पोखरामा एटीभी सञ्चालन
पोखरा : साहसिक खेलका लागि प्रख्यात पर्यटकीय नगरी पोखरामा नयाँ साहसिक खेल एटीभी (अल टेरेन भेइकल) सञ्चालनमा आएको छ। फेवाताल किनार खपौंदीबाट चारपांग्रे सवारी एटीभी आठ किलोमिटरको उकालो ओरालो बाटोमा चलाएर मनोरञ्जन लिन सकिने गरी सञ्चालनमा आएको हो। ठूला पांग्रा भएको चार पाँग्रे यो सवारी साधन मनोरञ्जनकै लागि विदेशमा प्रयोग भइरहेको हुन्छ। विशेषगरी मरुभूमिमा चलाउने गरिन्छ।
फेवाताल किनारको अप्ठ्यारो सडकमा पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले हाइग्राउन्ड एडभेन्चर्स नेपालले एटीभी भित्र्याएको हो। यसअघि साहसिक खेल जिपलाइन, बञ्जी, स्वीङ पोखरामा भित्रयाएर पर्यटकलाई आकर्षण गर्दै आएको हाइग्राउन्ड एडभेन्चर्स नेपालले आफ्नो चौथो प्रोडक्टको रुपमा एटीभी भित्र्याएको निर्देशक दिनेश महर्जनले जानकारी दिए।
आठवटा एटीभी भित्र्याएर हाइग्राउन्ड एड्भेन्चर्स नेपालले जेठ १९ बाट सञ्चालनमा ल्याएको हो। यसअघि नेपालमा केही ठूला होटलले पाहुनालाई घुमाउन उपयोगमा ल्याए पनि साहसिक खेलकै रुपमा पहिलो पटक सञ्चालनमा आएको उनले बताए। एटीभी चलाएर पर्यटकले अप्ठ्यारा वनजंगलको कच्ची सडक, उकालो ओरालो, खेत, खोला पार गर्नुपर्ने हुन्छ। यसैले एटीभीलाई साहसिक खेल भनिएको महर्जन बताउँछन्।
एटीभी ड्राइभमा पर्यटक आकर्षित भएकाले थप पाँच वटा एटीभी थप्ने योजना रहेको महर्जनले जानकारी दिए। सिजनमा ६० प्रतिशत विदेशी पर्यटक र बाँकी स्वदेशी पर्यटकले यो सेवा लिँदै आएको निर्देशक महर्जनले बताए। पर्यटकको अफ सिजनमा भने स्वदेशी पर्यटककै भर रहने उनले बताए।
एटीभी ड्राइभका लागि मोटरसाइकलको लाइसेन्स अनिवार्य गरिएको छ। आठ किलोमिटर ड्राइभ गर्नुअघि चालकले ट्रायलका रुपमा खपौदीमा रहेको ट्रायल एरियामा चलाउन पाउने छन्। चलाउन सक्ने देखिएपछि मात्र लामो यात्रा तय गर्न पाउने व्यवस्था मिलाइएको छ। आठ किलोमिटर यात्राका लागि प्रतिव्यक्ति चार हजार आठ सय रुपैयाँ शुल्क राखिएको महर्जनले जानकारी दिए। दुबईबाट पोखरा घुम्न आएका पर्यटकले यो सेवा लिँदा निकै खुसी लागेको अनुभव सुनाए।
दुबईको मरुभूमिमा चलाइको अनुभव लिएका पर्यटकले उकालो ओरालो, वन जंगल, खोलामा चलाउँदा छुट्टै रमाइलो भएको अनुभव सुनाएको महर्जन बताउँछन।
प्रतिक्रिया दिनुहोस !