आहा ! रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्टस अमेरिका फाइनलमा
पोखरा : चर्च ब्वाई युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरामा जारी २२ औं संस्करणमा आहा ! रारा पोखरा गोल्डकपमा फाइनलमा प्रवेश गरेको छ।
जितसँगै भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकाले शनिबार हुने फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो।
भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकाका रोजिन प्रजापतिले पहिलो हाफको अतिरिक्त समयमा (४५ प्लस ३मा ) निर्णायक गोल गरे। प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै प्रजापतिले बललाई जाली चुमाएका थिए।
यसअघि खेलको १४ औं मिनेटमा भुटनिजका पालाफक्सको हेडबललाई चर्च ब्वाईजका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।
खेलको २५ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीको प्रहार भुटनिज युथका हेक्टर ओर्टेगाको खुट्टामा लागेर फर्केको थियो।
खेलको ८४ औं मिनेनमा आशिष चौधरीले दोहोरो पहेला कार्ड खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित भएको थियो। यो संगै चर्च ब्वाईज थप दबाबमा परेको थियो।
यस लगतै भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकाले पाएको एक पछि अर्को अवसरलाई सदुपयोग गर्न सकेन।
खेलको अतिरिक्त समयमा (९० प्लस ८) मा मिनेसोटा अमेरिकाका थोमसको प्रहार चर्च ब्वाइजका गोलरक्षक अनन्त तामाङले उत्कृष्ट बचाउँ गरेका थिए।
यसैगरि अतिरिक्त समयमै रोजिन प्रजापतिले गरेको प्रहार पनि बचाएका थिए।
सहारा क्लबको आयोजनामा भएको गोल्डकपको उपाधिका लागि शनिबार पोखरा रंगशालामा संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब बीच प्रतिस्पर्धा हुने छ।
गोल्डकपको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छ। गोल्डकप हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजनमा भएको हो।
प्रतिक्रिया दिनुहोस !