ।

एमबाप्पेलाई गोल्डेन बुट

फ्रान्सका स्ट्राइकर काइलिन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्। कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै उनले गोल्डेन बुट अवार्ड जितेका हुन्। उनले आइतबार फाइनलमा दुई पेनाल्टीसहित ह्याट्रिक गरे। उनले यसपटक आठ गोल गरे भने दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। 

उनले समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक गोल र एक असिस्ट गरेका थिए। यस्तै डेनमार्कविरुद्ध दुई, पोल्यान्डविरुद्ध दुई गोल र एक असिस्ट एवं फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए। 

यसैगरी उपाधि विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल्डेन बल अवार्ड जिते। उनी कतार विश्वकपमै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका हुन्। मेसीले कतार विश्वकपमा सात गोल र तीन असिष्ट गरेका थिए। मेसीले यसअघि सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउँदा गोल्डेन बुट जितेका थिए।

गोल्डेन ग्लोब अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले जितेका छन्। कतारमा खेलेका सात खेलमा तीन क्लिन सिट राखेका मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेका थिए। उनले क्वार्टरफाइनलमा नेदरल्यान्डसविरुद्ध दुई पेनाल्टी रोकेका थिए। आइतबार राति भएको फाइनलमा उनले एउटा पेनाल्टी बचाएका थिए।

विश्वकप विजेता अर्जेन्टिनाकै एन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडी बनेका छन्। पहिलो खेलमा पहिलो रोजाइमा नपरेका फर्नान्डेज मेक्सिकोविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेर गोल गरेका थिए। त्यसपछि टिममा स्थापित भएका फर्नान्डेज अर्जेन्टिनाको च्याम्पियन यात्रामा महत्वपूर्ण सदस्य बनेका थिए।

अर्जेन्टिनाको उपाधि यात्रा

समूह चरण
साउदी अरेबियाविरुद्ध १–२ गोलले पराजित
मेक्सिकोविरुद्ध  २–० ले विजयी
पोल्यान्डविरुद्ध २–० ले विजयी 
अन्तिम १६
अस्ट्रेलियाविरुद्ध २–१ ले विजयी

क्वार्टरफाइनल
नेदरल्यान्ड्सविरुद्ध ४–३ पेनाल्टी सुटआउटमा विजयी
सेमिफाइनल
क्रोएसियाविरुद्ध३–० विजयी
फाइनल
फ्रान्सविरुद्ध ४–२ पेनाल्टी सुटआउटमा विजयी 

कतार विश्वकपमा मेसीको प्रदर्शन

साउदी अरेबियाविरुद्ध  :  १ गोल (पेनाल्टी)
मेक्सिकोविरुद्ध  :  १ गोल/एक असिस्ट
अस्ट्रेलियाविरुद्ध  :  १ गोल
नेदरल्यान्ड्सविरुद्ध  :  १ गोल (पेनाल्टी)/एक असिस्ट
क्रोएसियाविरुद्ध  :  १ गोल (पेनाल्टी)/एक असिस्ट
फ्रान्सविरुद्ध  :  २ गोल (१ पेनाल्टी)

अहिलेसम्मका विश्वकप विजेता
ब्राजिल  :  पाँचपटक 
(सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
जर्मनी  :  चारपटक 
(सन् १९५४, १९७४, १९९०, २०१४)
इटाली  :  चारपटक 
(सन् १९३४, १९३८, १९८२, २००६)
अर्जेन्टिना  :  तीनपटक 
(सन् १९७८, १९८६, २०२२)
फ्रान्स  :  दुईपटक 
(सन् १९९८, २०१८)
उरुग्वे  :  दुईपटक 
(सन् १९३०, १९५०)
स्पेन  :  एकपटक 
(सन् २०१०)
इङ्ल्यान्ड  :  एकपटक 
(सन् १९६६)

कतार विश्वकपमा एमबाप्पेको प्रदर्शन

अस्ट्रेलियाविरुद्ध  :  १ गोल/एक असिस्ट
डेनमार्कविरुद्ध  :  २ गोल
पोल्यान्डविरुद्ध  :  २ गोल/एक असिस्ट
अर्जेन्टिनाविरुद्ध  :  ३ गोल (२ पेनाल्टी)

कसलाई कुन अवार्ड

गोल्डेन बल  :  लियोनल मेसी (अर्जेन्टिना)
गोल्डेन बुट  :  काइलिन एमबाप्पे  (फ्रान्स)
गोल्डेन ग्लोभ्स  :  इमिलियानो मार्टिनेज (अर्जेन्टिना)
योङ प्लेयर अवार्ड  :  इन्जो फर्नान्डेज (अर्जेन्टिना)
- एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.