केरुङ-काठमाडौं रेलको सम्भाव्यता अध्ययन रेलवे फर्स्ट सर्भे एन्ड डिजाइनले गर्ने
काठमाडौं : चीनको 'रेलवे फर्स्ट सर्भे एन्ड डीजाइन इन्स्टिच्युट ग्रुप को-अपरेट लिमिटेड'ले केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ।
केरुङ-काठमाडौं रेलमार्गका लागि सो कम्पनीले ६ जना इन्जिनियहरूलाई मंगलबार नेपाल पठाएको छ। सन् २०१८ मै केरुङ-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्यययन सम्पन्न भएको थियो।
नेपालस्थित चिनियाँ दूतावासले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई सोमबार पत्र लेख्दै केरुङ-काठमाडौंको रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोलीलाई सहयोग गर्न आग्रह गरेको छ। पत्रमा 'रेलवे फर्स्ट सर्भे एन्ड डीजाइन इन्स्टिच्युट ग्रुप को-अपरेट लिमिटेड'ले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। सो सम्भाव्यता अध्ययन चीन सरकारको अनुदानमा हुने मन्त्रालय स्रोतले बताएको छ।
गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा दुई देशका अधिकारीहरूबीच सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। त्यसअघि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
तर, त्यसको तीन वर्षपछि चीनले प्राविधिक सहयोग गर्नेबारे हस्ताक्षर गरेको हो। सम्झौता पत्रअनुसार चीनले सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि नेपाललाई प्राविधिक सहयोग गर्ने उल्लेख छ। केरुङ-काठमाडौंको ७२ किलोमिटर दूरी रहेको रेलमार्गको सम्भाव्यता अध्ययन गर्न कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको थियो।