कांग्रेस कमजोर भएको छैन : डा. कोइराला

कांग्रेस कमजोर भएको छैन : डा. कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता नपाउँदैमा कांग्रेस खुम्चिने र कमजोर हुने मानसिकता त्याग्न आग्रह गरेका छन्। कांग्रेसले आफ्नो गल्ती सच्याउने आश्वासन दिँदै पार्टीभित्र ठुलो शक्ति रहेकाले त्यस्तो मानसिकता त्याग्न उनले आग्रह गरेका हुन्। 

विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश १ का प्रदेश सभा सदस्यसँग चियापान कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रममा बोल्दै डा. कोइरालाले कांग्रेसले माओवादी र एमालेको गेम बुझ्न नसक्दा दुर्घटना भएको बताए। कांग्रेस नेतृत्वको कमजोरीका कारण गठबन्धनले निरन्तरता पाउन नसकेको उनले स्वीकार गरे। 

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्न चाहेको विषय पार्टी नेतृत्वलाई सुरुमै जानकारी गराइसकेका थिए। तर, पार्टी नेतृत्वले ध्यान दिएन,’ उनले भने, ‘त्यो ठुलो गल्ती भयो। आगामी पौष २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा कांग्रेसले त्यसबारे निर्मम समीक्षा गर्नेछ।’ 

केन्द्रमा निर्माण भएको नयाँ राजनीतिक समीकरणबारे बोल्दै डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा लगायतलाई कारबाही गर्नुपर्ने विषय पनि गलत रहेको स्पष्ट पारे। उनले भने, ‘कारबाही गर्ने कुरा कसैले गरेको छैन। कारबाही गर्नुपर्‍यो भने पनि के आरोपमा गर्ने ? यो सबै कुरा भ्रामक हो।’

फरक प्रसङ्गमा बोल्दै डा. कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक स्थायित्व दिनुपर्ने आवश्यकता रहेको बताए। अबको सरकार आर्थिक, राजनीतिक र सामाजिक स्थिरता सहितको सरकार हुनुपर्ने उनले जिकिर गरे। ‘सन् २०२३ मा विश्वभरि नै आर्थिक सङ्कट बढ्ने अर्थविद्हरुको प्रक्षेपण छ,’ उनले भने, ‘स्वभाविक रुपमा त्यसको असर नेपालमा पनि पर्ने भएकाले सरकार समयमै सचेत हुनु जरुरी छ।’

आइतबारदेखि केन्द्रको सत्ता समीकरण फेरिएसँगै स्वभाविक रुपमा त्यसको प्रत्यक्ष प्रभाव प्रदेश १ मा पनि परेको छ। प्रदेश १ मा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमाले छ भने, माओवादी केन्द्र तेश्रो स्थानमा रहेको छ। यसअघिको गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुबैले प्रदेश १ को नेतृत्वमा दाबी गर्दै आएको थियो। तर, एमाले र माओवादी पुनः एक भएपछि नेपाली कांग्रेस प्रदेश १ को मुख्यमन्त्रीको रेसबाट आउट भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.