सुरुभयो कालीगण्डकीमा र्याफ्टिङ
बेनी : म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यवसायिक जलयात्रा सुरु भएको छ ।
बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलो पटक व्यवसायिक जलयात्रा सुरु गरेको हो । होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले र्याफ्टिङ र कायाकिङ सुरु गरेको बताए ।
‘म्याग्दीका पर्यटकीयस्थल र मुस्ताङ भ्रमणमा आउने जाने पर्यटकको बेनीमा बसाई लम्बाउन जलयात्राले सहयोग गर्नेछ,’उनले भने, ‘छोटो र लामो दुरीको जलयात्राको प्याकेज बनाएका छौं।’
पर्वतको नयाँपुलदेखि मिर्मीसम्म जलयात्रा सञ्चालन गर्दै आएको स्पलाइस नेपाल एडभाञ्चर ट्रेकिङले म्याग्दीमा सेवा दिन थालेको हो । गलेश्वर देखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको प्याकेज बनाइएको छ ।

गलेश्वर–बेनी तीन किलोमिटर दुरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति एक हजार २०० शूल्य तोकिएको र्याफ्टिङ गाइड होम पुनले बताए । सो शूल्क खाजासहितको हो । एक पटकमा आठ जनाले र्याफ्टिङगर्न सक्नेछन् ।
कालीगण्डकीको छालसँगै बगेर नदी किनारको दृष्य अवलोकन गर्न पाउनु जलयात्राको आकर्षण हो । नदीमा बग्दै वरपरका वस्ती, झरना, पहाड र खोचको दृष्य अवलोकन गर्न सकिन्छ । यसअघि म्याग्दीमा नियमित जलयात्रा सञ्चालन भएको थिएन् ।
मेला महोत्सवको समयमा पोखराका व्यवसायी आएर जलयात्रा गराउदै आएका थिए । विगत १२ वर्षदेखि र्याफ्टिङव्यवसाय सञ्चालन गर्दै आएका पुनले म्याग्दी, पर्वत र बागलुङको सिमाना भएर बग्ने गलेश्वर–बेनी–नयाँपुल खण्डमा प्राविधिक अध्ययन गरेर जलयात्रा सुरु गरेको बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्यले जलयात्राले बेनीमा पर्यटकको बसाई लम्बाउन र यहाँको ब्यापार व्यवसाय बढाउन सहयोग पुग्ने बताए । ‘खस्किएको बेनीको व्यापार र पर्यटनलाई उकास्न जलयात्राले सहयोग गर्ने अपेक्षा गरेका छौं,’उनले भने, ‘बेनीमा पर्यटकको बसाई लम्बाउन ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य पहिचान गरि प्रचारप्रसारमा जुटेका छौं ।’
प्रतिक्रिया दिनुहोस !