सोलुमा सम्पन्न खुल्ला पुरुष डबल ब्याडमिन्टनको उपाधि श्रेष्ठ र खनाललाई
सोलुखुम्बु: सोलुखुम्बुमा सम्पन्न प्रथम डिबी किराँती (थुलुङ) स्मृति खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन संघका अर्जुन श्रेष्ठ र आशिष खनालले हात परेका छन्।
सोमबार सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पस नजिकैको कभर्डहलमा सम्पन्न फाइनल खेलमा लुक्लाका लाक्पा तेन्जी तामाङ र अनुज तामाङको टिमलाई पराजित गर्दै सल्लेरीका श्रेष्ठ र खनालले उपाधि चुमेका हुन् ।
ओखलढुंगाका श्रवण चौधरी र सञ्जय राईको टिम तथा काठमाडौंका गणेश ढुंगेल र नारायण गौतम तेस्रो भए । यस्तै महिला महिला डबलतर्फ काठमाडौंका सोमा गुरुङ र निकिता लामाको टिम पहिलो भयो। उनीहरुले सोलुखुम्बु ब्याडमिन्टन संघका पूजा मगर र माया राईलाई पराजित गर्दै उपाधि कब्जा गरे।
सोलुखुम्बु सल्लेरीका सरिता राई र कला राई तथा ओखलढुंगाका प्रेमु राई र काठमाडौंका टसी शेर्पा तेस्रो भएका छन् । यस्तै पुरुष ३५ वर्ष माथिको ब्याडमिन्टनतर्फ काठमाडौं नारायण गौतम र सोलुखुम्बु लुक्लाका ल्हाक्पा तेन्जिङ तामाङ पहिलो भएका छन् । गौतम र तामाङले ओखलढुंगाका राम राई र हित राईलाई पराजित गर्दै पहिलो उपाधि उचालेका हुन् ।
सोलुखुम्बु ब्याडमिन्टन संघका रघुनाथ खनाल र फूर्वा ग्याल्जेन शेर्पा (फुरी) तथा सोलुखुम्बु सल्लेरीका तुला मगर र निर्मल श्रेष्ठ तेश्रो भएको खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । १५ वर्ष मुनीको पुरुष एकलतर्फ काठमाडौंका सुभम श्रेष्ठ पहिलो भए । उनले काठमाडौंकै शिभम श्रेष्ठलाई पराजित गर्दै उपाधि उचालेका हुन् । सोलुखुम्बु ब्याडमिन्टन संघका रोमी तामाङ र विशाल तामाङ तेस्रो भएका छन् ।
डीबी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा गत शनिबारबाट सुरु भएको प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुपाल्चोक, सुनसरी, सिराह, सप्तरी, काठमाडौं, कास्कीको पोखरा लगायतका जिल्लाका खेलाडीले सहभागिता जनाएका थिए।
प्रतियोगिता अन्तर्गत १५ वर्ष मुनीको सिङ्गल पुरुष तर्फ १४ जना, खुल्ला महिलातर्फ ८ टिम, खुल्ला पुरुष तर्फ १७ टिम र ३५ वर्ष माथिको डबल पुरुष तर्फ १२ टिमले सहभागिता रहेका थिए ।
ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वितिय हुनेलाई क्रमश नगद १५ हजार र ७ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय हुने २ जनालाई नगद ५/५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सान्तवना हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए ।